नेपालगन्ज विमान स्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाइने : मन्त्री भट्टराई


नेपालगन्ज विमान स्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाइने : मन्त्री भट्टराई

नेपालगन्ज : नेपालगन्ज विमान स्थललाई अन्तर्राष्ट्रिय विमान स्थलको रुपमा स्तरोन्नति गरिने भएकोछ । विमानस्थलमा नवनिर्मित विस्तारित विमान पार्किङ क्षेत्रको उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यस्तो बताएका हुन् ।

विमान पार्किङ स्थलको उद्घाटन गर्दै उनले नेपालगन्ज र विराटनगर विमानस्थललाई सरकारले प्राथमिकतामा राखेको स्पष्ट पारे । ‘दुवै विमानस्थललाई भविष्यमा अन्तर्राष्ट्रिय विमानस्थलको हैसियतमा स्तरोन्नति गर्नुपर्छ भन्ने गुरुयोजना नेपाल सरकारले अघि बढाएको छ’, उनले भने,‘नेपालगन्ज विमानस्थलमा विस्तारित पार्किङ क्षेत्रले गौरव बढाएको छ ।’

मन्त्री भट्टराईले विस्तारित पार्किङ क्षेत्रमा एटिआर ७२ साईजका कम्तीमा पनि छ वटा जहाज एकसाथ पार्किङ गर्नसक्ने र एयरबस ३२० सम्मका जहाज पार्किङ हुनसक्ने अवस्थामा नेपालगन्ज विमानस्थल पुगेको उनले बताए ।
सो पार्किङ क्षेत्रको निर्माण कार्य २८ करोड ५३ लाखको लागतमा निर्धारित समयमै सम्पन्न भएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपालगन्ज नागरिक उड्डयन कार्यालय र निर्माण कम्पनीलाई धन्यवाद दिँदै उनले नेपालगन्जमा सञ्चालन हुने थप निर्माण कार्य पनि समयमै सम्पन्न हुने अपेक्षा व्यक्त गरे ।

‘नेपालगन्ज विमानस्थललाई अहिले प्रस्तुत गरेको गुरुयोजनामा टर्मिनल भवन, रनवे मर्मत र अरु भौतिक तथा प्राविधिक सुविधा थप्दा जग्गा अधिग्रहणबाहेक सरकारले नेपालगन्ज विमानस्थलमा करिब चार अर्ब लगानी गर्दैछ ।
‘यो नेपालगन्जप्रतिको सरकारको अपार विश्वास हो’, मन्त्री भट्टराईले भने, ‘यो संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालगन्जलाई दिएको महत्व र सद्भावको विषय पनि हो ।’

Kanti Aarogya Hospital Nepalgunj

उनले प्रदेशको राजधानी नहुँदैमा नेपालगन्ज शहरको महत्व नघट्ने बताउँदै राजधानी नबन्दैमा निराश नहुन नेपालगन्जवासीलाई आग्रह गरे । ‘नेपालगन्जले प्रदेशको राजधानीको रुपमा परिचय नपाए पनि प्रदेशको राजधानी भन्दा कम चर्चामा छैन । त्यस हिसाबले नेपालगञ्जको महत्व कम भएको छ जस्तो भलाई लाग्दैन’, मन्त्री भट्टराईले भने ‘किन कि यहाँबाट हुनसक्ने दुईदेशीय व्यापार, पर्यटन आवागमन, उद्योगधन्दा, शैक्षिक क्षेत्रलगायतका कारण यहाँको महत्व कम भएको छैन् ।’

सो अवसरमा प्रतिनिधिसभा सदस्य एवं नेकपाका केन्द्रीय सदस्य महेश्वरजङ्ग गहतराज, प्रदेश सभा सदस्य एवं नेकपा बाँकेका अध्यक्ष आइपी खरेल, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवलशम्शेर राणा, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, नेपालगन्ज नागरिक उड्डयन कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरलगायतले नेपालगन्ज विमानस्थलको महत्व र यसको उपयोगिताका विविध पक्षमाथि प्रकाश पारेका थिए ।

यसविच, विमानस्थलमा नवनिर्मित विस्तारित विमान पार्किङ क्षेत्रको उद्घाटन गर्नुअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराईले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ धम्बोझीको वाटर पार्क अवलोकन गर्नुका साथै मेरो प्लानेट फनपार्कको अवलोकन गरेका थिए । ठूलो लगानीमा सञ्चालन भइरहेको फनपार्कमा पुगेर उनले स्काई साईक्लिंग समेत गरे । फनपार्कले पर्यटन प्रर्बद्धनमा सहयोग पुग्ने भन्दै प्रशंसा गरेका थिए ।