आयोडिनयुक्त नुन : प्रयोगकर्ता मापदण्डबारे बेखबर

नुन खान नजान्दा मर्दै नेपाली, २५ प्रतिशत जनता ढिके नुनकै भर


आयोडिनयुक्त नुन : प्रयोगकर्ता मापदण्डबारे बेखबर

नेपालगन्ज २७ माघ : स्वास्थ्यका दृष्टिकोणले खानामा आयोडिनयुक्त नुन प्रयोग गर्नुपर्ने भए पनि नेपालमा अझै ढिके नुन प्रयोग गर्दै आएको पाइएको छ ।

नुन खाऔं तर सही मात्रामा आयोडिन भएको दुई बालबालिका चिन्ह भएको प्याकेटको नुन मात्र खाऔं भन्ने मुल नाराका साथ हरेक वर्षको फ्रेब्रुअरी महिनामा सरकारले देशभर ‘आयोडिन महिना’ मनाउने गर्दछ । सोही सन्दर्भमा मङ्गलबार नेपालगन्जमा नगर स्वास्थ्य कार्यालयले गरेको पत्रकार तथा सरोकारवालासंगको अन्तरक्रियामा यस्तो तथ्य पाइएको हो ।

ढिके नुनको प्रयोगले मानिसको स्वास्थ्यमा गम्भीर असरहरू देखापर्ने गर्छ । तर, आयोडिनयुक्त नुनभन्दा ढिके नुुन सस्तो पर्ने भएकाले ग्रामीण मात्र होइन सहरबजारमै खुलेयाम मानिसले ढिके नुनकै प्रयोग गरिरहेको साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड नेपालगन्जका प्रमुख मनोज चौधरीले बताए ।

‘ढिके नुन नेपालमा प्रतिबन्ध लगाएकै अवस्थामा पनि नेपाल–भारत खुला सीमा भएकाले सजिलै भारतबाट ल्याएर प्रयोग गर्न सक्ने अवस्था छ,’ उनले भने । नुनको कुल मागमा ७५ प्रतिशत आयो नुन र २५ प्रतिशत ढिके नुन खपत हुने गर्छ । खुला सीमानाका कारण आयोडिन युक्त नुन भन्दा ढिके नुन सहज र सस्तो पर्ने भन्दै आम उपभोक्ताको ब्यवहारमा अझै परिर्वतन नआएको उनले बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

उनका अनुसार आयोडिनयुक्त नुन अधिक सेवनले शरीरलाई नोक्सान गर्दछ । तर, आयोडिनयुक्त नुन प्रयोग गर्नेहरुले पनि स्वास्थ्यको मापदण्ड ख्याल नगरी बढी प्रयोग गरिरहेको पाइएको छ ।

साल्ट ट्रेडिङका प्रमुख चौधरीका अनुसार हरेकका भान्सामा दुई बालबालिका चिन्ह अंकित प्याकेटको आयोडिन नुन पु¥याउने प्रयासमा नेपाल सरकार अग्रसर भइरहदा समेत भारतबाट आउने खुला नुनले नेपाली भान्सामा रजाई गरिरहेकोछ ।

भारतीय बजारमा सस्तोमा पाइने नुन भारतको राजिस्थान क्षेत्रको खानयोग्य नहुने नुन हो । उनले भने त्यसलाई विस्थापन गर्न अझै आयोडिनयुक्त ढिका नुन उत्पादन गरेर विक्रि वितरण गर्नुपरिरहेको बाध्यात्मक अवस्था छ ।

हामीले भारतीय नुन विस्थापनका लागि ढिके नुनमै आयोडिन मिसाएर बेचिरहेका छौं । तर, पनि उपभोक्ताले भारतीय सस्तो नुन प्रयोग गरिरहेकाछन् । त्यो स्वास्थ्यका लागि घातक हो । प्रमुख मनोजले भने –‘ढिके नुन खाँदै नखाऔं । आयोडिनयुक्त नुन पाकिसकेको खानेकुरामा पछिबाट हालेर खाँदा नुनमा रहेको आयोडिन नष्ट हुदैन त्यसैले नुनको मापदण्डका बारेमा सबैले बुझ्न जरुरी छ ।’

सरकारले नेपाल साल्ट ट्रेडिङ कर्पोरेशनद्वारा उत्पादित ‘दुई बालबालिका चिह्न अंकित आयो नुन’ दैनिक रुपमा सेवन गर्न अनुरोध गर्दै आएको छ । तर, विभागले ढिके नुनको आयात बन्द गर्न साल्ट ट्रेडिङ कर्पोरेसनलाई पत्राचार गरे पनि ढिके नुनको आयात र प्रयोगलाई प्रतिवन्ध लगाउन सकिएको छैन । यो सबै भारतीय बजारबाट भित्रिने गुणस्तरहीन नुनकै कारण यस्तो भएको हो प्रमुख मनोजले बताए ।

