काँग्रेस महाधिवेशनको प्रक्रिया घट्यो, पाँच तहका अधिवेशन नहुने


काँग्रेस महाधिवेशनको प्रक्रिया घट्यो, पाँच तहका अधिवेशन नहुने

काठमाण्डौं ४ साउन : सत्तारुढ नेपाली काँग्रेसले आफ्नो १४ औ महाधिवेशन घटाएकोछ । पार्टीका तल्लो तहका केही समितिहरुको अधिवेशन थाँती राखेर महाधिवेशन गर्ने योजनामा काँग्रेस जुटेको हो ।

महाधिवेशन मिति नजिकिँदै जाँदा क्रियाशील सदस्यता वितरण र नवीकरण ढिलाइ भइरहेको अवस्थामा पाँच तहका अधिवेशन नगरी महाधिवेशन तयारी भइरहेको बुझिएकोछ ।

यसका लागि काँग्रेसले वडा, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको अधिवेशनपछि सिधै केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको बुझिएकोछ । संवैधानिक व्यवस्थाअनुसार आगामी भदौमा महाधिवेशन गर्नुपर्ने बाध्यताले पार्टीमा केही तहका अधिवेशन रोकेर अघि बढ्ने तयारीमा काँग्रेसले तिव्र तयारी गरेकोछ ।

काँग्रेसको विधानमा टोलदेखि केन्द्रसम्म आठ तहका संचरना हुने गरी व्यवस्था गरिएको छ । विधानअनुसार सबैभन्दा तल टोल कार्यसमिति, त्यसपछि क्रमशः वडा कार्यसमिति, नगर/गाउँ कार्यसमिति, प्रदेश निर्वाचन क्षेत्र कार्यसमिति, प्रतिनिधिसभा निर्वाचन क्षेत्र कार्यसमिति, जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिसहतिका संरचना छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

काँग्रेसको गत असार ४ गतेको केन्द्रीय कार्यसमिति बैठकले १४ औँ महाधिवेशन यही भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो । उक्त कार्यतालिकाअनुसार गाउँ/नगर, वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ/नगरपालिका अधिवेशन साउन १६ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ ।

यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।

काँग्रेसमा अहिलेको तयारीअनुसार अधिवेशन गरिए साउन १२ का लागि निर्धारित वडा अधिवेशन, साउन २३ का लागि तय गरिएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र भदौ १६ गते तय भएको केन्द्रीय महाधिवेशनमात्रै गरिने भएको छ ।

यद्यपि, काँग्रेस नेताहरुले उक्त कार्यतालिका फेरि संशोधन हुने सम्भावना रहेको बताउँदै आएका छन् । उनीहरुका अनुसार केन्द्रीय महाधिवेशनको पूर्वनिर्धारित मिति यथावत राखेर अन्य तहका कार्यसमितिको अधिवेशन मिति संशोधन गरिने छ ।

यसैबीच काँग्रेसले महाधिवेशन तयारीका लागि गठित क्रियाशील सदस्यता छानविन समितिले मंगलबार सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । समितिले बारा र सप्तरीबाहेकका जिल्लाको कार्यप्रगति समेटेर बनाएको प्रतिवेदन प्रधानमन्त्रीसमेत रहेका देउवालाई बुझाउने तयारी गरेको हो ।

समितिले बारा र सप्तरीबाहेक ७५ जिल्लामा क्रियाशील सदस्यता नवीकरण र वितरण टुंगो लगाइसकेको छ । बारा र सप्तरीमा पार्टीको आन्तरिक समायोजनबारे विवाद देखिएका कारण क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण प्रक्रियामा ढिलाई भएको बताइएको छ ।

क्रियाशील सदस्यता छानबिन समितिका अनुसार अहिलेसम्म काँग्रेसका नयाँ र पुराना गरी आठ लाख ५३ हजार सदस्यको नाम ‘इन्ट्री’ भइसकेको छ । समितिले विदेशस्थित जनसम्पर्क समितिबाट आउने नामावलीसमेत गरेर झण्डै नौ लाख क्रियाशील सदस्य हुने जनाएको छ ।