जहाँतहीँ आईपीओको चर्चा, किन यति धेरै आकर्षण ?


जहाँतहीँ आईपीओको चर्चा, किन यति धेरै आकर्षण ?

काठमाण्डौं ८ माघ : पछिल्लो समय आम सर्वसाधारणको आईपीओप्रतिको क्रेज कतिसम्म छ भन्ने उदाहरण चन्द्रागिरी हिल्स र इन्फ्रास्टक्चर बैङ्कको आईपीओको चर्चाले पुष्टि गर्छ ।

सेयर बजारप्रति खासै रुचि नराख्ने र जानकारीसमेत नभएकाहरु पनि अहिले आईपीओ भर्न तँछाडमछाड गरिरहेका छन् । सामाजिक सञ्जालमा आईपीओप्रति अनेक खालको ट्रोलसमेत बनेका छन् । केही समयअघिसम्म पनि आईपीओ बिक्री नभएर समय थप गर्नुपर्ने अथवा पटक पटक बिक्रीका लागि सूचना निकाल्नुपर्ने अवस्था थियो ।तर, अहिले आम मानिसको सेयर बजारप्रतिको बुझाइ फेरिँदा समग्र सेयर बजारको सिनारियो नै फेरिएको छ । सेयरको प्राथमिक बजारमा लगानीकर्ताहरुको आकर्षण बढेको हो ।

नेपाल इन्फ्रास्ट्रक्चर बङ्कको आईपीओलाई हेर्ने हो भने यसमा हालसम्मकै उच्च १५ लाख २९ हजार ४ सय ६० जनाको आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडको तथ्याङ्कअनुसार १८ करोड १२ लाख ८६ हजार ७ सय २० कित्ताका लागि आवेदन परेको हो । कुल १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

यता चन्द्रागिरिको आईपीओमा पनि मागभन्दा ज्यादा आवेदन पर्यो । यसमा कुल २ अर्ब ४४ करोड ७४ लाख ५३ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । १२ लाख ५१ हजार १० जनाले २ करोड ४४ लाख ७४ हजार ५३० कित्ताका लागि आवेदन परेको हो । यो मागको तुलनामा १७.५३ गुणा बढी हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

यी दुई कम्पनीको सेयरले नबुझ्ने÷नजान्नेहरु पनि चासोका साथ सोध्न सक्ने भएका छन्, अब कुन कम्पनीको आईपीओ खुल्दैछ ?

पछिल्लो पन्ध्र दिनमा मात्र २ लाख ६४ हजार नयाँ लगानीकर्ताले सेयर बजार प्रवेशको बाटो खोलेका अर्थात् नयाँ डिम्याट खाता खोलेको सीडीएसले जनाएको छ । हालसम्म डिम्याट लिनेको सङ्ख्या २६ लाख ८ हजार ६ सय ६२ पुगेको छ । यसबाट भन्न सकिन्छ सेयर बजार विशेष गरी प्राथमिक सेयरप्रति दिनप्रतिदिन आकर्षण बढिरहेको छ ।

सामाजिक सञ्जालदेखि चिया गफसम्म चर्चा आईपीओकै

यो सामाजिक सञ्जालमा भेटिएको आईपीओ क्रेजीहरुलाई व्यङ्ग्य गरिएको ट्रोल हो । आईपीओ हात पार्न आफ्ना आफन्त सबैको नामबाट डिम्याट खोलेर आईपीओ भर्नेहरूप्र्र्रति लक्षित यस ट्रोलले पनि आईपीओको चर्चालाई पछ्याएको देखिन्छ । अत्यधिक आवेदन परेमा परिवारका कुनै न कुनै सदस्यको नाममा आवेदन पर्ने सम्भावना रहने अनुमानमा एउटैले परिवारका विभिन्न सदस्यको नाममा डिम्याट खोल्ने गरेका छन् ।

सामाजिक सञ्जालमै देखिएको यो अर्को ट्रोल जसले आईपीओको चर्चा कसरी बढिरहेको छ भन्ने देखाउँछ । यी त प्रतिनिधि उदाहरण मात्र हुन् । यस्ता धेरै ट्रोलले सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ट्विटरका भित्ता रङ्गिएको देख्न सकिन्छ ।

