६ वर्षपछि बन्यो धरहरा, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

बाहिरबाट हेर्दा ११ तले धरहरा भित्रबाट २५ तलाको छ


६ वर्षपछि बन्यो धरहरा, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

नेपालगन्ज ११ वैशाख : छ वर्ष अघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले ढालेको धरहरा ६ वर्षपछि निर्माण गरेर आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

देशकै महत्वपूर्ण ऐतिहासिकस्थल भूकम्पले भत्किएपछि निर्माण गर्न छ वर्ष लाग्यो । भत्किएको धरहरा यथावत् राखी छ वर्षमा नजिकै अर्को धरहरा बनेको छ ।

विसं २०७४ कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले धरहरा निर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिने निर्णय गरेको थियो । विसं २०७५ असोज १४ गते प्राधिकरणले धरहरा पुनःनिर्माण शुरु गरेको थियो । पहिलोपटक प्रधानमन्त्री बनेका बेला २०७२ फागुन ४ गते केपी शर्मा ओलीले ‘मेरो धरहरा मैं बनाउँछु’ अभियान शुरु गरेका थिए ।

भूकम्पले भत्किएपछि धरहरा क्षेत्र विस्तार भएको छ । अब धरहरा क्षेत्र ४२ रोपनी क्षेत्रफलमा फैलिने भएको छ । यस क्षेत्रमा एउटा अर्धभूमिगतसहित चार तल्ले भूकम्प र टक्सारसम्बन्धी संग्राहलय निर्माण भइरहेको छ । यहाँ ‘फूड कोर्ट’ सहितको ‘युटिलिटी ब्लक’ पनि बन्ने प्राधिकरणले जनाएको छ । धरहरा क्षेत्रमा विश्रामस्थलसहितको अत्यन्तै मनमोहक बगैँचा तथा सङ्गीतमय फोहरासमेत बन्नेछ । जसले आन्तरिक एवं बाह्य पर्यटकलाई यहाँ आकर्षित गर्नेछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

धरहराको निर्माण सकिए पनि त्यस क्षेत्रमा निर्माण हुने अन्य संरचनाको काम भइरहेको प्राधिकरणका सचिव मणिराम गेलालले जानकारी दिए ।

धरहरा क्षेत्रमा तीनतल्ले भूमिगत पार्किङको व्यवस्था गरिने छ । जहाँ ४०० गाडी र ७०० मोटरसाइकल पार्किङ गर्न सकिने छ । भीमसेन थापाले विसं १८८२ मा बनाएको धरहरा (भीमसेन स्तम्भ) लाई सिसाले छोपेर संरक्षण गरी राखिएको छ । धरहरा क्षेत्रमा रहेको ऐतिहासिक सुन्धाराको पनि संरक्षण हुन लागेको छ । सुन्धारामा २४सै घण्टा पानी आउने व्यवस्था मिलाउन लागिएको छ । धरहरा र संग्राहलय जोड्ने आकर्षक आकाशे पुल पनि निर्माण गरिने योजना रहेको सचिव गेलालले सुनाए ।

धरहरा बाहिरबाट हेर्दा ११ तलाको देखिए पनि भित्र जमिनमुनि दुई तलाको भूमिगत संरचना रहने छ । जमिनमाथि भुइँतल्लासहित २३ तला हुनेछ । समग्रमा धरहरा २५ तलाको हुने प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताए । धरहरासहित यस क्षेत्रमा निर्माण हुने संरचनाको कूल लागत रु तीन अर्ब ४८ करोड रहेको जानकारी पनि उनले दिए ।

जमिनमाथिबाट गजुरसहित धरहराको उचाइ ८३.८५ मिटर छ । भूमिगत तलासहित ९२.२५ मिटर हुन्छ । धरहराभित्र दुई लिफ्ट राखिएको छ । लिफ्टमा एक पटकमा १० जनाले यात्रा गर्न सक्ने छन् । लिफ्टका कारण वृद्धवृद्धा तथा अपाङ्गता भएकालाई धरहरा चढ्न सहज हुनेछ । धरहरामा फलामको भर्याङसमेत जडान गरिएको छ ।

धरहराबाट उपत्यकाको दृश्यावलोकनका लागि २०औँ तला बाहिर २.५ मिटर चौडाइको बार्दलीसमेत बनाइएको छ । बाइसौँ तलामा पुरानो धरहराबाट झिकी सुरक्षित राखिएको शिवलिङ्ग स्थापना गरिएको छ । धरहरामुनिको दुईतले भूमिगत संरचनामा दुईवटा ‘विद्युतीय स्वचालित भर्याङ’ बाट तलमाथि गर्न सकिने गरी संरचना तयार पारिएको छ ।

विसं. १८८२ मा महारानी ललिता त्रिपुरासुन्दरीको आज्ञामा नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापाले ६१.८८ मिटर अग्लो ११ तल्ले धरहरा बनाउन लगाउनुभएको इतिहास छ । विसं १९१३ मा बज्र (चट्याङ) ले भत्केपछि विसं १९२३ मा धरहराको जीर्णोद्धार गरिएको थियो ।

विसं १९९० माघ २ गतेको भूकम्पले भत्किएको धरहरा दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरको शासनकालमा पुनःनिर्माण गरिएको थियो । पुनःनिर्माणका क्रममा ११ तले धरहरालाई नौ तलामा सीमित गरिएको थियो ।

यो धरहराभन्दाअघि विसं. १८८१ मा थापाले नै लगनटोलमा आफ्नो नाममा धरहरा निर्माण गरेका थिए । त्यसको नाम पनि भीमसेन स्तम्भ नै राखिएको थियो । विसं १८९० मा भत्किएपछि लगनटोलको धरहरा पुनःनिर्माण नभएको ऐतिहासिक दस्तावेजमा उल्लेख गरिएको छ ।