अर्थ मन्त्रालयद्वारा सिलिङ्गभित्र रहेर बजेट प्रस्ताव गर्न आग्रह


अर्थ मन्त्रालयद्वारा सिलिङ्गभित्र रहेर बजेट प्रस्ताव गर्न आग्रह

काठमाडौं २ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि पूर्व निर्धारित समयमा सिलिङ्गभित्र रहेर बजेट प्रस्ताव गर्न मन्त्रालयहरुलाई आग्रह गरेको छ ।
अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणका आधार र मार्गदर्शनबारे जानकारी गराउँदै सोमबार यस्तो आग्रह गरेको हो ।

सबै मन्त्रालयका सचिवलाई बोलाएर अर्थ मन्त्रालयले बजेट निर्माणका विषयमा छलफल गर्दै मन्त्रालयले बजेटमा नयाँ कार्यक्रम प्रस्ताव नगर्न अरु मन्त्रालयका सचिवहरुलाई समेत आग्रह गरेको छ ।

अहिले राष्ट्रिय योजना आयोगले उपलब्ध गराएको बजेट सिलिङको आधारमा मन्त्रालयलहरुले आफ्नो वार्षिक नीति तथा कार्यक्रम र बजेट बनाइरहेका छन् । यसै क्रममा अर्थ मन्त्रालयले सचिवलाई बोलाएर नयाँ कार्यक्रममा बजेट नराख्न भनेको हो । सरकारको मितव्ययीता नीतिमा समेटिएका प्रावधानलाई ख्याल गर्न समेत अर्थ मन्त्रालयले सचिवहरुलाई आग्रह गरेको छ ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर कृष्णप्रसाद ओलीले बजेट निकासामा अर्थ मन्त्रालय थप सरलिकृत गर्न जरुरी रहेको बताए । मुख्य सचिव शंकरदास बैरागीले बजेटमा रचनात्मक छलफलबाट कार्यान्वयनमुखी बजेट आउने बताए । उनले बजेट कार्यान्वयन म्याट्रिक्स बनाउन पनि जरुरी रहेको धारणा व्यक्त गरे ।

Kanti Aarogya Hospital Nepalgunj

अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले कार्यक्रमहरुको राम्रोसँग विश्लेषण गरी बजेट प्रस्ताव गर्न जरुरी रहेको उल्लेख गर्दै सिलिङलाई प्रभावकारी बनाउन आग्रह गरे । राजस्व सचिव रामशरण पुडासैनीले आवश्यकताका आधारमा बजेट बनाउनु पर्ने भन्दै राजस्व बढाउने कार्यक्रमलाई पनि ध्यान दिन जरुरी रहेको बताए ।

अर्थमन्त्रीका आर्थिक सल्लाहकार डाक्टर प्रकाशकुमार श्रेष्ठले एकातिर बजेट खर्च भएन भन्ने र अर्कीतिर स्रोत पुगेन भन्ने जस्ता विरोधाभाष हटाउने गरी काम गर्नुपर्ने बताए । बजेट तथा कार्यक्रम महाशाखा प्रमुख धनीराम शर्माले चालु आर्थिक वर्षको कार्य सम्पादनलाई पनि आधार बनाउनु पर्नेमा जोड दिँदै मितव्ययिता सम्बन्धी मापदण्ड पालना गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा सचिवहरुले संघ, प्रदेश र स्थानीय तहको बजेटमा समन्वय हुनुपर्ने, नीति तथा कार्यक्रम र बजेटबीच तालमेल हुनुपर्ने, दोहोरी पन हटाउनु पर्ने, प्राथमिकता निर्धारण गर्नुपर्ने लगायतका सुझाव दिएका थिए ।

अर्थ मन्त्रालयका प्रवक्ता सुमन दाहालका अनुसार मन्त्रालयहरुले यही चैत्र १५ गतेभित्रमा अर्थ मन्त्रालयमा बजेट प्रस्ताव गर्नुपर्ने कार्यतालिका रहेको छ । अर्थ मन्त्रालयले नयाँ–नयाँ भवन निर्माण र सवारी साधन खरीद गर्न बजेट नछुट्याउन र अनिवार्य सहभागी हुनुपर्नेबाहेक वैदेशिक भ्रमणमा बजेट नरख्न पनि भनेको छ ।

वैदेशिक सहायतामा सञ्चालनमा रहेका आयोजना तथा कार्यक्रममा पर्याप्त बजेट राख्न भनिएको छ । त्यस्तै राष्ट्रिय गौरव तथा प्राथमिकता प्राप्त आयोजनामा पनि धेरै बजेट राख्न भनिएको छ ।

अर्थ मन्त्रालयले कोरोना भाइरस महामारीपछिको पुनरुत्थान कार्यक्रममा बजेट विनियोजन गर्न मन्त्रालयहरुलाई आग्रह गरेको छ ।

त्यसैगरी बजेट निर्माणका मार्गदर्शनहरुमा दीर्घकालिन नीति, आवधिक योजना, वार्षिक नीति तथा कार्यक्रम र बजेटका बीच अन्तर आबद्धता कायम गर्ने, अनिवार्य दायित्वमा पुग्दो रकम प्रस्ताव गर्ने, पूर्व सहमति दिइएका विषयमा दायित्व अनुमान गरी सिलिङ्ग भित्र विनियोजन प्रस्ताव गर्ने लगायतका छन् ।