बंगलादेशबाट ल्याइएको रासायनिक मल ४१ वटा कार्यालयबाट बिक्री हुने


बंगलादेशबाट ल्याइएको रासायनिक मल ४१ वटा कार्यालयबाट बिक्री हुने

नेपालगन्ज २८ फागुन : कृषि सामाग्री कम्पनीले आयात गरेको मल कम्पनीको सातै प्रदेश अन्तर्गत ४१ वटा कार्यालयबाट बिक्री गर्ने जनाएको छ ।

कृषि मन्त्रालयले पहिलो लटमा आएको मल शुरुमा तराईका जिल्लाहरुमा बिक्री गर्ने योजना सार्वजनिक गरेको थियो । खेतीपातीको सिजन भएकाले मलको आवश्यकता सबै जिल्लाहरुमा हुन्छ । त्यसैले मिलाएर देशभर नै बिक्री गर्ने कृषि सामाग्रीका प्रवक्ता विष्णु पोखरेलले बताए ।

नेपाल सरकारले बंगलादेशबाट ‘जीटुजी’ मार्फत खरिद गरेको रासायनिक मलको पहिलो खेप वीरगंज आइपुगेको छ । ५० हजार मेट्रिक टनमध्ये २५ सय ४० मेट्रिक टन वीरगंज भन्सारमा आइपुगेको कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ ।

गत पुस २ गते नेपाल र बंगलादेशबीच ५० हजार मेट्रिक टनको मलका लागि सम्झौता भएको थियो । उक्त खरिद सम्झौताको मल नेपाल भित्रिएको हो । बंगलादेश केमिकल इन्ड्रस्ट्रिजसँग नेपालले सरकारी तहबाट मल खरिदको सम्झौता गरेको थियो । खाँचो परेका बेला सम्झौता गरिए पनि तत्कालै बंगलादेशले पठाएको थिएन ।

Kanti Aarogya Hospital Nepalgunj

सम्झौताको करिब तीन महिनापछि बंगलादेशी मल नेपाल भित्रिन शुरु भएको हो । ‘२५ सय ४० मेट्रिक टन मल मंगलबार बेलुका वीरगंज भन्सारमा आइपुगेको छ । यो पहिलो लट हो,’ कृषि सामाग्रीका प्रवक्ता पोखरेलले भने, ‘केही गाडीहरू कोलकाताबाट हिडिँसकेकाले थप मल चाडै नै नेपाल आइपुग्छ ।’

पहिलो लट कोलकाता हुँदै नेपाल आइपुगेको हो । कोलकाता बन्दरगाहबाट बोराबन्दी गरेरमात्र नेपाल ल्याइएको जानकारी प्रवक्ता पोखरेलले दिए । ‘नेपालले गरेको खरिद सम्झौताअनुसारको मल अब सबै नै बिस्तारै भित्रिनेछ,’ उनले भने ।

त्यस्तै कम्पनीले ५ हजार मेट्रिक टन मल बिराटनगर भन्सारबाट पनि भित्र्याएको छ । उक्त नाकाबाट पनि मंगलबार बेलुका ६ वटा ट्रकमार्फत २ सय मेट्रिक टन मल भित्रिएको जानकारी पोखरेलले दिए ।

‘विराटनगरबाट पनि क्रमिक रूपमा मल आइरहेको छ,’ उनले भने । नेपाल भित्रिने मल ठूलो परिमाणमा वीरगंज भन्सार भएरै आउनेछ ।

कम्पनीले दोस्रो चरणका लागि पनि प्रक्रिया सुरु गरिसकेको जनाएको छ । कम्पनीका अनुसार दोस्रो चरणमा १० हजार मेट्रिक टन र तेस्रो चरणमा १७ हजार ५ सय मेट्रिक टन आयात गर्ने तयारी गरेको छ । तेस्रो चरणको मल आयात हुन भने केही समय लाग्ने भएको छ । कम्पनीले उक्त मल चैत लागेपछि मात्रै भित्रिने जनाएको छ ।

वीरगंजमा मल रेलमार्फत आइपुगेको कृषि सामाग्रीका प्रदेश २ प्रबन्धक गोरखनाथ केसीले बताए । ‘सुक्खा बन्दरगाहमा आइपुगेको रासायनिक मल भन्सार प्रक्रिया पूरा भई वितरणका लागि कम्पनीको गोदाममा ल्याउने तयारी भइरहेको छ,’ केसीले भने । युरिया मलमध्ये ५ हजार ६ सय मेट्रिक टन विराटनगर, ७ हजार ८ सय मेट्रिक टन भैरहवा र ९ हजार मेट्रिक टन वीरगंजबाट बिक्री वितरणको योजना छ ।