काठमाडौं : लामो प्रतिक्षापछि नेपालमा पनि बीएमडब्ल्यू गाडीको आधिकारिक रुपमा बिक्री शुरु भएको छ ।
नेपालका लागि बिएमडब्ल्यू मोटर्सको आधिकारिक आयातकर्ता लक्ष्मी प्रिमियम मोटर्सले काठमाडौंको तीनकुनेमा शोरुम सञ्चालनमा ल्याउँदै गाडी बिक्री शुरु गरेको हो । यद्यपी मूल्य खुलाइएको छैन । कम्पनीले १० हजार १६५ स्क्वायर फिट क्षेत्रफलमा शोरुम सञ्चालनमा ल्याएको छ ।
जर्मन ब्राण्ड बीएमडब्लुलाई नेपाली बजारमा स्थापित र बजारीकरण गर्न लक्ष्मी प्रिमियमले बिएमडब्ल्यू एशिया र बिएमडब्ल्यू बंगलादेशसँग सहकार्य गरेको जनाएको छ ।
बिएमडब्ल्यू ब्राण्डले अन्तर्राष्ट्रिय स्तरको शोरुमले नेपाली प्रिमियम कारको अपेक्षा राख्ने ग्राहकलाई उत्कृष्ट ब्राण्डको अनुभूति प्रदान गर्ने र प्रिमियम वनरसिप जर्नी प्रदान गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।
नेपालमा बिएमडब्ल्यू ब्राण्ड र नयाँ शोरुमको सुरुवात गर्दै बिएमडब्ल्यू ग्रुप एसियाका प्रबन्ध निर्देशक क्रिस्टोफर वेनरले लक्ष्मी प्रिमियम मोर्टससँगको सहकार्यबाट बिएमडब्ल्यू उत्साहित भएको बताए । नेपाली बजार बिएमडब्ल्यूका लागि उदाउँदो बजार रहेको उनले बताए ।
लक्ष्मी प्रिमियमका कार्यकारी निर्देशक निराकार श्रेष्ठले विश्वस्तरीय स्टेट अफ आर्ट फिचरले भरिपूर्ण शोरुम निर्माण गरेको बताए । उनले भने–‘हाम्रो टिम तपाईहरुलाई उत्कृष्ट बिक्री र बिक्रीपछिको सेवा दिन कटिबद्ध छ ।’