उसो त चिया गफ, सार्वजनिक यातायात लगायत ठाउँमा पनि आईपीओको नै चर्चा छ । तपाईंले फलानाको आईपीओ भर्नुभयो अथवा अब त खुलेका जति सबैमा भर्ने हो जस्ता कुराकानी सार्वजनिक स्थलमा सुन्न सकिन्छ ।

आईपीओमा लगानी गुम्ने सम्भावना कम

जब कुनै कम्पनीले पहिलो पटक आफ्नो कम्पनीको सेयर जनतालाई पनि लगानीका लागि खुला गर्छ भने त्यसलाई हामी आईपीओे भन्छौँ । यसको अङ्ग्रेजी रूप ‘इनिसियल पब्लिक अफरिङ’ हुन्छ भने नेपालीमा ‘प्रारम्भिक सार्वजनिक निष्काशन’ हुन्छ ।

कम्पनीले आफ्नो व्यापार विस्तार गर्न, भौतिक पूर्वाधार निर्माण गर्न वा अन्य कुनै खर्च धान्नका लागि आईपीओे जारी गर्दछ । एक पटक आईपीओे जारी गरिसकेपछि कम्पनीलाई फेरि पनि पुँजीको आवश्यक परेको अवस्थामा हकप्रद वा बोनस सेयर जारी गरेर पुँजी उठाउने गरिएको छ ।

नेपालमा आईपीओे प्रायः १०० रुपैयाँ प्रतिकित्ता मूल्य तय गरिने हुनाले कतिपयलाई आईपीओ भन्ने वित्तिकै सबैको मूल्य प्रतिकित्ता सय नै हुन्छ भन्ने छ तर त्यसो होइन । आईपीओको मूल्य निर्धारण तीन प्रकारबाट हुन्छ । सय रुपैयाँभन्दा बढी मूल्यका आईपीओ पनि हुन्छ ।

आईपीओ लगानीको पहिलो अवसर हो । धेरैजसो १०० रुपैयाँ प्रतिकित्तामा सेयर पाइने हुँदा लगानी जोखिम न्यून हुन्छ । यद्यपि कम्पनी नै नहेरी जथाभावी गरिएको लगानीले भने जोखिम नित्याउन सक्ने कारण बन्न सक्छ ।

बजार बढ्नुले पनि आईपीओप्रतिको आकर्षण बढ्यो

पछिल्लो दिनमा सेयर बजार लगातार बढिरहेको छ । आजसम्म (माघ ७) बजार पुँजीकरण ३१ खर्ब ५५ अर्ब रुपैयाँभन्दा माथि छ । नेप्से २३ सय अङ्कमा हिँडिरहेको छ । प्राथमिक बजारमा प्रवेश गरेपछि केही दिनमै त्यसको मूल्य बढ्ने आशामा लगानीकर्ताहरु प्राथमिक बजारमा प्रवेश गरिरहेका छन् । लगानीकर्ता छोटेलाल रौनियार सय रुपैयाँमा किनेको आईपीओ लिस्टिङ हुने वित्तिकै सोभन्दा माथि पुग्ने भएकाले पनि आईपीओप्रति आकर्षण बढेको बताउँछन् । सेयर बजारमा नयाँ नयाँ लगानीकर्ता पस्नु भनेको बजारको भविष्य उज्ज्वल हुनु पनि हो ।

रौनियार स्मरण गर्छन्, ‘कुनै बेला जलविद्युतको सेयर मूल्य निकै कम थियो । सय रुपैयाँमा किनेको सेयरको मूल्य सोभन्दा पनि कम भएको आवस्था थियो तर अहिले सबैको मूल्य बढेको छ यसले पनि अब आईपीओको लगानीमा जोखिम छैन भन्ने देखाएको छ ।’

अहिले सेयर बुझेका हुन् वा नबुझेका सबै आईपीओ भर्नकै लागि प्रश्न गरिरहेका हुन्छन्, डिम्याट कसरी खोल्ने, आईपीओ भर्न के गर्ने र अब कसको आईपीओ आउँदैछ ? रातोपाटीबाट