‘क्रियाशील विवाद हल गरेर छिट्टै महाधिवेशन हुन्छ’


‘क्रियाशील विवाद हल गरेर छिट्टै महाधिवेशन हुन्छ’

नेपालगन्ज ३० जेठ : नेपाली काँग्रेसका नेताहरूले क्रियाशील सदस्यता वितरण तथा नवीकरण र उत्पन्न बिबाद समाधान गरेर छिट्टै महाधिवेशन हुने बताएका छन् ।

नेपाल तरूण दल अर्घाखाँची काठमाडौंले शनिबार गरेको भर्चुअल कार्यक्रममा बोलेका केन्द्रीय सदस्य मीनेन्द्र रिजालले पार्टीले क्रियाशील सदस्यता टुंग्याएर महाधिवेशनमा लाग्नुपर्ने बताएका छन् ।

‘क्रियाशील टुंग्याएर अब महाधिवेशनमा पार्टी लाग्नुपर्छ,’ उनले भने। कांग्रेसले लामो समयसम्म क्रियाशील वितरण नगरेकोले धेरै संख्यामा क्रियाशील लिने आवेदन पर्नु स्वभाविक भएको उनको भनाइ थियो ।

‘काँग्रेसले लामो समयसम्म क्रियाशील सदस्यता नदिएको कारण क्रियाशील सदस्यता लिनेक्रम बढेको छ, न्यायोचित रुपमा क्रियाशील सदस्यता विवाद टुङ्गाउनुपर्छ,’ उनले भने ।

Kids Festival 2022
kanti aarogya hospital
add

अर्का केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले पार्टीको विधानअनुसार पार्टी सञ्चालन भएको भए काँग्रेसभित्र अहिलेको समस्या नआउने बताए ।

‘पार्टी सभापतिले नै समयमा महाधिवेशन हुने विज्ञप्ती जारी गरिसकेको अवस्थामा महाधिवेशन हुँदैन भनेर अल्मलिने अवस्था छैन,’ उनले भने ।

साथै केन्द्रीय सदस्य पुष्पा भुसालले वर्तमान सरकारबाट लोकतन्त्र र संविधानमाथि प्रहार हुन खोजेको आरोप लगाउँदै यसको रक्षाका लागि काँग्रेस जुट्नुपर्ने बेला आएको बताएकी छन् ।

‘लोकतन्त्र र संविधानको रक्षाका लागि काँग्रेसले अरु दलसँग सहकार्य गर्न लागेको हो,’ उनले भनिन् । अब महाधिवेशनको काममा लाग्नुपर्ने पनि उनको धारणा थियो ।

अर्का केन्द्रीय सदस्य जीवन परियारले निर्धारित समयमा नै काँग्रेसको १४ औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने बताए। उनले अहिले काँग्रेस अप्ठ्यारो अवस्थामा भएको जनाउँदै यसबारे पार्टी नेतृत्व गम्भीर हुनुपर्ने उल्लेख गरेका थिए ।

काँग्रेसले महाधिवेशन भदौमा गर्ने बताएको छ । भदौ ७ देखि १० सम्म गर्ने भनिएको महाधिवेशन एक साता पर धकेल्ने प्रस्ताव काँग्रेस पदाधिकारी बैठकले गरेको छ ।