घुमुवा सईको पैसा कमाऊ धन्दा


घुमुवा सईको पैसा कमाऊ धन्दा

नेपालगन्ज : यी हुन नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) बम रावल । नाम बम छ तर, काम भने अर्कै छ । सई रावलको जागिरे दरवन्दी भने प्यूठान जिल्लाको भिंग्री हो । उनी जागिरे दरवन्दी भएको जिल्लामा भने कहिल्यै जाँदैनन् ।

सई रावल पैसा कमाउन नेपाल प्रहरीमा जागिर खाएको भनि बुझ्दा फरक नपर्ला । उनको घर नेपालगन्जमै हो । नेपालगन्जको बसपार्क वाईपास रोडमा उनले ३ तलाको सानदार घर बनाइरहेका छन् । उनलाई घर बनाउन रकमको आवश्यकता पनि छ ।

दरवन्दी प्यूठान भएपनि उनी नेपालगन्जमै बस्छन्, जिल्ला प्रहरी कार्यालय बाँकेमा हाजिरी लाउँछन् । त्यो पनि घुमुवा प्रहरीको ईन्चार्ज भएर । बाँकेका एसपी ओम बहादुर रानाले सई रावललाई चोरी, तस्करी, अपराधी पत्ता लगाउन घुमुवा प्रहरीको ईन्चार्ज बनाएका छन् । घुमुवा प्रहरीको ईन्चार्ज हाकिमको दाहिने हात अर्थात विश्वस्त कर्मचारी मानिन्छ ।

सिधा स्वभावका एसपी रानाले विश्वास गरेर राखेका सई रावलले घुमुवाको ईन्चार्ज पदलाई कमाउ धन्दामा परिणत गरेका छन् । तस्करी रोक्न र अपराधका सूचना आफुलाई पुर्याउन भनि राखिएका सई रावले एसपी रानाको विश्वास टुटाउँदै तस्करसँग मिलेर पैसा कमाउनतिर लागेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

सई रावलको तस्करसँग मिलेर पैसा असुल्ने काईदा भने बेग्लै छ । उनी दिउँसो प्रायः सुत्ने र रातभर तस्करी हुने नाकामा गई पैसा बटुलेर ल्याउने गरेको जिल्ला प्रहरी कार्यालय भित्रको प्रहरी स्रोतले नै जनाएको छ । तस्करबाट लिएको रकम एक्लै खाइदिने गरेकाले घुमुवा टोलीका अन्य प्रहरीहरु समेत रुष्ट छन् ।

सई रावलले एसपीको नजरमा काम देखाउनलाई तस्करसँग मिलेर पक्राउ गरेको केही सामान देखाउने र धेरै परिमाणको मालसामान तस्करी गर्न दिएर तस्करबाट रकम असुल्ने गरेको घुमुवा टोलीकै सदस्यले सेतोखरीलाई जानकारी दिए ।

एक साताअघि साईगाउँ क्षेत्रबाट बोइलर कुखुरा सहित ३ वटा मोटरसाईकल र ३ जना मान्छे पक्राउ गरेकोमा सई रावलले कुखुरा क्वारेन्टाईनमा बुझाई पैसा लिएर मोटरसाईकल र मान्छे भने छोडिदिएका छन् ।

नेपालगन्जमा पक्राउ गरेका मालबाहक ३ वटा ट्रकलाई सई रावलले रकम लिएर छोडेका छन्, तर प्रहरी अधिकृतको अर्को टोलीले ती ट्रक पक्राउ गरिदिएपछि सई रावले ती अधिकृतलाई आफ्नो एउटा मात्र अनुरोध मानिदिन अनुनयविनय गरेपछि ती मालबाहक ट्रक पास भएका थिए ।

३ तला घर बनाउन सई रावललाई रकम आवश्यकता भएकाले पनि उनले घर निर्माणमा प्रयोग हुने मालसामान तथा रकम असुलीलाई तिब्रता दिएका हुन् ।

सेतोखरीले तपाईले तस्करहरुसँग रकम असुली गरी रहेको हो ? भनि प्रश्न गर्दा उनले जवाफ दिन सकेनन् । फेरी सेतोखरीले सई रावललाई रकम असुल गरेका घटनालाई टेकेर यी घटनाहरुबाट तपाईले रकम असुलेर छोडेको होईन र ? भनि प्रश्न गर्दा सई रावल कुनै उत्तर दिन सकेनन् ।

‘बरु भने मेरो विरुद्ध हाम्रै भित्रका मान्छे मलाई बाँकेबाट भगाउन लागेका छन्, मलाई थाहा छ, मलाई भगाउनै पर्दैन म प्यूठान गईहाल्छु नि ।’ तस्करी र रकम असुलीको प्रश्न सोध्दा सई रावलको जवाफ यहि थियो ।

बाँके एसपी रानाले यस बारे आफुले बुझ्ने र दोषी भेटाए कारबाही गर्ने बताए ।