साताको तीनदिन नेपालगन्ज–पोखरा हवाई उडान


साताको तीनदिन नेपालगन्ज–पोखरा हवाई उडान

नेपालगन्ज ८ चैत : नेपालगन्ज–पोखरा–नेपालगन्ज हवाई उडान संख्या थप गरिएकोछ । योसंगै अब हप्ता तीन दिन नेपालगन्ज–पोखरा–नेपालगन्ज उडान हुने भएकोछ ।
नेपालगन्जदेखि पोखरा सोझै जोड्ने उद्देश्यले एक महिना अघिदेखि शुरु गरिएको नेपालगन्ज–पोखरा–नेपालगन्ज हवाई उडानमा यात्रु संख्या बढ्दै गएपछि उडान संख्या थप गरिएको हो ।

यसअघि पोखरा जाने र फर्कने पर्यटक यात्रुको सङ्ख्या बढेपछि सातामा दुई दिन शुक्रबार र आईतबार हुँदै आएको उडानलाई थप गरेर बुधबार पनि शुरु गरिएको नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट नाट्टा बाँकेले जनाएको छ ।

पर्यटन व्यवसायीहरुको लामो प्रयासपछि निजी क्षेत्रको पहलबाट गत फागुन ७ गतेदेखि नेपालगञ्ज–पोखरा–नेपालगन्ज चार्टर उडान शुरु गरिएको थियो ।

नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले सेतोखरीसंग कुरा गर्दै भने –‘भारतीय पर्यटकलगायत आन्तरिक पर्यटकलाई समेत पोखरा भ्रमण गराउने र उताका पर्यटकलाई बाँके र बर्दिया भ्रमण गराउने उद्देश्यले सीता एअरले उडान भरिरहेकोछ ।’

Kids Festival 2022
kanti aarogya hospital

नेपालगन्ज–पोखरा–नेपालगन्ज हवाई उडानमा पछिल्लो समय यात्रुको चाप बढ्दै गएपछि उडान थप गरिएको सिग्देलले बताए । पर्यटकको सङ्ख्या बढ्दै गएपछि आफूहरु उत्साहित भएको जनाउँदै अध्यक्ष सिग्देलले यात्रु सङ्ख्या हेरेर उडान अझैँ थप गर्दै लग्ने बताए ।

उनले बर्दिया निकुञ्ज अवलोकनसँगै भारत जाने पर्यटकहरु पोखराबाट यता आइरहेकाले बर्दियाका व्यवसायी पनि उत्साही बनेको बताए ।

कोरोनाले सबैभन्दा बढी मारमा परेको पर्यटन क्षेत्रको प्रबद्र्धनका लागि नाट्टा बाँकेले बाँके, बर्दिया, कर्णालीको मुगु, प्युठान र सुदूरपश्चिमका पर्यटकीय क्षेत्रसँग नेपालगनजलाई साझै जोड्ने अभियान शुरु गरेको सिग्देलले बताए ।

लामो समयदेखि बाँके र बर्दियाका पर्यटन व्यवसायीले नेपालगञ्ज–पोखरा र नेपालगन्ज–दिल्ली हवाई उडानका लागि प्रयास गर्दै आए पनि सरकारीस्तरबाट शुरु नगरिँदा निजी क्षेत्रबाट पोखरा उडान शुरु गरिएको हो ।

नेपालगन्ज–पोखरा–नेपालगन्ज उडान शुरु गरिएपछि पोखरा जान र फर्कन चाहने भारतीय पर्यटकहरु काठमाडौं पुगेर पोखरा जाने आउने बाध्यता अन्त्य भएको छ ।