खजुरा १७ माघ : आर्थिक वर्ष २०७८/०७९ को योजना तथा बजेट तर्जुमा गर्न नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले बाँकेको खजुरामा चार दिने गोष्ठी शुरु गरेको छ । कृषिमा नयाँ योजनाका साथ अनुसन्धानका कार्यक्रमहरु ल्याउने गरी तर्जुमा गोष्ठीको आयोजना गरिएको हो ।
कृषि अनुसन्धान निर्देशनालय खजुराको आयोजनामा भइरहेको गोष्ठीमा लुम्बिनी र कर्णाली प्रदेशका ११ वटा कार्यालयहरुको सहभागिता छ । गोष्ठीमा कृषि अनुसन्धानले कस्तो बाटो तय गर्ने भन्ने निष्कर्ष निकालिने निर्देशनालयले जनाएको छ ।
कृषि अनुसन्धान निर्देशनालय खजुराका निर्देशक अमर बहादुर पुन मगरको अध्यक्षतामा भएको गोष्ठीमा दुई वटै प्रदेशमा हुने कृषि अनुसन्धानात्मक नयाँ कार्यक्रमका बारेमा छुट्टाछुट्टै प्रस्तुति हुनेछ । प्रस्तुतिपछि उक्त कार्यक्रमहरुका बारेमा छलफल गरी अन्तिम रिभ्यु गरिने जनाइएको छ ।
प्रमुख अतिथि नेपाल कृषि अनुसन्धान परिषद् बाली तथा बागवानी निर्देशक राम बहादुर केसीले अनिवार्य दायित्वका शिर्षकमा पुग्ने गरी बजेट प्रस्ताव गरेर मात्र अन्य शीर्षकमा जान निर्देशन दिए । रैथाने जातको संरक्षण र उपयोगको नीतिलाई प्राथमिकतामा राख्न निर्देशन दिंदै निर्देशक केसीले ८/१० वर्षको अन्तरमा बाह्य अनुसन्धान स्थल परिवर्तन गरेर काम गरेमा परिणाम राम्रो निश्कने बताए ।
उनले अब नार्क प्रविधि गाउँ लागू गर्दै कृषि, पशुुपंक्षी तथा मत्स्य सम्बन्धि प्रविधिहरुलाई कृषकसंग जोडिने बताए । उनले कृषककै सहभागितामा प्रविधिहरु प्रदर्शन गर्ने योजना अनुरुप नार्क प्रविधि गाउँको अवधारणा ल्याइएको जानकारी दिए ।
गोष्ठीमा राष्ट्रिय वागवानी अनुसन्धान केन्द्रका प्रमुख बरिष्ठ बैज्ञानिक डाक्टर ईश्वरी प्रसाद गौतम, नेपाल कृषि अनुसन्धान परिषद्का आर्थिक तथा प्रशासन महाशाखा प्रमुख राजेन्द्र पण्डित, योजना महाशाखाका प्रमुख डाक्टर टिका बहादुर कार्की लगायतले समयसापेक्ष र परिणाम दिने खालका कार्यक्रम र योजना प्रस्ताव गर्न आग्रह गरे ।
गोष्ठीमा नेपाल कृषि अनुसन्धान परिषद्का परिषद् सदस्य गोविन्द केसी, पूर्व निर्देशक डाक्टर यज्ञ प्रसाद गिरी लगायत दुई वटा प्रदेशमा रहेका कृषि अनुसन्धान कार्यक्रम तथा निर्देशनालयका प्रमुख तथा कृषि बैज्ञानिक, प्राविधिकहरुको उपस्थिति रहेको कृषि अनुसन्धान निर्देशनालय खजुराका प्राविधिक अधिकृत रबिन गिरीले जानकारी दिए ।