अर्थमन्त्री पौडेलद्वारा बीमा क्षेत्रका समस्या समाधान गर्न निर्देशन


अर्थमन्त्री पौडेलद्वारा बीमा क्षेत्रका समस्या समाधान गर्न निर्देशन

काठमाडौं २२ माघः अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बीमा क्षेत्रमा भएका समस्या समाधानका लागि खरोरुपमा उत्रन र आफ्नो कार्यकाल बीमा क्षेत्रका लागि कोसेढुङ्गा सावित गर्न बीमा समितिको नयाँ नेतृत्वलाई निर्देशन दिएकाछन् ।

बीमा समितिको नवनियुक्त अध्यक्षको पद तथा गोपनियताको सपथग्रहण कार्यक्रममा अर्थमन्त्री पौडेलले बीमा क्षेत्रका समस्याहरु केलाउन निर्देशन दिँदै ती समस्या समाधानका लागि अर्थ मन्त्रालयले सहयोग, सहजीकरण र समन्वय गर्ने बताए ।

अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले बीमा क्षेत्रले विश्वसनियता कायम गर्नु पर्ने आवश्यता औल्याउँदै बीमा क्षेत्रलाई सबल, सक्षम र प्रतिष्पर्धी बनाउनु पर्ने बताए ।

राजस्व सचिव रामशरण पुडासैनीले बीमाको पहुँच बढाउन र बीमा क्षेत्रको सुशासन कायम गर्ने कार्यमा विशेष जोड दिए ।

Kanti Aarogya Hospital Nepalgunj

बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको सुधारका लागि खरो रुपमा उत्रने र फास्ट ट्रयाकमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले तत्काल देखा परेका समस्या समाधान गर्दै नीतिगत क्षेत्रमा प्रवेश गर्ने बताए ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले बीमा समितिका नवनियुक्त अध्यक्ष सिलवाललाई पद तथा गोपनियताको सपथ गराएका थिए ।
सो अवसरमा अर्थमन्त्री पौडेल र सचिवद्वयले नवनियुक्त अध्यक्ष सिलवालाई बधाई तथा शुभकामना दिएका थिए ।