जङ्गलमै अलपत्र स्लेट खानी


जङ्गलमै अलपत्र स्लेट खानी

म्याग्दी २२ फागुन : घर छाउने ढुङ्गा, स्लेट र जडीबुटीको प्रचुर सम्भावना भएको म्याग्दीको रुम गाउँ सरोकारवाला निकायको बेवास्ताका कारण ‘भिल्लाको देशमा मणि’को नियति भोग्न बाध्य भएको छ ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ मा पर्ने रुम गाउँको सिरानमा रहेको डुडे लेकमा घर छाउनी ढुङ्गा, स्लेट र औषधिजन्य जडीबुटीको खानी नै भए पनि त्यबाट स्थानीय सरकारले पर्याप्त लाभ लिन भने सकेको छैन ।

गाउँको शिरानमा रहेको भीरालो पाखोमा विदेशबाट आयातित संगमर्मरभन्दा पनि स्तरीय स्लेट ढुङ्गा खानी रहेको छ । सो ढुङ्गा खानीलाई व्यवस्थितरुपमा सञ्चालन गर्ने हो भने स्थानीयले रोजगारी पाउनुका साथै गाउँपालिकालाई समेत मनग्गे आम्दानी हुने स्थानीय टेकबहादुर रोकाले बताए । ‘यहाँको स्लेट र ढुङ्गा गुणस्तरका हिसाबले साह्रै उत्कृष्ट छ । प्रविधि र प्रशोधनको व्यवस्था हुनसक्ने हो भने अन्तर्राष्ट्रिय बजारमा समेत यहाँको स्लेट अब्बल ठहरिने सम्भावना हुँदाहुँदै पनि सरोकारवाला निकायले ध्यान दिन सकेको छैन’, रोकाले भने ।

रुमका विभिन्न सात ठाउँमा स्लेट खानी रहेका छन् । त्यसबाहेक व्यक्तिगत जग्गा र पाखोमा समेत स्लेट खानी रहेका स्थानीय जगबहादुर पुनले जानकारी दिए । उनका अनुसार सरकारी पाखोमा रहेका खानीबाट वडालाई अलिअलि आम्दानी हुने गरेको भए पनि ती खानीलाई व्यवस्थापन गर्न नसक्दा ठूलो राजस्व गुमेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

रुम स्लेट र जडीबुटीका लागि महत्वपूर्ण ठाउँ भएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । यहाँ रहेका सम्पदाको पहिचान र व्यवस्थापन गरी तिनीहरुलाई स्थानीय तहको आयसँग जोड्ने प्रयास भइरहेको उनले बताए ।

केही वर्ष अघिसम्म म्याग्दी, पर्वत, बागलुङ, कास्की, स्याङ्जा, अर्घाखाँचीलगायतका जिल्लाका विभिन्न गाउँबाट यहाँका घर छाउने ढुङ्गाको माग आउने गर्दथ्यो तर हिजोआज पक्की घर निर्माण गर्ने क्रम बढ्दै गएपछि म्याग्दीबाहेक अन्य जिल्लाबाट माग आउन छोडेको विगत ४० वर्षदेखि खानीबाट ढुङ्गा निकाल्दै आएका ७२ वर्षीय छेमबहादुर विकले बताए । -रासस