भित्र आफू हुलिएर २५ वर्षे चालकले किन लगाए बसमा आगो?


सेतोखरी सेतोखरी   ३३ मिनेट अगाडि
भित्र आफू हुलिएर २५ वर्षे चालकले किन लगाए बसमा आगो?

काठमाडौं। सोमबार बिहान करिब १२ बजेतिर काठमाडौंको ‘मूलचोक’ मानिने त्रिपुरेश्वर निकै व्यस्त थियो। ट्राफिक प्रहरी आफैलाई हम्मेहम्मे यो चोकको सडक छेउमा रोकिराखेको एउटा बसमा एकाएक धुँवा पुत्तायो। 

प्रहरी त्यहाँ पुग्दा नपुग्दै त्यो बस दनदनी बल्न थालिसकेको थियो। प्रहरीले दमकल बोलायो अनि आगो निभाउन थाल्यो तर बसभित्र एकजना व्यक्ति थिए। प्रहरीले उनलाई बाहिर निकाल्दा लगभग आधा जलिसकेका थिए। हतार हतार प्रहरीले उनलाई कीर्तिपुरस्थित बर्न अस्पताल पुर्‍यायो। 

केहीबेरपछि प्रहरीले पत्ता लगायो ती व्यक्ति त्यही बसका चालक थिए( २५ वर्षीय दावा लामा। 

आफूले चलाउँदै आएको बा ५ ख ४२७४ नम्बरको बसभित्र आफू हुलिएर उनले बसमा आगो झोसेका थिए। यो काठमाडौं उपत्यकाभित्र यात्रु बोक्ने ऋद्धिसिद्धि यातायात प्रालिको सार्वजनिक बस हो। 

प्रहरीका अनुसार घाइते लामाको अवस्था गम्भिर छ। बसमा उनिबाहेक अरु स्टाफहरू कुनै पनि यात्रु थिएनन्। बस रित्तो थियो। 

आफै भित्र हुलिएर चालकले आफै किन बसमा आगो झोसे? प्रहरीले यसको यकीन कारण अझै खोलिसकेको छैन। काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख दिलीप घिमिरेले घटनाबारे अनुसन्धान भइरहेको भन्दै अहिले नै केही भन्न नसकिने बताए।