बसमा आगाे लगाएर आत्मदाह प्रयास

ट्राफिकसँग विवादपछि चालकले लगाएका थिए आफैलाई बसभित्र हुलेर आगो 


सेतोखरी सेतोखरी   १४ मिनेट अगाडि
ट्राफिकसँग विवादपछि चालकले लगाएका थिए आफैलाई बसभित्र हुलेर आगो 

काठमाडौं। त्रिपुरेश्वरमा आफूले चलाइरहेको बसभित्र आफैलाई थुनेर आगो लगाउनुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद भएको खुलेको छ। काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको भवनअघि सोमबार दिउँसो सार्वजनिक बसका एकजना चालकले बसभित्रै आगो लगाएर आत्मदाह प्रयास गरेका थिए। 

हाल गम्भिर अवस्थामा कीर्तिपुर जलन अस्पतालमा उपचार गराइरहेका २५ वर्षीय चालक दावा लामा र ट्राफिक प्रहरीबीच भएको विवादका सिसिटिभी फुटेज सार्वजनिक भएपछि यस्तो खुलेको हो। उनी काभ्रेको पनौती निवासी हुन्। 

त्यही विवादकै क्रममा उनले ‘म मर्न तयार छु, जे गर्छ गर, मेरो गल्ती केही छैन’ भनेका छन्। उनले आफ्नो कुनै पनि गल्तीबिना ट्राफिक प्रहरीले ‘किन यस्तो गरेकोरु’ भनेर त्यहाँ पुगेका एकजना सशस्त्र प्रहरीसँग पनि भनेका छन्। 

तर उपत्यका ट्राफिक कार्यालयलयले भने विवरणहरूमा उनलाई कारबाही गरेको नदेखिएको दाबी गरेको छ। 

यसबीचमा उक्त घटना के कति कारणले भयो भन्नेबारेमा प्रहरीले छानबिन अघि बढाएको छ। उपत्यका प्रहरी कार्यालयका एसएसपी रमेश बस्नेतको संयोजकत्वमा छानबिन समिति बनाएको हो। समितिले पाँच दिनभित्र छानबिन प्रतिवेदन बुझाउनेछ। 

आफूले चलाउँदै आएको बा ५ ख ४२७४ नम्बरको बसभित्र आफू हुलिएर चालक लामाले बसमा आगो झोसेका थिए। यो काठमाडौं उपत्यकाभित्र यात्रु बोक्ने ऋद्धिसिद्धि यातायात प्रालिको सार्वजनिक बस हो। 

प्रहरीका अनुसार घाइते लामाको अवस्था गम्भिर छ। बसमा उनिबाहेक अरु स्टाफहरू कुनै पनि यात्रु थिएनन्। बस रित्तो थियो। 

यसअघि महानगर प्रहरीले एउटा माेटर साइकलमा लक लगाइदिएपछि माोटरसाइकल धनी गणेश नेपालीले गत असारमा त्यही ठाउँमा आत्मदाह प्रयास गरेका थिए। उपचारका क्रममा उनकाे मृत्यु भएकाे थियाे।