नयाँ धानको चामल बजारमा आएपछि चामलको मूल्य सस्तियो


नयाँ धानको चामल बजारमा आएपछि चामलको मूल्य सस्तियो

नेपालगन्ज : नयाँ धानको चामल बजारमा आउन थालेपछि पुरानो चामलको भाउ घटेकोछ । कोरोना संक्रमणका कारण सर्वसाधारण धेरै दिन घरैभित्र बस्ने र खपत बढ्ने भन्दै थोक व्यवसायीले ठूलो परिमाणमा चामल भित्र्याएका थिए । तर, बजारमा आपूर्तिको तुलनामा माग निकै घट्दै जाँदा त्यसमाथि नयाँ धानको चामल पनि आउन थालिसकेकाले भाउ घटाएर भए पनि चामल बेच्न थालिएको छ ।

व्यवसायीहरूका अनुसार चामलको माग पनि पहिलेभन्दा निकै घटेको छ । बजारमा आपूर्ति बढी, बिक्री कम हुँदा भाउ घट्न थालेको हो । केही समययता खाद्यान्नको माग नै घट्दो छ । लामो समय राख्न नमिल्ने खाद्यान्नलाई व्यवसायीले भाउ जति आए पनि बेच्ने भएकाले चामलको मूल्यमा ह्रास आएको हो ।

व्यवसायीका अनुसार गत चैतदेखि नै चामल, दाल लगायतका खाद्यान्नको खपत परिमाण घट्दै आएको छ । कोरोनाको सन्त्रास सुरू भएयता होटल–रेस्टुरेन्ट पूर्ण क्षमतामा चलेका छैनन् । होस्टलहरू बन्द छन् । स्कुल–कलेज तथा कार्यालयका क्यान्टिन बन्द छन् । मानिसहरूले घुमफिर गर्न घटाएपछि पनि खाद्यान्नको खपत परिमाणमा असर परेको छ ।

खपत कम भए पनि दाल तथा खाद्य तेलको मूल्य बढिरहँदा चामलको मूल्य भने एक सय रुपैयाँसम्म घटेको छ । बजारमा पाइने बिभिन्न किसिमका चामलको मूल्य पनि फरक–फरक हुने गरेको छ । राइस मिल र व्यवसायीहरुले खपत नभएर स्टक बस्न थालेपछि मूल्य घटाएर पनि चामल बिक्री गरिरहेको खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठ बताउँछन् ।

Kanti Aarogya Hospital Nepalgunj

हाल नयाँ धानको चामल बजारमा आउन थालेको छ । तर, केही पहिले भारतबाट आयात गरेका चामल स्टक बसिरहेको छ । यही स्टक क्लियरेन्सका लागि व्यवसायीले पहिले भन्दा प्रतिबोरा एक सय रुपैयाँभन्दा बढी घटाएर बिक्री गरिरहेका छन् ।

गत सातादेखि चामलको थोक मूल्य घटेको हो । ‘चामलको नै बिक्री छैन । पहिले २ बोरा किन्नेले अहिले एक बोरामात्र किन्दै आएका छन्’, श्रेष्ठका अनुसार ‘पहिले जस्तो धेरै किनेर स्टक राख्ने गरेका छैनन् ।’

यता ब्यवसायीहरुले नयाँ धानको चामल बजारमा आएसगैं होलसेल व्यवसायीले मूल्य घटाएर बिक्री गरिरहेका छन् । केहीदिन अघिसम्म मात्रै जिरा मसिनो चामल ३० केजीको एक हजार ५ सय ५० देखि उक हजार ६ सय रुपैयाँमा बिक्री हुँदै आएको थियो । तर, अहिले मूल्य घटेर एक हजार ४ सय ५० देखि एक हजार ५ सय रुपैयाँमा खरिदबिक्री भइरहेकोछ ।

यस्तै एक हजार ७ सय ५० देखि एक हजार ८ सयमा खरिदविक्री हुने स्टिम सोना मन्सुली यतिबेला एक हजार ७ सय रुपैयाँमा खरिदविक्री भइरहेकोछ । भने बासमती लङ ग्रेन २० केजीको २ हजार ३ सय ५० देखि २ हजार ८ सय रुपैयाँसम्म खरिद विक्री भइरहेको ब्यवसायी बताउँछन् ।

हाल जिरा मसिनो र स्टिम चामलको मात्र मूल्य घटेको छ । तर, खुद्रा किन्दा प्रतिकेजी २ रुपैयाँदेखि ४ रुपैयाँसम्म सस्तो पर्छ । यद्यपी कतिपय ठाउँमा खुद्रा बिक्रेताले पुरानै मूल्यमै बिक्री गर्ने गरेका छन् । बजारमा कम गुणस्तरको चामलको मूल्य पनि घटेको पाइएको छ । यस्ता चामल प्रति बोरा एक हजार ३ सय रुपैयाँमा बिक्री भइरहेको व्यवसायीहरुको भनाइ छ ।

नयाँ चामल बजारमा भित्रिन थालेपछि चामलको मूल्य बोरामा एक सय ५० रुपैयाँसम्म घटेको साल्ट ट्रेडिङका बजार प्रबन्धक प्रज्वल प्रधान बताँउछन् । पहिले उक हजार ५ सयदेखि एक हजार ६ सय रुपैयाँ रहेको चामल अहिले घटेर एक हजार ३ सय ५० देखि एक हजार ४ सय रुपैयाँसम्म विक्री भइरहेको उनले जानकारी दिए ।’ उनका अनुसार केही समयमात्र चामलको मूल्यमा यथावत रहे पनि पुरानो हुँदै गएपछि पुनः महंगी बढ्न सक्ने छ ।

नयाँ धानको चामल आउन थालिसकेको छ । यसले गर्दा पुरानो बिक्री कम हुनु स्वभाविक हो । तर, स्टकमा राख्दा घाटा हुनेभएपछि छिटो बेचिसक्न व्यापारीले चामलको मूल्य सस्तो बनाएका हुन् ।