नेपालगन्ज १४ माघ : लोपउन्मुख वन्यजन्तु रेडपाण्डाको अवैध कारोबारमा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय कोहलपुरले बुधबार रेडपाण्डाको छालासहित कोहलपुर– १२ चप्परगौंडीस्थित दैलेखी होटलको कोठा नम्बर ११३ बाट तीन जनालाई नियन्त्रणमा लिएको हो ।
बुधबार दिउँसो १ बजे रेडपाण्डाको छालाको अबैध कारोबार भईरहेको विशेष सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी ब्यूरो र ईलाका प्रहरी कार्यालय कोहलपुरको संयुक्त टोलीले कोहलपुर नगरपालिका १२ चप्परगौंडीस्थित उक्त होटलमा छापा हान्दा लोपउन्मुख वन्यजन्तु रेडपाण्डाको छालासहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सुर्खेत भेरीगंगा नगरपालिका– १० का ४० वर्षिय दलबहादुर शाही, जाजरकोट जुनिचाँदी गाँउपालिका–११ का ४२ वर्षिय धनबहादुर शाही र सल्यान कुपिण्डेदह नगरपालिका– ४ का ३३ वर्षिय भरत बहादुर पुन रहेका छन् ।
दैलेखी होटलको कोठा नम्बर ११३ मा बसेका उनीहरुले झोलामा लुकाई छिपाई राखेको लोपन्मुख वन्यजन्तु रेड पाण्डाको छाला २ थान फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि बाँके राष्ट्रिय निकुञ्ज कार्यालयमा पठाईएको बाँके प्रहरीले जनाएकोछ ।