प्रतिदिन १७ करोड लिटर पानी सुन्दरीजलमा आइपुग्ने
नेपालगन्ज २२ फागुन : करिब दुई दशकपछि बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल आइपुगेको छ ।
आयोजना निर्माण थालिएको करिब दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी सुरूङमार्ग हुँदै शनिबार काठमाडौंस्थित सुन्दरीजलमा आइपुगेको हो ।
मेलम्चीको पानी सुन्दरीजल आगमनको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बेलुका फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटम थिचेपछि फागुन १० गते सुरुङमा हालिएको पानी सुन्दरीजलमा झरेको छ । सुरुको पानी फोहोरसहित पानी आउने भएकाले बागमती नदीमा खसालिएको छ ।आयोजनाको मुहानबाट सुरूङमार्ग साढे २६ किलोमिटर लामो छ ।
यसअघि गएको असारमा पहिलोपटक गरिएको परीक्षण असफल भएको थियो । सुरूङ हुँदै आएको मेलम्चीको पानी यही केन्द्रमा प्रशोधन गरी काठमाडौं उपत्यकामा वितरण गरिनेछ ।
अहिले भने परीक्षणका लागि प्रतिसेकेण्ड २६० लिटर पानी मात्रै हालिएको छ । परीक्षण सफल भएपछि प्रतिदिन १७ करोड लिटर पानी सुन्दरीजलमा आइपुग्ने आयोजनाका अधिकारीहरूले जानकारी दिएका छन् । सुरुङमा पानी प्रवाह सफल भए अबको तीन महिनाभित्र काठमाडौं उपत्यकामा वितरण प्रणाली विस्तार गरिएको स्थानका नागरिकले मेलम्चीको पानी प्रयोग गर्न पाउनेछन् ।
बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल आइपुगेपछि प्रधानमन्त्री ओलीले आज लामो सपना पुरा भएको भन्दै केही दिनमा घरघरमा पानी आउने दाबी गरे । उनले भनेका छन्, ‘काठमाडौंबासीका लागि एउटा ग्यारेन्टी भयो, काठमाडौंमा पानी झ¥यो । केही दिनमा वितरण हुने भयो ।’
मेलम्ची खानेपानी आयोजनाको कुरा चल्दा आफ्नो कपाल कालै रहेको, तर, काम सम्पन्न हुँदा कतै कालो बाँकी नरहेको चर्चा गर्दै उनले भने, ‘यो खुसीको दिन हो । जतिबेर पायो, त्यतिबेर लड्डु खाने होइन । यस्तो बेलामा खाने हो ।’
उनको कटाक्ष नेकपा प्रचण्ड–माधव समूहतिर थियो, जसले प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरेको दिन खुसी साट्दै लड्डु खाएका थिए ।
मेलम्चीमा लामो समयको प्रतिक्षा पुरा भएको भन्दै उनले केही दिनमा धारामा पानी आउने बताए । यसअघि काम गर्न दिएनन्, आफ्नै पार्टीबाट असहयोग भयो भन्नुपरेको भन्दै उनले भने, ‘अब त प्रमाणित भयो होला नि । दिनैपिच्छे ठूलठूला काम भएका छन् । कही उदघाटन भएका छन्, कहि शिलान्यास भएका छन् ।’
काठमाडौंलाई पानी दिएकोमा मेलम्ची, हेलम्बु र सिन्धुपाल्चोकबासीलाई उनले धन्यवाद दिए ।