छाङ्गरुमा सशस्त्रको भवन नौ महिनामा भुइँतला मात्रै


छाङ्गरुमा सशस्त्रको भवन नौ महिनामा भुइँतला मात्रै

दार्चुला २६ जेठः विसं २०७७ असोज ९ मा निवर्तमान गृहमन्त्री रामबहादुर थापाले व्याँसको छाङ्गरुमा सशस्त्र प्रहरीको भवन निर्माण शिलान्यास गरे। भारतले धार्चुलाहुँदै कैलाश मानसरोवर जोड्न भन्दै नेपाली भूगोल लिपुलेक हुँदै सडक निर्माणको उद्घाटन गरेपछि सरकारले वैशाख ३१ गते व्याँसमा सीमा सुरक्षार्थ सशस्त्र प्रहरी राख्ने निर्णय गरेको थियो ।

शुरूमा बोर्डर आउट पोष्ट राखेर राज्यले सीमा सुरक्षामा सरकार गम्भीर बनेको देखाएको हो । बोर्डर आउट पोष्ट राखिएको तीन महिनापछि असार २८ गते मन्त्रिपरिषद्को निर्णयअनुसार छाङ्गरूमा सशस्त्र प्रहरीको गुल्म स्थापना गर्ने निर्णय ग¥यो । सोही निर्णयअनुसार सदरमुकाम खलङ्गामा रहेको सशस्त्र प्रहरी बल नं ५० गुल्म छाङ्गरुमा स्थानान्तरण गरियो भने खलङ्गामा सशस्त्र प्रहरी बल नं ४४ गण स्थापना भयो ।

छाङ्गरूमा गुल्म नै स्थापना भएपछि सरकारले सशस्त्र प्रहरीलाई बाह्रैमास राख्ने निर्णय ग¥यो । सोही अनुसार एक वर्षभित्रै सशस्त्र प्रहरीको भवन निर्माण हुने भनियो । निर्माण व्यवसायी सुरेश चन्दले दुई महिनाभित्र भुइँतलाका २० कोठा र एक वर्षभित्र सुविधासम्पन्न ४० कोठे भवन निर्माण गर्ने बताए । तर, निर्माण शुरु गरिएको नौ महिनासम्म व्याँसमा सशस्त्र प्रहरीको जग मात्रै हालिएको छ । अहिले भवनको भुइँतलाको पिल्लरसम्म निर्माण पुगेको छ, व्याँस गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहराले भने, ‘त्यो पनि चारैतिरबाट बनेको छैन । कूल १० करोड लागतमा भवन निर्माण भइरहेको छ ।’

सरकारले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा जारी गरेपछि सशस्त्र प्रहरीलाई बाह्रै महिना त्यहाँ राखिएको हो ।
व्याँसमा सशस्त्र गएको एक वर्षभन्दा बढी हुँदा पनि सशस्त्र प्रहरी अहिले भाडाको घरमा बस्दै आएका छन् । भवन अभावले अहिले पनि जनशक्ति व्यवस्थापन गर्न समस्या भएको सुरक्षाकर्मी बताउँछन् । भवन निर्माण अझै पनि ढिलाइ भइरहेको छ । सशस्त्र प्रहरीका अनुसार यही गतिमा हो भने भवन निर्माण अझै एक वर्ष बढी लाग्न सक्छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

त्रिदेशीय सीमा क्षेत्र तिङ्करमा सशस्त्र प्रहरीको बिओपी निर्माणको काम अहिलेसम्म शुरु हुन सकेको छैन । असार मसान्तभित्रै निर्माण सक्ने गरी सम्झौता भएको बिओपी निर्माणको काम अझै शुरु भएको छैन। व्यास गाउँपालिका–१ को तिङ्कर गाउँभन्दा माथिको छायालेकमा सशस्त्र प्रहरीको बिओपी बनाउने तयारी गरिएको हो ।
चीनसँगको सीमा क्षेत्रको निगरानी गर्न सरकारले तिङ्करमा पनि सशस्त्र राख्न लागेको तर भवन दुवै ठाउँमा निर्माणमा ढिलाइ हुँदा यहाँ बस्ने सशस्त्र प्रहरीको मनोबल बढ्न नसकेको सुरक्षाकर्मी स्वयं बताउँछन् ।

तिङ्करमा छ महिनाभित्रै प्रिफ्याबको एङ्गलसहितको भवन निर्माण गर्ने सम्झौता हो । तर, यो आर्थिक वर्षमा त्यो ठाउँमा भवन बन्ने सम्भावना छैन । सरकारले तिङ्करमा बोर्डर आउट पोष्ट बनाउनका लागि एक करोड बजेटमा ठेक्का सम्झौता गरेको थियो ।

दुवै ठाउँका भवन निर्माणमा निर्माण व्यवसायीले चासो दिएको छैन । निर्माण व्यवयासीले भवन निर्माणमा चासो नदिँदा दुवै ठाउँमा ढिलाइ भएको हो । ‘एउटा चिसो मौसम भाडाकै भवनमा आगो तापेर काटियो, एक सुरक्षाकर्मीले भने, ‘अर्को चिसोयाम आउँदासम्म भवन निर्माण हुने अवस्था देखिँदैन ।’ गत कात्तिकयता यो ठाउँमा उच्च पदस्थले समेत भ्रमण गरेका छैनन् । शुरूमा खाद्यान्न लगायतका सामग्री सबै हेलिकोप्टरमार्फत ढुवानी गरियो। कात्तिकपछि हेलिकोप्टर आउनै छोडेको छ ।

केही दिनअघि नेपाल प्रहरीको खाद्यान्न र बन्दोबस्ती हेलिकोप्टरमार्फत ढुवानी भयो, हाम्रो लागि अझै सरकारले हेरेको छैन । अहिलेसम्म भारतबाट खाद्यान्न ढुवानी गरेर खानुपर्ने बाध्यता छ । सरकारी उदासीनताले हामीलाई यो क्षेत्रमा काम गर्न निकै समस्या हुन थालेको छ । अहिले व्याँसमा रहेका सशस्त्र प्रहरीले व्यवहारिक रूपमा भारतबाटै खाद्यान्न ढुवानी गरेर खानुपर्ने अवस्था छ ।

यसैबीच प्रहरीले चिसोयाम कम हुँदै गएपछि आफ्नो क्षेत्रभित्र नियमित गस्ती गर्न थालेको छ । केही दिनअघि कालापानी नजीकैको क्षेत्रमा गस्तीमा निस्किएको सशस्त्र प्रहरी बुधबार तिङ्कर गाउँ पुगेको छ । छाङ्गरुबाट तिङ्कर पुग्न चार घण्टा बढी समय लाग्छ । ‘नियमित गस्तीमा गएका हौं’, अर्का सुरक्षाकर्मीले भने, ‘गाउँभन्दा माथि अहिले जाँदैनौँ । असार तिर नेपाल चीन सीमा बोर्डरसम्म जान्छौँ ।’ -रासस