नेपालगन्ज २ चैत : अनुमति बेगर बिभिन्न कम्पनीले मनोमानी रुपमा बिद्युत पोलमा विज्ञापन राख्दै आएको बिषय प्रति बासले नेपाल बिद्युत प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।
विद्युत पोलमा विज्ञापन पेन्ट गर्नु अथवा झुण्ड्याउनु अघि सम्वन्धित सरोकारवालसँग अनुमति लिनु पर्ने भए पनि अनुमति नलिई नेपालगन्जका हरेकजसो बिद्युत पोलमा विभिन्न रङले विज्ञापन पोतेको पाइएपछि बासले प्राधिकरणको ध्यानाकर्षण गराएको बासका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी दिए । उनले नेपाल बिद्युत प्राधिकरण, नेपालगन्ज बितरण केन्द्रका प्रमुखलाई भेटेर ज्ञापन पत्र बुझाएका हुन् ।
कुनै पनि पोल नछुट्टाई सडक नै कुरूप हुने गरि पोल–पोलमा मनपरी ढंगले विज्ञापन गर्दासमेत प्राधिकरणको ध्यान नगएको प्रति बास गम्भीर भएको उक्त ज्ञापन पत्रमा उल्लेख छ ।
नेपालका प्रतिष्ठित कम्पनीबाट नै नियमको उल्लङ्घन गरि मनोमानी तवरले विज्ञापन राख्न थालेपछि अन्य व्यवसायिक प्रतिष्ठानले समेत आफ्नो व्यवसायिक विज्ञापन सार्वजनिक स्थानमा राख्ने होडबाजी चल्न सक्ने सम्भावना बढेर गएको बिज्ञप्तीमा भनिएको छ ।
ज्ञापन पत्र बुझेपछि कार्यालय प्रमुख लखनलला मल्लिकले पोलमा केबुलको लाईन तान्ने बाहेक बिज्ञापनका लागि अनुमित दिने कुनै प्रावधान नभएकाले तत्काल अनाधिकृत बिज्ञापन हटाउन सम्बन्धित निकायलाई पत्राचार गरिने प्रतिबद्धता जनाएको शाहले जानकारी दिए ।
बिद्युत पोलमा गरिएको अनाधिकृत विज्ञापनका विषयमा आम सञ्चार माध्यममा समाचार सार्वजनिक हुँदा समेत कार्यालयबाट ठोस कार्वाहीका लागि आवश्यक पहल नहुनु दुःखद कुरा भएको उल्लेख गर्दै ज्ञापनपत्रमा भनिएको छ –‘विज्ञापन गर्ने सजिलो माध्यम बिद्युत पोललाई बनाउँदा बजार क्षेत्रका अधिकांश बिद्युत पोल भरीभराउ भएका छन् । अतः यस बिषयमा तत्काल ठोस निर्णय लिई जथाभावी बिज्ञापन गर्ने कम्पनीलाई कानुन बमोजिम कार्वाही गर्न, पोलमा अनाधिकृत रुपमा गरिएको बिज्ञापन तत्काले हटाउने व्यवस्था मिलाउन हुन अनुरोध छ ।’