सुन्तला पाक्ने बेलामा कीरो लागेपछि कृषक चिन्तित


सुन्तला पाक्ने बेलामा कीरो लागेपछि कृषक चिन्तित

पर्वत : सुन्तला पाकेर बजार पठाउन तयारी भएको समयमा कीरो परेपछि पर्वतका सुन्तला भण्डारका रूपमा चिनिएको जलजला गाउँपालिका–१ बाँसखर्कका किसान चिन्तामा छन् । माघको पहिलो सातादेखि बिक्रीका लागि बजार पठाउने तयारी भइरहेका बेला बोटमै कुहिएर सुन्तला झर्न थालेका हुन् ।

उत्तर मोहडामा फैलिएको बाँसखर्क सबैभन्दा ढिलोसम्म बोटमै सुन्तला रहने ठाउँ हो । यहाँ माघ शुरु भएपछि मात्रै सुन्तला पाक्छ । यस पटक भने पाक्ने बेलामा पहेँलो हुँदै झर्न थालेपछि किसान वर्षभरिको आम्दानी गुम्ने चिन्तामा छन् । ‘बढी पहेँलो भएको गेडो छिट्टै झरेको छ’, अगुवा किसान जगतबहादुर खत्रीले भने, ‘कोट्याएर हेर्दा भित्र कीरैकीरो छन् ।’

Kanti Aarogya Hospital Nepalgunj

बारीभरि पहेँलै भएर झरेका सुन्तला सङ्कलन गरेर खाडलमा पुर्ने गरेको खत्रीले बताए । उनले बर्सेनि ६ देखि आठ लाखसम्मका सुन्तला बोटबाटै बेच्छन् । बर्सेनि पाँच लाखका सुन्तला बिक्री गर्ने चन्द्रकुमारी भण्डारीले पनि पाक्ने बेलामा देखिएको यस्तो समस्याले आम्दानी चौपट हुने चिन्ता लागेको सुनाए । ‘धान फल्ने खेत मासेर सुन्तला लगाएका छौँ’, उनले भने, ‘सुन्तला उठाउँदै खाल्डोमा पुर्नु परेको छ ।’ मल, काँटछाँट र बगैँचा व्यवस्थापनमा बर्सेनि लाखभन्दा बढी खर्च हुने भण्डारीले बताए । लगानी मात्रै नभएर वर्षभर कमाई खाने बाटो पनि बन्द हुने अवस्था आएको बताए ।

बाँसखर्कमा बर्सेनि साढे तीन करोडसम्मको सुन्तला उत्पादन हुन्छ । सुन्तलाको व्यवस्थित बजारीकरण गर्न किसानकै अग्रसरतामा सुन्तला उत्पादन तथा बिक्री गर्न बजारमारे सुन्तला उत्पादन सहकारी स्थापना गरिएको छ । सहकारीले घरैबाट सुन्तला टिपेर काठमाडौँदेखि चितवनसम्मका बजार पुर्याउँदै आएको छ । सुन्तला बिक्रीबाटै आएको आम्दानीको केही प्रतिशत रकमले सहकारीको खर्च धानिएको थियो । -रासस