नवलपुरमा चैतेधान उत्पादनमा वृद्धि


नवलपुरमा चैतेधान उत्पादनमा वृद्धि

नवलपुर ४ साउन : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा यस वर्ष चैतेधानको उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष जिल्लामा गत वर्षको भन्दा ४०० मेट्रिक टन बढी चैतेधान उत्पादन भएको हो ।

कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी शङ्कर पौडेलले यस वर्ष जिल्लाको ७०० हेक्टर क्षेत्रफलमा तीन हजार ३६० मेट्रिक टन चैतेधान उत्पादन भएको जानकारी दिए । ‘गत वर्षको भन्दा यस वर्ष चैतेधान लगाउने क्षेत्रफलसमेत वृद्धि भएको थियो’, पौडेलले भने, ‘गत वर्ष ६२० हेक्टर क्षेत्रफलबाट दुई हजार ९४० मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष ८० हेक्टर बढी क्षेत्रफलमा धान लगाइँदा उत्पादन पनि बढेको हो ।’

जिल्लामा विशेषगरी चैतेधानका रूपमा हर्दिनाथ–१, टाइचिन, स्थानीय अनदी, सिएच ४५ जातको धान रोप्ने गरिएको छ । कृषि ज्ञान केन्द्रले सञ्चालन गरेको धान ब्लक कार्यक्रममा कृषक आकर्षित हुँदा चैतेधानको क्षेत्रफल र उत्पादनमा वृद्धि भएको पौडेलले बताए ।

‘हामीले अहिले जिल्लाको गैँडाकोट–११ र कावासोती–१७ मा धान ब्लक कार्यक्रम शुरु गरेका छौँ’, उनले भने, ‘धान ब्लक कार्यक्रमबाट कृषकलाई अनुदान प्रदान गरेपछि चैतेधानतर्फ उनीहरु आकर्षित भएका हुन् ।’ धान ब्लक कार्यक्रममा कृषि ज्ञान केन्द्रले सिँचाइ सुविधाका साथै कृषिमा यान्त्रिकीकरणका लागि अन्य उपकरणमा समेत अनुदान प्रदान गरेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

जिल्लाभित्र उत्पादन हुने चैतेधान कृषक आफैँले बिक्री गर्ने गरेको भन्दै पौडेलले गैँडाकोटमा उत्पादन भएको धान स्थानीय खाद्य उद्योगले खरिद गरेको बताए ।

‘गैँडाकोटमा उत्पादन भएको धान नगरपालिकाको समन्वयमा स्थानीय जयश्री खाद्य उद्योगले खरिद गरेको छ’, उनले भने, ‘जिल्लाको अन्य क्षेत्रमा उत्पादन भएको धान भने कृषक आफैँले स्थानीयस्तरमा नै बिक्री गर्ने गरेका छन् ।’ चैते धानको उत्पादन बढाउन सकिएको खण्डमा जिल्लाबाट अन्यत्रसमेत धान निर्यात गर्न सकिने उनको भनाइ छ । –रासस