तस्बिर एआइ जेनरेटेड हाे।
नेपालगन्ज।
केही दिनदेखि नेपालगन्जमा,
शनिबार दिउँसोतिर
कसैले प्रहरीलाई गोप्य सूचना दिन्छ, सहरको बीचोबीच एकलैनी बजारको एउटा घरमा केही गडबडी भइरहेको छ।
बुझ्दै जाँदा त्यो क्षेत्रमा लागुऔषधको कारोबाहर हुनेगरी प्रहरीले तत्कालै विश्लेषण गर्छ। अनि लगत्तै प्रहरीले अपरेशन सुरु गर्छ। लागु औषध नियन्त्रण ब्यूरोको शाखा कार्यालय नेपालगन्जको एउटा टोलीले सूचकले संकेत गरेको घरमा छापा मार्छ।
अनि त्यहाँबाट दुई युवालाई नियन्त्रणमा लिन्छ। ती थिए नेपालगन्ज उपमहानगरपालिका-३ एकलैनी स्थिति ३२ वर्षीय मोहम्मद हसिन अन्सारी र २५ वर्षीय समिर अहमद अन्सारी।
उनिहरूसँगै प्रहरीले ३५।९०० ग्राम खैरो हिरोइन पनि भेटाउँछ। त्यस्तै डिजिटल तराजु अनि ७३ हजार ७ सय रुपैया नगद र पाँच थान मोबाइल पनि सँगै भेट्टाउँछ।
ब्यूरोको प्रारम्भीक अनुसन्धानअनुसार उनिहरूले लागुऔषधका स्थानीय कारोबारी (डिलर होइन एजेन्ट) हुन्।
आइतबार,
प्रहरीले फेरि अर्को सूचना पाउँछ। पहिलादेखि नै पछ्याइरहेका केही व्यक्तिहरू केही शंकास्पद गतिविधि गर्दैछन्। ब्यूरोले केही प्रहरीको टोली खटाउँछ।
उनिहरूले रंगेहात भेट्टाउँछन्- नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ को एउटा ठाउँमा लागुऔषध किनबेच भइरहेको छ।
यहाँबाट पनि दुईजनालाई प्रहरीले नियन्त्रणमा लिन्छ। उनिहरू नेपालगन्ज वडा नं. १३ बस्ने ३० वर्षीय देशराज चौहान (लोनिया) र उनकी २५ वर्षीया श्रीमती पुजा लोनिया थिए।
उनिहरूले कारोबार गरिरहेको बेला सँगै प्रहरीले १०७ ग्राम ५५० मिलिग्राम खैरो हिरोइन भेटाउँछ। अनि प्रहरीले उनिहरू भाग्न खोजेको भे ६ प ३७४५ नम्बरको मोटरसाइकल १ थान र २ थान मोबाइल पनि नियन्त्रणमा लियो।

मंगलबार,
राति करिब १० बजेर ४५ मिनेट। नेपालगन्जका अधिकांश सडक लगभग सुनासान भइसकेका थिए। भन्सार नाका अनि केही चेकपोष्टहरूमा भने प्रहरीहरू तैनाथ नै हुन्छन्।
नेपालगन्जका अरु केही सडकहरू पनि लगभग आधारातसम्म भीडभाडयुक्त नै हुन्छन्।
ब्यूरोलाई केही सूचनाहरू त आइरहेका थिए। तर यकीन भइरहेका थिएनन्, सूचनाअनुसार केही हात लागिरहेको थिएन। र, खटिएको टोली धैर्यताका साथ बसिरहेको थियो।
एउटा मोटरसाइकल भारततिरबाट नेपाल प्रवेश गर्छ। प्रहरीले त्यसलाई रोक्न खोज्छ। तर चालक भने भाग्न खोज्छ। अत्तालिएर मोटरसाइकलबाटै प्रहरी छल्न खोजेका उनलाई प्रहरीले केही राउण्ड फयार गरेर चेतावनी दिन्छ।
मोटरसाइकल रोक्दा नै शंकाष्पद मानिएका ती व्यक्ति भारतीय नागरिक नदीन राई थिए। २४ वर्षीय उनि भारत उत्तर प्रदेशको बहराइच जिल्ला रूपैडिया थाना चकिया रोडका स्थानीय हुन्।
मोटरसाइकलको टायरमा गोली लागेपछि ढलेका उनिसँगै प्रहरीले १०३.७९० ग्राम खैरो हिरोइन भेटायो। उनि चढेको भारतीय यूपी ४० जे ०६५७ नम्बरप्लेटकै मोटर साइकल पनि प्रहरीले जफत गर्यो।
लगातार तीन दिनमा नेपाल प्रहरीको लागु औषध ब्यूरो शाखा कार्यालय नेपालगन्जले पाएका यी ती सफलताका केही समानता अनि केही फरक दृष्टान्त छन्।
