नेपालगन्ज : विश्वकै लामो मुक्तिनाथ केबुलकारको निर्माण नेपालमा हुने भएकोछ । यसका लागि विस्तृत परियोजना प्रतिबेदन(डिपीआर) निर्माण भई लगानी बोर्डले स्वीकृत समेत गरेकोछ । डिपीआर स्वीकृत भएसंगै आगामी वर्षदेखि यसको निर्माण प्रक्रिया शुरु हुनेछ ।
‘मुक्तिनाथ केबुल कार १३ महिनापछि निर्माण सुरु हुने र अबको ५५ महिनामा सञ्चालनमा आउनेछ’ मुक्तिनाथ दर्शन प्रालिका अध्यक्ष अरुणकुमार सुवेदीले जानकारी दिए ।
डीपीआरले केबुलकार पूर्वाधार बनाउन ५३ अर्ब रुपैयाँ लाग्ने देखाएको छ । यद्यपि यो १ डलर बराबर १ सय १८ रुपैयाँको आधारमा यो रकम लाग्ने देखाइएको हो । डलर तलमाथि भए लागतमा केही तलमाथि हुनेछ । यसअघिको सम्भाव्यता अध्ययनअनुसार केबुलकार संरचना बनाउन ३५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो ।
डीपीआरमा लामो र ठूलो केबुलकार भएकाले १३ मेगावाट बिजुली खपत हुने उल्लेख छ । केबुलकार सञ्चालनका लागि १३ मेगावाट विद्युत् खपत हुने डीपीआरमा भनिएको छ । मुक्तिनाथ केबुलकार १ हजारदेखि ३ हजार ७ सय मिटरको उचाइसम्म पुग्नेछ ।
लगानी बोर्डले डीपीआर अध्ययन भइरहेको बताएको छ । बोर्डका प्रवक्ता धर्मेन्द्रकुमार मिश्रले डीपीआरमा उल्लेख भएका विषय प्रस्तावित भएकाले केही तलमाथि पनि हुन सक्ने बताएका छन् ।
उनले भने, ‘हामीले डीपीआर अध्ययन मूल्याङ्कन गरिरहेका छौँ । अध्ययन सकिएपछि बोर्डमा जान्छ र स्वीकृत गर्ने नगर्ने बोर्डले निर्णय गर्नेछ ।’
केबुलकार डेभलपर मुक्तिनाथ दर्शन प्रालिले ५३ अर्ब लागत लाग्ने अनुमान गरेको छ । तर, बोर्डले यो लगानी केही तलमाथि हुनसक्ने बताएको छ । लगानी बोर्डमा प्रधानमन्त्री अध्यक्ष रहेको बोर्ड छ । बोर्डको निर्देशनपछि मात्रै केबुलकार निर्माणको काम अघि बढ्नेछ ।
२०७५ भाद्र २७ मा मुक्तिनाथ दर्शन प्रालि र लगानी बोर्डबीच केबुलकार निर्माण गर्ने सहमतिमा हस्ताक्षर भएको थियो । सहमतिमा मुक्तिनाथ दर्शन प्रालिका अध्यक्ष अरुणकुमार सुवेदी र लगानी बोर्डका तत्कालीन सीईओ महाप्रसाद अधिकारीले हस्ताक्षर गरेका थिए ।
कम्पनीले समझदारी भएको मितिदेखि १८ महिनाभित्रमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लगानी बोर्ड समक्ष पेस गर्नुपर्ने उल्लेख गरिएको थियो । रोपवेको अध्ययन गर्ने जिम्मा इटालियन कम्पनी रोप्स जीएमबीएसले पाएको थियो । सर्बेको जिम्मा अस्ट्रेलियन कम्पनी एएएमले पाएको थियो ।
कम्पनीले लाइडर सर्बेका लागि जहाज काठमाडौँ झिकाएको थियो । यो एएम ग्रुपको जहाज हो । लाइडर सर्बे संसारमै उत्कृष्ट सर्बे मानिन्छ । कम्पनीले झण्डै ७ करोड खर्च गरेर पहिलो पटक नेपालमा यो खालको प्रविधिबाट सर्बे गरेको जनाएको छ ।
कम्पनीले मुक्तिनाथसम्म ८०.१६ किलोमिटर लामो केबुलकार निर्माण गर्नेछ । बोर्डका अनुसार वीरेठाँटी, घोरेपानीदेखि तातोपानी, तातोपानीदेखि लेतेमार्फा ट्रान्जिटदेखि जोमसोम, जोमसोमदेखि कागवेनी र कागवेनीदेखि मुक्तिनाथ खण्डमा विभाजित हुनेछ ।
केबुलकारमा १९ वटा स्टेसन रहनेन् वीरेठाँटीबाट मुक्तिनाथको बीचमा थप ६ वटा स्टेसन रहने छन् । ती स्टेसनमा यात्रु झरेर त्यहीँ बासबसी अर्को दिन यात्रा शुरु गर्न सक्नेछन् । कम्पनीले हरेक स्टेसनमा होटेल, लज तथा रेस्टुरेन्ट बनाउने योजना लिएको छ ।