धान विक्रीमा कुपन प्रणाली, अधिया लगाउनेलाई सास्ती

५० क्विन्टल धान विक्री गर्दा २५ कठ्ठा जग्गाको लालपुर्जा


धान विक्रीमा कुपन प्रणाली, अधिया लगाउनेलाई सास्ती

File Photo

नेपालगन्ज : सरकारले धानको समर्थन मूल्य तोकेसगैं खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले धान खरिद शुरु गरेकोछ । कम्पनीले किसानलाई सहज तुल्याउन यसअघि कुपन प्रणाली लागु गर्दै कुपन बाँडेको थियो । सोही कुपन अनुरुप किसानले आफ्नो धान विक्री गरिरहेकाछन् । तर, कुपन प्रणाली लागु भएसगैं अधियामा धान खेती गरेका किसानलाई सास्ती भएकोछ ।

कम्पनीले वितरण गरेको कुपन प्रणालीले विशेषगरि अधियामा खेती गरेका किसानलाई मर्कामा पारेको हो । लालपुर्जा देखाएर कुपन पाईने भएपछि अधियामा खेती गरेका किसान यतिबेला कुपन प्राप्तीका लागि भन्दा पनि लालपुर्जा जुटाउन नै हम्मे हम्मे भएकोछ ।

अर्काको खेतमा मेहनतका साथ धान खेती गरि उत्पादन गरेको धान सहजरुपमा विक्री गर्न नपाएपछि उनीहरुले सास्ती भोगिरहेकाछन् । आफ्नो लालपुर्जा देखाएर कुपन लिनुपर्ने व्यवस्था गरिएपछि अधिया गरेर धान उत्पादन गरेका किसानहरु चिन्तित बनेका हुन् ।

‘अर्काको जमिनमा खेती गर्छौं, आफूले उत्पादन गरेको धान विक्री गर्न खोज्दा लालपुर्जा मागिन्छ’ डुडुवा गाउँपालिका वडा नम्बर २ का रामनरेश यादवले भने–‘आफ्नो जमिन भएपो लालपुर्जा दिनु, अर्काले बल्लतल्ल अधियामा खेती गर्न दिएको बेला उनको लालपुर्जा कसरी पेश गर्नु ।’ यादवले सेतोखरीलाई भने–‘यस्तो ब्यवस्थाले हामी अधियामा खेती गर्नेलाई समस्या परेकोछ ।’

Kanti Aarogya Hospital Nepalgunj

कम्पनीले कुपन अनुसार दैनिक ५० क्विन्टलसम्म धान विक्री गर्न पाउने व्यवस्था गरेको छ । सोही व्यवस्थाका कारण किसानहरु दैनिक रुपमा आफ्नो कुपन अनुसार धान लिएर कार्यालयसम्म पुग्ने गरेकाछन् । नेपालगन्ज स्थित खाद्यको कार्यालयमा दिनहुँजसो धान बेच्नका लागि किसानको भीड लाग्ने गरेकोछ ।

यस्तै अर्का किसान सिराज अहमदले ५० क्विन्टल धान विक्री गर्न २५ कठ्ठा जग्गाको लालपुर्जा देखाउनुपर्ने भएकाले समस्या भएको बताए । ‘जग्गाधनिको समन्वयमा हामीले खेती ग¥यौं, धान विक्री गर्दा खाद्ययले लालपुर्जा माग्यो । यस्तो झन्झटिलो ब्यवस्थाले धान बेच्न धाउने की लालपुर्जा खोज्न धाउने’ नरैनापुर गाउँपालिका वडा नम्बर ६ का किसान तिरथराम कुर्मीले आफ्नो गुनासो पोखे ।

यता कम्पनीका मुख्य शाखा प्रमुख निर्मल थापाले किसानलाई वितरण गरिएको कुपनमा किसानको विवरण सहित धानको अनुमानित परिमाण र धान लिएर आउने दिन तोकिएकोले किसानलाई सहज भएको बताए ।

उनले भने–‘किसानका लागि ल्याइएको यो ब्यवस्थाले उहाँहरुलाई सहजता भएकोछ । लालपुर्जा नमागिए धान खरिदमा धाँधली हुनेभएकाले त्यसो गरिएको हो ।’
कम्पनीको मुख्य शाखा कार्यालय नेपालगन्जले यस वर्ष पहिलो चरणमा ४० हजार क्विन्टल मोटा र मध्यम धान खरिद गर्ने लक्ष्य राखेको छ । सरकारले मोटा धान प्रति क्विन्टल २ हजार ७ सय ३५ रुपैयाँ र मध्यम धानको २ हजार ८ सय ८५ रुपैयाँ समर्थन मुल्य तोकेको छ ।

पछिल्लो समय मंसिर ५ गतेबाट मात्रै बाँकेमा औपचारिकरुपमा धान खरिदविक्री शुरु गरिएपनि यहाँका कतिपय किसानले सस्तो मूल्यमा निजी क्षेत्रमा धान बेचेका थिए ।