नेपालगन्ज : बाँके प्रहरीले दुई भारतीय नागरिकलाई साढे ३५ लाख नगदसहित बुधबार नेपालगन्जबाट गरेको छ । भारतका ३० बर्षिय युवासहित एक १२ बर्षिय बालकलाई नगद ३५ लाख ४४ हजार नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक दीपक मल्लले बताए ।
भारती बजार रुपैडियाबाट जमुनाहनाका हुँदै नेपालगन्जस्थित टाँगा स्टेसन नजिक आएका ती दुई जनालाई बिशेष सुराकीको आधारमा पक्राउ गरिएको प्रहरी निरिक्षक मल्लले जानकारी दिए । मल्लका अनुसार पक्राउ पर्नेमा ३० बर्षिय रविश पाठक र १२ बर्षिय छोटु तिवारी रहेका छन् ।
बिशेष सुराकीको आधारमा चेकजाँच गर्दा उनीहरूको शरिरबाट यतिको रुपैयाँ फेला परेको हो । प्रहरी निरिक्षक मल्लकाअनुसार उनीहरू दुवै जनाले शरिरका विभिन्न भागमा मोजा,पकेट, ट्राउजर, अण्डरवियर, टिसर्ट, सटमा समेत टास्नुका साथै लुकाएर ३५ लाख ४४ हजार ल्याएको फेला परेको हो ।
प्रहरी निरिक्षक मल्लले उक्त रकम भारतबाट के, कसरी आएको हो भन्नेबारे अनुसन्धानपछि खुल्ने बताएका छन् । बुधबार साँझ करिब सात बजेतिर पक्राउ परेका ती दुवै भारतीय र उनीहरूसँग भएको सबै रकम बाँके प्रहरीको नियन्त्रणमा आईसकेको मल्लले बताए ।
भारतीय बजारमा नेपाली ग्राहकबाट जम्मा भएको उक्त रकम हुण्डी कारोबारीहरुले ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ । नेपाली ग्राहकले सीमावर्ती भारतीय बजारमा किनमेल गर्दा बुझाएको रकम भारतीय व्यापारीहरुले अबैध रुपमा नेपालतर्फ ल्याउने गरेको यसअघि पनि खुलेको प्रहरी बताउँछ ।
भारतबाट नेपाली रुपैयाँ यहाँ ल्याउने र यहाँबाट सुन वा हुण्डीमार्फत भारतमा नै पैसा भुक्तानी दिने व्यबस्थापन हुण्डी कारोबारीहरुले मिलाउँदै आएको खुल्न आएको छ । पक्राउ परेका दुवैजनाले नेपालगन्जमा रहेको एक कम्पनीलाई बुझाउनका लागि उक्त रकम ल्याएर आएको बताएका छन् ।
तर, प्रहरी निरिक्षक मल्लका अनुसार कुन कम्पनी हो भन्ने बारे उनीहरूले बुधबार साँझसम्म केही खुलाएका छैनन् । मल्लले भने ‘अब अनुसन्धान गर्दै जाँदा कसले, कसरी किन उक्त रकम ल्याएको हो पत्ता लाग्ला । हामी बिहीबार विहानैदेखि यसबारे अनुसन्धान गछौं ।’ उनले भने ‘नेपाली कम्पनीले कारोबार वापत सहि रूपमा नै ल्याएको भए कम्पनीका मालिकले सोको प्रमाण ल्याउनुपर्ने छ । यदि प्रमाण ल्याएर कम्पनीका मालिक सम्पर्कमा आए बरामद गरिएको रकम नियम अनुसार फिर्ता हुन्छ ।’
प्रहरी निरिक्षक मल्लकाअनुसार यति कारण नखुलेको अवस्थामा मुद्रा बिनिमय ऐन वा, सम्पति शुद्धीकरण वा राजश्व अनुसन्धान अन्तर्गत कुन मुद्दा चल्ने हो त्यही अनुसार मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाईने छ ।