नेपालगन्ज २० असार : नेपालगन्ज उप–महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि प्रस्तुत बजेट पारित भएकोछ ।
असार १० गते ९ औं नगरसभामा उपप्रमुख उमाथापा मगरले प्रस्तुत गरेकी एक अर्ब ५४ करोड ७७ लाख रुपियाँको प्रस्तावित बजेट आईतबारको नगरसभाले पारित गरेको हो।
बजेट पारित भएपछि नगरप्रमुख डाक्टर धवलशम्शेर राणाले चार वर्षको अवधीमा नेपालगन्जमा विकास निर्माणले उल्लेख्य गति लिएको भन्दै यसमा सम्पूर्ण जनप्रतिनिधी र कर्मचारीहरुको साथ र सहयोगले मात्रै सफलता प्राप्त गरेको बताए । उनले नेपालगन्जमा भ्रष्टाचार करिब निर्मुल पारिएको भन्दै मिलेर काम गर्ने अवस्थाले राम्रो काम गर्न सकेको बताए ।
नगरसभाले विभिन्न प्रस्ताव पनि पारित गरेको छ । कन्या कलेज सञ्चालनका लागि विनियमावली नगरसभाले पारित गरेको छ । फुल्टेक्रास्थित नेपाली सेनाको फिए रहेको स्थानमा खेलकुद एकेडेमी निर्माणका लागि नगरसभाले प्रस्ताव पारित गरेको छ । सैनिक नेतृत्वसँगको आपसी समन्वयका आधारमा उप–महानगरपालिकाले प्रस्ताव पारित गरेको हो ।
नगरसभाले कर्मचारीहरुको बृत्ति विकास लगायतका आवश्यक निर्णय पनि पारित गरेको छ । नगरसभामा सुशासन समितिका संयोजक नरबहादुर विष्ट र साझेदारी विकास कार्यदलका संयोजक कार्यपालिका सदस्य कौशलकुमार धोवीले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ ।
नगरसभाले एडिबीको थप परियोजनाका लागि आग्रह गर्ने निर्णय गरेको छ । नगरसभामा उत्कृष्ट कार्य सम्पादन गर्ने युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव गोर्खबहादुर थापा, योजना प्रमुख बज्रभुषण झा, जिन्सी शाखा प्रमुख बिमल गुरुङ, जनस्वास्थ्य निरीक्षक विनोद विक, लेखा शाखाका दुर्गा पौडेल, सुभास थापा लगायतका कर्मचारीहरुलाई नगर प्रमुख डाक्टर राणा र प्रमुख प्रशासकीय अधिकृत हिरालाल रेग्मीले सम्मान गरे ।
सेवा निवृत्त कर्मचारीहरुलाई समेत सम्मान गरिएको प्रशासन प्रमुख राजन केसीले जानकारी दिए ।