सोमबार, चैत ३०, २०७७   ०६:५४:०८

जे भएपनि आशा जगाएर पढौं पढाऔं


आठ (८) महिनापछी बिद्यालय खुलेका छन् । कोरोना संक्रमणका कारण बिद्यार्थीमा पढ्न मन नलाग्ने, मनोबल कम्जोर भएको जस्तो हुने र पढाईको चिन्ता भन्दा कोरोनाको डर छ । कोरोना महामारीका समयमा शिक्षकहरुले बिद्यार्थी भेटेनन् । बिद्यार्थीहरुले साथी–भाईसँग भेटघाट गर्न सकेनन् । यो बन्दाबन्दीको समयमा स्वभाभिक पनि थियो । धेरै बिद्यालयमा र बिद्यर्थीमा ईन्टरनेटको सुबिधा पनि भएन । अहिले बिद्यालय खुलेका छन् तर, धेरै बिद्यार्थीसँग मास्क छैन । २–३ मीटर दूरी कायम गरेर बस्न पनि संभावना छैन । सेनिटाईजरको ब्यवस्था पनि छैन र सबै ठाउँमा साबुन पानीको ब्यवस्था पनि छैन । अहिलेको बिद्यालयको सिनारियो (चित्र) हो यो ।

बिकल्प के हो त ?

शैक्षिक शत्र खेर नफालौं । बिद्यार्थीको भविष्यमाथि खेलवाड नगरौं । भन्ने आवाज सबै ठाउँबाट उठीरहेको बेला सरकार आत्तीनु पनि स्वभाभिक नै हो । बन्दाबन्दीको समयपछी सरकारले बैकल्पीक शिक्षा निर्देशिका–२०७७ जारी गरेर बैकल्पीक सिकाई पद्धतीको गाईडलाईन अनुसार स्थानीय सञ्चार माध्यमलाई अभिमुखिकरण गर्ने र यसलाई स्थानीय तहसम्म नै पुर्याउने लक्ष्य यस पद्धतीले लिएको छ । कोभिड–१९ को संक्रमण जारी रहेपनि शैक्षिक शत्र खेर जान नदिन भर्चुअल कक्षाको विकल्प छैन । एकातर्फ यस वर्षको शैक्षिक शत्र खेर जाने त्रास छ, भने अर्कोतर्फ बिद्यालयमा बिद्यार्थी पढाउँदा कोरोना भाईरसको संक्रमण बढ्ने समस्या छदैछ ।

पहाडी जिल्लाका बिद्यालयहरुमा अनलाईन कक्षा त्यति प्रभावकारी भएनन् । त्यसकारण सरकारले बिद्यालयमा दुई सिफ्टमा कक्षा सञ्चालन गर्ने, भौतिक दूरी कायम गरेर कक्षा सञ्चालन गर भनेर बिद्यालय सञ्चालन गर्ने निर्णय गर्यो । तर, दुर्गमका बिद्यालयहरुमा सुरक्षाका सामान पुग्न सकेका छैनन् । तर, तिहारपछी त ह्वात्तै पहिलेको जस्तैगरी बिद्यालयहरु सञ्चालन हुन थालेका छन् । विश्व बिद्यालयहरुले पनि आफ्ना मातहतका सबै क्याम्पस र कलेज खोल्ने निर्णय पनि गरिसकेका छन् । यसले कोरोनाको महामारी झनै बढ्न सक्ने बिज्ञहरुको भनाई छ ।

शिक्षा तथा मानव श्रोत विकास केन्द्रका अनुसार, २०७६ सालमा देशभरका बिद्यालयमा ७५ लाख ५८ हजार ३८८ बिद्यँर्थी भर्ना भएका थिए । ती मध्ये ८० प्रतिशत बिद्यार्थी सामुदायिक बिद्यालयमा पढ्छन् तर, यस वर्ष बिद्यालय नै कोरोना भाईरसको कहरका कारण भर्ना नै लिन सकिएको अवस्था थिएन । भने शेरकाष्ट संस्थाको तथ्याङ्क अनुसार कर्णालीमा रेडियोको पहुँच ७५ प्रतिशत, ईन्टरनेटको पहुँच ३२ प्रतिशत, टेलिभिजनको पहुँच २२ प्रतिशत र अन्य तथ्याङ्क अनुसार कर्णाली प्रदेशमा ५,८२,००० बिद्यार्थीले पढ्छन् ।

