सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशमा, कहाँ कहाँ छ जोखिम?


सेतोखरी सेतोखरी   ५४ मिनेट अगाडि
सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशमा, कहाँ कहाँ छ जोखिम?

नेपालगन्ज। अन्डमन सागरको सामुद्रिक चक्रवातका कारण बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा पनि देखिएको छ। त्यसकै कारण बुधबारदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। 

बिहीबारदेखि वर्षाको मात्रा बढ्नसक्ने र जोखिम बढ्नसक्ने भन्दै देशभरि बुधबारदेखि पूर्वसचेतनाका योजनाहरू लागु भइसकेका छन्।  

मौसम विज्ञान विभागका अनुसार बितेको १२ घण्टामा सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशमा भएको छ। खासगरी यो प्रदेशका पाल्पा र कपिलवस्तुमा जिल्लामा सबैभन्दा धेरै वर्षा मापन भएको छ। 

बिहान ६ बजेसम्म पाल्पाको बल्ड्याङगढीमा वर्षा मापन केन्द्रमा १२८।६ मिलिमिटर र कपिलवस्तुको भगवानपुरमा १२२ मिलिमिटर वर्षा भएको छ। त्यस्तै कपिलवस्तुकै शिवराज नगरपालिकास्थित मैनार वर्षामापन केन्द्रमा पनि ११७ मिलिमिटर वर्षा भएको छ। गण्डकीको तनहुँ, कास्की, स्याङ्जा, पाल्पा र आसपासका क्षेत्रमा पनि वर्षा विभागले जनाएको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार  हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीको गहिरो न्यून चापीय क्षेत्र भारतको विशाखापट्टनम र गोपालपुरको बीच, कलिंगपट्टनमको दक्षिणपश्चिम नजिकबाट उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिशा तट पार गरेको छ। यो प्रणाली सुरुमा गहिरो न्यून चापीय क्षेत्रकै तीव्रता कायम राख्दै उत्तरपश्चिमतर्फ सर्ने सम्भावना रहेको छ भने त्यसपछि आगामी २४ घण्टामा उत्तर(उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने सम्भावना देखिएको मौसमविदहरूले जनाएका छन्। 

हाल कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बादल लागेको छ भने सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लागेको छ। कोशी, मधेश र बागमती प्रदेशमा धेरै स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशको केहि स्थानमा तथा कर्णाली र सूदूरपश्चिम प्रदेशको एक ( दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

थप समाचार