पुरानै लयमा फर्किदै नेपालगन्जका होटल व्यवसाय


पुरानै लयमा फर्किदै नेपालगन्जका होटल व्यवसाय

नेपालगन्ज १४ फागुन : कोरोनाका कारण लगभग शून्यमा झरेका नेपालगन्जका होटल व्यवसाय पुरानै लयमा फर्किन थालेका छन् । कोरोना भाइरस संक्रमणको जोखिमकैबिच खुला भएको बन्दाबन्दीपछि नेपालगन्जका होटल ब्यवसाय पुरानै लयमा फर्किन थालेकाहुन् ।

बन्दाबन्दी सकिएपछि होटल व्यवसायीले लिएको घर भाडामा नेपालगन्ज उद्योग वाणिज्य सङ्घले घरधनीसँग छुट गराएको थियो । यसो गर्दा नेपालगन्जका व्यवसायीमा थोरै भए पनि आर्थिक भार कम भएको होटल व्यवसायी बताउँछन् । नेपालगन्जका होटल तथा पर्यटन व्यवसाय मूलतः भारतीय पर्यटकले धानेको छ । यहाँका होटल र यीनले दिने सेवा निकै स्तरीय छन् ।

नेपालगन्ज क्षेत्रमा रहेका ठूला र आधुनिक सुविधा सम्पन्न होटलको कारोवारले विस्तारै गति लिन थालेका छन् । नेपालगन्जमा रहेको सोल्टी, स्नेह, सिद्धार्थ, सिग्नेट इन कृष्णा, सिटी प्यालेस र किचन हटलगायत सुविधा सम्पन्न होटलले विशेषतः भारतीय पर्यटकलाई नै आधार बनाएको पाइन्छ ।

बन्दाबन्दीपछि भारतीय पर्यटकको आगमन विस्तारै बढ्दै आएकोछ । यद्यपी नेपाल–भारत सीमानाका पूर्णरुपमा नखुलेकै कारण भारतीय पर्यटक नेपालगन्ज लगायत यसक्षेत्र उल्लेख्यमात्रामा आउन सकेका छैनन् । अधिकांश भारतीय पर्यटक आफ्ना साधन लिएर नेपाल आउने गरेपनि उनीहरुको सवारीसाधन नेपालगन्ज प्रवेशमा रोक भएकै कारण आउन सहज नभएको भारत बहराईचका स्थानीय ब्यापारी सत्यनारायण पटेल बताउँछन् । तर, पनि आन्तरिक पर्यटकका लागि जेनतेन व्यवसाय चलेको नेपालगन्जका व्यवसायी बताउँछन् ।

Kanti Aarogya Hospital Nepalgunj

पर्यटन गन्तव्यको केन्द्र बिन्दुलाई प्रमुख आधार बनाएर नेपालगन्ज हुँदै कैलाशमानसरोवर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्यूठानको स्वर्गद्वारी आश्रम, मुगुको रारा ताल, डोल्पाको शे–फोक्सुण्डो ताल जाने पर्यटकलाई लक्ष्य बनाएर यहाँ पाँचतारे सहितका सुविधासम्पन्न होटल खुलेका छन् ।

अझ पछिल्लो समय नेपालगन्जको होटल व्यवसायलाई पर्यटनको विकाससँग जोड्न नेपालगन्जमा भर्खरै खोलिएका मेरो प्लानेट, फनपार्क, वाटरपार्क, रानी तलाउ, नेपालगन्ज पार्क, बागेश्वरी मन्दिर, बर्दियाको ठाकुरबाबा, कान्तिताल पर्यटकीय क्षेत्रको विकास र विस्तार गरिएपछि आन्तरिक तथा बाह्र पर्यटकको चहलपहल हुन थालेकोछ ।

यसैबीच नाटा नेपालले बर्दिया राष्ट्रिय निकुञ्जसम्म नेपालगन्जबाट पर्यटक बससमेत सञ्चालनमा ल्याएकोछ । केही दिनअघिमात्रै नाटाले नेपालगन्जदेखि पोखरा सम्मको सीता एरको विमान चार्टड गरि नेपालगन्ज पोखरा उडानको नयाँ सम्भावनालाई उजागार गरेकोछ ।

होटल व्यवसायी सङ्घ, बाँकेका अध्यक्ष भीमप्रसाद कँडेलका अनुसार एक दशकयता नेपालगन्ज क्षेत्रलाई लक्षित गर्दै पाँचतारे, चारतारे र तीन तारेसहितदर्जन बढी सुविधा सम्पन्न होटल सञ्चालनमा आएका छन् ।

‘पछिल्लो समय लगभग थला परेको अवस्थामा पुगेका नेपालगञ्जका ठूला मात्र हैन स–साना होटल र पर्यटन व्यवसायले पनि अहिले गति लिन थालेका छन्’, उनले भने ।
अध्यक्ष कँडेलका अनुसार नेपालगन्जमा ठूला तथा स्तरीय होटल तथा पर्यटन व्यवसायमा पछिल्लो पाँच वर्षयता करीब रु पाँच अर्बभन्दा बढी लगानी भएको छ ।

सुदूरपश्चिम छुट्टै प्रदेश हुनु र मध्यपश्चिम क्षेत्र प्रदेश नम्बर ५ र यसको राजधानी बुटवल हुनुले नेपालगन्जमा ठूलास्तरका कार्यक्रम नहुँदा लगानी डुब्ने चिन्ताले होटल व्यवसायीलाई सधैं पिरोल्दै आएको थियो ।

साविकको सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलको व्यापारिक तथा अन्तरराष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाको केन्द्रका रुपमा रहेको यहाँका होटल व्यवसायी राज्यको नयाँ शासकीय संरचनाले पारेको अप्ठ्यारोबाट उम्कन नपाउँदै उनीहरुलाई ११ महिनाको लकडाउनले थप कठिन मोडमा पु¥याइदिएको छ ।