त्यसमध्य ३० हजार बिद्यार्थी कुनैपनि सञ्चार माध्यमको पहुँचमा छैनन् । कतिपय ठाँउमा रेडियो राम्रोसँग टिप्दैन । सबै भन्दा बढी पहुँच रेडियो नेपालको छ । तर, सबै स्थानमा टिप्दैन । धेरै बिद्यार्थी टिभिको पहुँचमा छैनन् । अझ धेरै बिद्यार्थी ईन्टरनेको पहुँचबाट धेरै टाढा छन् । सुर्खेत स्थित एक गैर सरकारकारी संस्था एडुकेट कर्णाली नेपाल (ईकान)ले गरेको एक अध्ययन अनुसार सुर्खेत जिल्लामा जम्मा १० प्रतिशत बिद्यार्थीमात्र ईन्टरनेटको पहुँचमा रहेको र त्यो पनि पुस्तकको अध्ययन भन्दा फेसबुक र युट्युवमा बढी समय खर्चेको देखाएको छ । कर्णालीको प्रशंग जोड्ने हो भने बिद्युतको पहुँच २७ प्रतिशत जनतासंग मात्र छ ।

वास्तवमा यस परिस्थितीमा आमनेसामने कक्षा सञ्चालन गर्नु आवश्यक हो । तर, सरकारद्वारा जारी निर्देशनले भनेको छ : विश्वब्यापी फैलिरहेको कोरोना भाईरसको महामारीबाट बच्न सुरक्षाका मापदण्डहरु अपनाएर कक्षाहरु सञ्चालन गर्नुपर्ने कडा नियमहरु निर्देशित गरिएको छ । तर, अहिले सञ्चालन भएका कक्षाहरु पहिलेको सहज स्थितीमा भन्दा फरक छैनन् ।

बिद्यालयहरुले के गर्दा बेश होला ?

- वास्तवमा अहिलेको परिस्थिति अझैपनि सहज छैन । युरोप र अमेरिकाको तथ्याङ्क हेर्यो भने चिन्ता अवश्य लाग्छ । नेपालको अवस्था पनि चिन्ता लाग्दो छ । अहिले पीसिआर टेष्ट नै कम भैईरहेको अवस्थामा संक्रमित पनि कम देखिनु स्वभाभिक हो । यस्तो अवस्थामा बिद्यालयहरुले पहिले जस्तो गरेर कक्षा सञ्चालन गरिरहेको अवस्थामा खतरा अवश्य आउँछ । यस्ता खाले खतरालाई न्यून गरेर काम गर्नु पर्दछ । यसका लागि कम्तीमा पनि बिद्यालयहरुले मास्क अनिवार्य गरेर र थोरै भएपनि भौतिक दूरी कायम गरेर कक्षा सञ्चालन गरेको भए बिद्यार्थीको र शिक्षकको स्वास्थ्य अवस्था राम्रो रहने अवश्य थियो ।

- बिद्यालयहरुमा खाने पानीको अभाव भैईरहेको यस परिस्थितिमा हात धुने पानीको संभावना कम रहन्छ । तर, बिद्यार्थीको पनि सहभागितामा बिद्यार्थीको घरबाट भएपनि एक–दुई लिटर पानी र सेनिटाईजरको ब्यवस्था गर्न सके राम्रो हुने थियो ।

- बिज्ञबाट कक्षामा कोभिड–१९ को लक्षण, प्रभाव र असर तथा यो एक–आपसमा सर्ने तरिकाका बारेमा अभिमुखीकरण गर्ने जस्ता कार्य नियमित गर्नु पर्दछ ।

- बिद्यार्थीले पाठ्यपुस्तक, सहायक सामाग्री, श्रोत सामाग्रीहरु समयमा किनेर निरन्तर अभ्यास गर्ने गर्नु पर्दछ ।

- बिषम् परिस्थितीलाई ब्यवस्थित गर्न बिद्यार्थीमा क्षमता हुनु पर्दछ । त्यसका लागि कडा मेहनेत आवश्यक पर्दछ । कडा मेहनेतका लागि आशा अर्थात योजना चाहिन्छ । यसका लागि बिद्यालयले बिद्यार्थीलाई सहयोग गर्नु पर्दछ ।

- निराशालाई हटाएर आशा जगाएर पढ्नु पर्दछ । पढ्ने धेरै तरिकाहरु छन् । तर, उत्तम उपाए भनेको आशा हो, योजना हो । हरेक बिद्यार्थीले योजना अवश्य बनाउनु पर्दछ । योजना भएन भने बिद्यार्थीको पढाई कता जाने हो ? थाहा हुँदैन । भविष्य कस्तो हुने हो त्यो पनि थाहा हुँदैन । थाहा नभएर गरेको कामको परिणाम पनि अनिश्चित हुन्छ । अर्थात कहाँ जाने भन्ने लक्ष्य नै भएन भने कता पुगिन्छ ? थाहा हुँदैन । लक्ष्य नै भएन भने हामीले प्राप्त गरेको कामको मुल्याङ्कन गर्न हामी आफैले गर्न सक्दैनौं ।

हामीले यस बिषम् परिस्थितीमा यति थोरै मात्र कार्य गर्न सक्यौं भने हाम्रा बिद्यार्थीहरुले अहिलेको यस बिषम् परिस्थितीलाई चिर्न सक्छौं । अहिले निराश भएका बिद्यार्थी भाइबहिनीहरुको आशा जगाउन सक्छौं ।

जय शिक्षा