नेपालीहरुमा नुनको प्रयोगको सामान्य ज्ञान समेत नहुँदा आयोडिनको कमी र बढिका कारण विभिन्न स्वास्थ्य समस्या भोग्नुपरेको नगर स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए ।

अधिक मात्रामा नुन सेवन गर्दा प्रशोधित खानेकुरामा राखिने नुनले पेटमा क्यान्सरसमेत हुन सक्ने, मापदण्डभन्दा बढी नुन सेवन गर्दा मुटुरोग, मस्तिष्कमा समेत असर पु¥याउँछ चन्दले भने–‘धेरै नुन सेवनले शरीरका रसायनहरुमा असन्तुलन भइ मृत्युसमेत हुनसक्छ । आवश्यकताभन्दा बढी नुनको सेवन गर्नेहरूमा पक्षघात, हृदयाघात, मधुमेह जस्ता रोगको खतरा बढ्छ ।’

यस्तै चन्दले बढी नुन सेवनले मिर्गौलामा क्याल्सियमको मात्रा बढ्नुका साथै पत्थरीको समस्या हुन्छ । नुनको अत्याधिक सेवनले हात, खुट्टा, अनुहार सुन्निन पनि सक्ने भन्दै यसको मापदण्ड, प्रयोगका बारेमा सबै जागरुक हुनुपर्ने बताए ।

उक्त कार्यक्रममा स्वास्थ्य मापदण्डअनुसार एकजनाले दैनिक ५ ग्रामभन्दा कम नुन प्रयोग गर्नुपर्ने भएपनि नेपालको सन्दर्भमा प्रतिदिन औसतमा ९.१ ग्राम नुन प्रयोग गर्दै आएको पाइएको छ । हालै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नसर्ने रोगको जोखिम कारक हेर्ने ‘स्टेप सर्भेक्षण २०१९’ मा यो तथ्य प्रकाशमा आएको बताइएकोछ ।

ढिके नुनमा आयोडिनको मात्रा न्यून हुने र यसलाई पखालेरमात्र प्रयोग गर्दा थोरै मात्रामा रहेको आयोडिन पनि पखालिने नगर स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेत बताउँछन् ।

यस्तै आयोडिनको कमीले गर्भमा रहेको बच्चा खेर जाने, जन्मिएका शिशु पनि शारीरिक र मानसिक रूपमा पूर्ण रूपले विकास नहुने पाइएको निरीक्षक बस्नेतले बताए ।
मानिसलाई दैनिक रूपमा कम मात्रामा चाहिने तर, नभइ नहुने पोषक तत्व आयोडिन भएकाले आयोडिनयुक्त नुन प्रयोग गर्नुपर्ने उनको सुझाव छ ।

पत्रकार तथा सरोकारवालासंग गरिएको अन्तरक्रिया कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका तेज ओलीले आयोडिनको महत्व र आवश्यकताबारे प्रस्तुतिकरण दिँदै अहिले पनि ११.९ प्रतिशतले ढिके नुन र ४.१ प्रतिशतले खुलारुपमा विक्रिका लागि राखिएको नुन प्रयोग गरिरहेको तथ्यांक प्रस्तुत गरे ।

आयोडिनको कमीले गलगाँड, शारीरिक र मानसिक रूपमा अशक्त हुने जस्ता समस्या निम्त्याउँछ । आयोडिनको कमीबाट हुने स्वास्थ्य समस्याको उपचार नरहेको भन्दै उनले आयोडिनयुक्त नुनमात्रै खान सबैलाई आग्रह गरे ।

यस्तै उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष एवंम केन्द्रिय सदस्य बसन्त गौतमले आयोडिनयुक्त नुन उपभोग गर्न उपभोक्ता जागरुक र सचेत हुनुपर्ने बताए । यसका लागि उपभोक्ता जागरुक कार्यक्रम सञ्चानलमा उनले जोड दिए । आयोडिन महिना मनाउने सन्र्दभमा आयोजित उक्त कार्यक्रममा पत्रकार, स्वास्थ्य क्षेत्रका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।

स्मरण रहोस् आयोडिनको कमी भएर शारिरीक वा मानसिक रुपमा विकृति देखा परिसकेपछि त्यसलाई कुनै उपचारबाट हटाउन सम्भव छैन ।