कर बुझाउदाँ यी कुरामा छुट पाइन्छ


कर बुझाउदाँ यी कुरामा छुट पाइन्छ

नेपालगन्ज : कर तिर्न प्रोत्साहन गर्दै सरकारले करदाताका लागि विभिन्न छुट तथा सुविधा उपयोग गर्न आग्रह गरेकोछ ।

सरकारले विगत ६ वर्षयता स्थानीय लेखा नम्बर लिएर पनि कर नतिरेका करदातालाई आर्थिक ऐन २०७७ ले दिएका छुट तथा सुविधा उपयोग गर्न पुनः सचेत गराएको हो ।
आर्थिक ऐन २०७७ अनुसार आर्थिक वर्ष २०७०/७१ यता स्थायी लेखा नम्बर लिएर पनि आय विवरण पेश नगर्ने, आय विवरणअनुसार आयकर नतिरेका करदाताका लागि आगामी फागुन मसान्त सम्मको मौका दिएको छ ।

यो अवधिमा करदाताले आफ्ना विवरण पेश गर्दै आयकर तिरेमा सरकारले दिदैंआएको छुट तथा सुविधा लिन सकिनेछ । आन्तरिक राजस्व विभागका अनुसार नेपालमा आय विवरण पेश नगर्ने र कर नतिर्ने करदाताको संख्या २ लाख ८० हजार ६ सय ३८ रहेको छ ।

विभागले देशभरका ती करदातालाई आगामी फागुनसम्म आर्थिक ऐनले दिएको छूट तथा सुविधा उपयोग गरी कर तिर्न ताकेता समेत गरेकोछ । आर्थिक ऐनले आय विवरण पेश नगर्ने वार्षिक ५० लाख रुपैयाँसम्म कारोबार गर्ने व्यक्तिले आर्थिक वर्ष २०७३/७४, २०७५/७६ सम्मको आय विवरण, सो आय विवरण अनुसार आयकर र त्यसमा लाग्ने ब्याजको २५ प्रतिशतले हुने रकम फागुन २०७७ सम्म बुझाएमा सो भन्दा अघिल्ला वर्षहरुको आय विवरण पेश गर्नु नपर्ने गरी छुट दिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

त्यसरी छुट पाएको रकममा लाग्ने आयकर, शूल्क तथा बाँकी ब्याजसमेत छुट पाइनेछ । यस्तै ५० लाख भन्दा माथिको वार्षिक कारोबार गर्ने करदातालाई भने आर्थिक वर्ष २०७३/७४ भन्दायता कर विवरण र त्यस अनुसारको आयकर नबुझाएको अवस्थामा फागुनसम्म आय विवरण, विवरण अनुसार लाग्ने आयकर र त्यसमा लाग्ने करको २५ प्रतिशतसम्म बुझाउन सक्ने सुविधा दिइएको छ । त्यस अवस्थामा बाँकी ब्याज र अतिरिक्त शूल्क मिनाहा हुनेछ ।

विभागले सार्वजनिक गरेको विवरण अनुसार स्थायी लेखा नम्बर लिएर कर विवरण नबुझाउने, त्यसअनुसारको आयकर नबुझाउने अधिकांश करदाता खुद्रा पसलेदेखि साना होटेल रेष्टुरेण्टससम्म छन् । व्यवसायिक स्थायी लेखा नम्बर लिएर व्यवसाय सञ्चालन गरिरहेका करदाताका लागि यी छूट र सुविधा उपलब्ध गराइएको हो ।