एउटा समान कुरा के हो भने, प्रहरीले तिनै घटनामा ‘खैरो हिरोईन’ फेला पारेको छ। यो नेपालगन्ज र त्यसवरिपरि हुने लागुऔषधको एउटा ‘कमन ट्रेन्ड’ र ‘कमन ट्रेड’ पनि हो।

‘यो क्षेत्रमा हुनेगरेको कारोबारको यो एउटा सानो अंश हो’ ब्यूरोको शाखा कार्यालय प्रमुख नवीनकुमार शाही भन्छन् ‘यहाँ धेरैजसो यही नै प्रयोग हुन्छ अनि किनबेच पनि यही नै धेरै हुन्छ। ठूलो परिणाममा हामीले फेला पारेका छौं। तर धेरैजसो सानो सानो स्केलमा।’
नेपालगन्ज सहर भारतीय सिमानासँग जोडिएको पश्चिम नेपालको एक प्रमुख ब्यापारिक केन्द्र हो। सँगसँगै मध्य तथा सुदूर नेपालको एक ‘गेट-वे’ पनि। देशकै एक प्रमुख भन्सार नाका ‘जमुनाह’ पनि यही सहरसँग गाँसिएको छ। त्यसैले नेपाल-भारतको एक ट्रान्जिट प्वाइन्ट पनि हो नेपालगन्ज।
सिमाना खुला छ। आउनेजाने मान्छेहरूलाई प्राय सामान्यरुपमै हेरिन्छ। केही शंका लागेमा फरक कुरा नत्र जमुनाहको ‘सिमा गेट’बाट आउने- जानेहरूलाई प्रहरीले त्यतिधेरै केरकार गर्दैन। प्रवेशद्वारमा हुने सुरक्षा निकायको औपचारिकता त सामान्य भइहाले।
नेपालगन्ज जसरी अरु ब्यापारका लागि मुख्य केन्द्रका रुपमा स्थापित छ त्यत्तिकै लागुऔषध कारोबारीका लागि यो एउटा ‘ट्रान्जिट प्वाइन्ट’का रुपमा पनि चिनिन्छ। जो दुबै देशका सिमाना प्रहरीका लागि साझा चुनौती रहेको सुरक्षा विश्लेषण पनि छ।
‘खुला सिमाना भएका कारण यहाँ लागुऔषधको कारोबार अनि प्रयोग दुबैतिर उत्तिकै छ। तर नेपालबाट भन्दा उताबाट यता९भारततिरबाट नेपाल०आउने ड्रग्स धेरै हुन्छ’ प्रमुख शाही भन्छन् ‘नेपालतिर प्रयोग गर्नेहरू धेरै छन्। सानो सानो इकाईमा लुकाइछिपाई पैदल आउनेजाने गर्नेहरू धेरै हुन्छन्। सबैमा प्रहरीको नजर पुग्नु पनि साध्य लाग्दैन। तर यही खुला सिमानाका कारण हामीहरू भने निकै चलाख हुनुपर्छ।’
सिमानाको यो सहरमा अहिले ड्रग्सको तल लागेका धेरै युवा छन्। त्यसलाई पूरा गर्नका लागि सानो सानो मात्रामा कारोबार गर्नेहरू पनि सहरका गौंडागौंडामा छन्। एकातिर प्रहरीलाई कारोबारी समाउने र त्यसको मुख्य डिलरसम्म पुग्ने चुनौतीले लखेटिरहेको हुन्छ भने अर्कोतिर प्रयोगकर्ताहरूलाई सही बाटो देखाउनका लागि सामाजिक सचेतनाका लागि उत्तिकै दबाव छ। प्रहरीले यसलाई सामाजिक दायित्वका रुपमा निभाउँदै पनि आएको छ। तर प्रविधिको युगमा त्यसका रुपहरू फेरिदैंछन्। ड्रग्स किनबेचको तरिका, स्थान र कारोबारमा उनिहरूले अपनाउने नयाँ नयाँ शैलीले पनि कहिलेकाहिँ प्रहरीलाई रणभूलमा पारिदिन्छ।
‘नेपालगन्जमै ठूला कारोबारीहरू पनि छन्। तर खुला सिमाना सुरक्षा निकायका लागि निकै ठूलो चुनौती हो। कोही उतै (भारततिर) गएर जमेका हुन्छन्। कारोबारी अनि प्रयोगकर्ताहरूले हतियारसमेत प्रयोग गरेका छन्। त्यसमा हामी पनि परेका छौं’ प्रमुख शाहीको अनुभव छ ‘दुई वर्षअघि नेपालगन्जमै एउटा अड्डामा छापा मार्दा मलाई पनि छुरीले चोट लागेको छ। सात दिन त अस्पतालमै भर्ना भएको छु। हामी सकेसम्म पूरा शक्ति लगाएर यो क्षेत्रलाई लागुऔषधमुक्त बनाउन लागिरहेका छौं। केही नियन्त्रण र न्यूनिकरण भएको देखिन्छ। तर पनि धेरै काम गर्नुपर्नेछ।’
नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोको यो शाखा कार्यालय आफैमा संवेदनशील स्थानमा छ। त्यसमा पनि पर्याप्त जनशक्तिको अभावबीच अनेक चुनौतीसँग लड्दै लागुऔषध नियन्त्रण र न्यूनिकरणका लागि देशभरिकै लगभग राम्रो काम गरिरहेको शाखामध्ये नेपालगन्ज पनि एक हो। यहाँ अहिले प्रहरी सहायक निरीक्षकको कमाण्डमा लगभग दश जना प्रहरी जनशक्ति कार्यरत छन्।
शाखा प्रमुख शाहीका अनुसार गत दुई आर्थिक वर्षमा ३८९ जनालाई लागुऔषधसहित नेपालगन्ज क्षेत्रबाटै पक्राउ गरिएको छ। त्यसमा अघिल्लो आर्थिक वर्ष २०८१र८२मा २०३ जना र ०८२र०८३ मा त्योभन्दा कम १८६जना मानिस पक्राउ परेका छन्। तीमध्ये अघिल्लो आर्थिक वर्षमा २१ जना र दोस्रो आर्थिक वर्षमा २९ जना भारतीय नागरिक समातिएका थिए।
उनिहरूबाट आर्थिक वर्ष ०८१र८२मा खैरो हिरोइन लगभग १ किलो ३४८ ग्राम १२० मिलिग्राम, अफिम १९ किलो ३२५ ग्राम, ३४ किलो २२० ग्राम चरेस, ११३ किलो गाँजा र ३७५८ ट्याब्लेट ट्रमाडोल, १२९१ ट्याब्लेट नाइट्रोभ्याट, १७ बोत्तल कोरेक्स, ६७ ट्याब्लेट स्पास्मार २६ ट्याब्लेट एभिलजस्ता मनोद्वीपक (लठ्याउने औषधिहरू) प्रहरीले बरामद गरेको छ। त्यस्तै दोस्रो आर्थिक वर्षमा २ किलो ७४१ ग्राम, ११३ मिलिग्राम खैरो हिराइन, २२ किलो १२२ ग्राम अफिम तथा २ हजार ट्याब्लेट ट्रमाडोल, ३७८ ट्याब्लेट नाइट्रोभ्याट, इन्जेक्सन ८९० तथा २९५ वटा मनोद्वीपक क्याप्सुल प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार नेपालका मध्य तथा सुदूरपश्चिमका पहाडी जिल्लाबाट नेपालगन्जलाई ट्रान्जिट बनाएर लागुऔषध ओसारपसार गर्नेहरू पनि छन्। खासगरी ती पहाडी क्षेत्रबाट अफिमको चोप र गाँजा धेरै तस्करी हुन्छ। त्यो नेपालगन्ज वरिपरिका क्षेत्रमा र भारतका कैयौं सहरसम्म सञ्जाल बनाएर पठाइएको हुन्छ। दुबैतिर कारोबारी र प्रयोकर्ताहरू लगभग उत्तिकै हुन्छन्। तर ठूलो कारोबारी ९डिलर०भने भारततिरै धेरै छन्।
‘सिमा-नाका भएका कारण यो एउटा क्रस बोर्डर इस्यू पनि हो। त्यसमा पनि खुला सिमाना भएका कारण हामी दुबैतिरबाट सुरक्षा समन्वय आफ्नै हिसाबले गरिरहेका छौं’ शाही भन्छन् ‘यताका मान्छे उता पनि पक्राउ परेका हुन्छन्। अनि उताका मान्छे हामीले पनि समाएका हुन्छौं। तर स्थानीयरुपमा हामीले यहिँको परम्पराअनुसार आपसी समझदारीमा सुरक्षासंयन्त्रसँग मिलेर काम गरिरहेका छौं। दुबैतिरका समन्वय र सहकार्य भयो भने सिमा क्षेत्रमा केही हदसम्म लागुऔषध नियन्त्रण गर्न सकिन्छ।’
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ
कालिकोटमा सरकारी जग्गा व्यक्तिकाे नाममा, अख्तियारले दायर गर्याे आठ जनालाई भ्रष्टाचार मुद्दा
रक्सी खाने पैसा नदिएपछि सुर्खेतमा श्रीमतीको हत्या: सांसद बिकले संसदमा भनिन्- ‘लोकल रक्सी’ बन्द गरौं
बाँकेमा दुई कांग्रेस आमने-सामने
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको उडानले नेपालगन्जसम्म आशा
नेपालगन्जमा गोली हानेर प्रहरीले समात्यो भारतीय लागुऔषध कारोबारी