राप्रपाका नेता शाहले गर्दैछन् ‘महाकाली–मेची’ साइकल यात्रा


राप्रपाका नेता शाहले गर्दैछन् ‘महाकाली–मेची’ साइकल यात्रा

नेपालगन्ज १६ साउन : राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) बाँकेका नेता तेजविक्रम शाह ‘महाकाली–मेची’ साइकल यात्रामा निस्किएकाछन् । कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली प्रकट गर्न र कोरोना भाइरस संक्रमणबारे राष्ट्रिय स्तरमा सचेतना अभिबृद्धि गर्न उनी ‘महाकाली–मेची शान्ति’ यात्रामा निस्किएका हुन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– १२ निवासी ५६ वर्षिय शाहले यही साउन १८ गतेदेखि साइकल यात्रा गर्दैछन् । यो अवधिमा पश्चिम महाकालीदेखि पूर्व मेचीसम्मको कुल १,१७८ किलोमिटरको दुरी साइकलमा पुरा गर्दैछन् । तर, विक्रम सम्वत २०१९ सालमा निर्माण शुरु गरिएको महेन्द्र राजमार्गको कुल लम्बाई १,०२८ किलोमिटर रहेको छ । सुरक्षित यात्राकालागि केही रुटहरु परिर्वतन गरिएकोले दूरी बढ्न गएको हो ।

११ दिनको साइकल यात्रामा उनले पश्चिम महाकालीबाट महेन्द्र राजमार्ग हुँदै पूर्वी मेचीसम्म २१ वटा जिल्ला जिल्ला पार गर्नेछन् । सो क्रममा साइकल यात्री शाहले विभिन्न जिल्लामा रहेका सञ्चारकर्मीसंग साक्षत्कार गरि कोरोना भाइरस संक्रमण र यसबाट बच्न राष्ट्रिय स्तरमै सचेतना अभिबृद्धि गर्नेछन् । यात्राको दौरान हरेक दिन बेलुका आफू पुगेको स्थानमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेप्रति दीप प्रज्वलन गरि श्रद्धाञ्जली दिने ‘महाकाली–मेची’ यात्रामा निस्किएका साइकल यात्री शाहले बताए ।

यसअघि टूर दी ठाकुरद्वारा र नेपालगन्जदेखि चाँदनीदोधारासम्म साईकल यात्रा गरिसकेका शाहको यो अभियान गत वर्षको हो । समय र परिस्थिती अनुकुल नभएपछि गत वर्ष उनले यो यात्रा स्थगित गरेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

साईकल यात्री शाहले शुक्रवार नेपालगन्जमा पत्रकार सम्मेलन गरी आफूले कोभिड–१९ को महामारीबाट ज्यान गुमाउनेहरुको आत्माको चिरशान्तिका लागि उक्त ‘महाकाली–मेची’ यात्रा गर्न लागेको बताए ।

‘महाकाली–मेची’ यात्राका लागि शाह कञ्चनपुर प्रस्थान गरिसकेकाछन् । साउन १८ गते विहान महाकाली पारी दोधाराचाँदनी नगरपालिकाबाट यात्रा शुरु गर्ने शाहको यो अभियानको औपचारिक शुरुवात दोधाराचाँदनी नगरपालिकाका मेयर विरबहादुर सुनारले राष्ट्रिय झण्डा शाहलाई हस्तान्तरण सुरुवात गरिनेछ । सोक्रममा स्थानीय साइक्लिनिङ्ग क्लबका राइडर, सरकारी निकायका प्रनिधि, सुरक्षाकर्मी, नागरिक समाजका अभियन्ता र सञ्चारकर्मी लगायतको उपस्थिती रहनेछ ।

बाँके जिल्लाबाट पहिलोपटक महाकाली–मेची साइकल यात्रा गर्ने एकल साइकल यात्री शाह हुन् ।

सोक्रममा नेपालगन्ज उपमहानगरपालिका प्रमुख डाक्टर धवलशम्शेर राणा, खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपति, नेपालगन्ज उपमहानगरपालिका उपमेयर उमा थापामगर, एचसिआरसीका डाक्टर कुमारसान शाह तथा नेपालगन्ज साइक्लिनिङ्ग क्लबका अध्यक्ष गगन थापाले साईकल यात्री शाहलाई शुभकामना दिएका थिए ।
उनीहरुले पछिल्लो समय बाँकेमा साइकल चलाउनेको संख्या दिनप्रति दिन बढ्दै गइरहेको भन्दै यो यात्राले साइकल संस्कृतिलाई बढावा दिने विश्वास समेत ब्यक्त गरे ।

शाहको साइकल यात्राका लागि नेपालगन्ज स्थित एचसिआरसी हस्पिटलले मुख्यरुपमा सहयोग गरेकोछ । भने सहप्रायोजकका रुपमा खजुरा गाँउपालिका र आशिरबाद पेन्ट रहेकोछ । नेपालगन्ज साईक्लिनिङ्ग क्लबले शाहको १० लाख बराबरको जीवन बीमा समेत गरेकोछ ।

‘महाकाली–मेची शान्ति’ यात्राको यस्तो छ रुट

११ दिने लामो साईकल यात्रामा निस्किएका नेपालगन्जका साईकल यात्री शाहले महाकाली–मेची शान्ति यात्राको रुट समेत सार्वजनिक गरेकाछन् । महाकालीदेखि मेचीसम्मको यात्रा गर्दा केही भौगोलिक, वातावरणीय तथा सुरक्षालाई मध्यनजर गर्दै यात्राको रुटमा परिर्वतन गरिएकोछ ।

साउन १८ गते दोधाराचाँदनीबाट यात्रा सुरु गर्न लागेका शाहले सोही दिन बेलुका टिकापुरसम्मको १३५ किलोमिटरको यात्रा साइकलबाट पुरा गर्नेछन् । टिकापुरबाट शाहले बर्दियाको राजापुर हुदैँ नेपालगन्जसम्मको यात्रा गर्नेछन् । उनले कैलालीको चिसापानी कर्णाली पुलदेखि अम्बासा, भुरीगाउँदेखि कोहलपुरसम्मको यात्रा गर्ने छैनन् । यो रुटमा बर्दिया राष्ट्रिय निकुञ्ज छ । पछिल्लो समय यो रुटमा बाघ आतंक बढेकै कारण उनले उक्त रुट परिर्वतन गरि टिकापुर–राजापुर–गुलरिया हुदै नेपालगन्जसम्मको यात्रा गर्ने तय गरेका हुन् ।

साउन १९ गते बेलुका नेपालगन्ज आइपुगेका शाह साउन २० गते दाङको लमहीसम्म १२७ किलोमिटरको यात्रा तय गर्नेछन् । २१ गते विहान लमहीदेखि चन्द्रौटासम्मको ६० किलोमिटरको यात्रा तय गर्ने शाह साउन २२ गते चन्द्रौटादेखि बुटवलसम्मको ९५ किलोमिटरको यात्रा तय गर्नेछन् ।

साउन २३ गते बुटवल–कावासोतीको ८५ किलोमिटर, साउन २४ गते कावासोती–हेटौंडासम्मको १०६ किलोमिटर, साउन २५ गते हेटौंडादेखि लालबन्दी, सर्लाही सम्मको १०४ किलोमिटर यात्रा तय गर्नेछन् ।

लालबन्दी पुगेका शाह साउन २६ गते १३० किलोमिटर दुरी पार गरि बर्दिबास पुग्नेछन् । साउन २७ गते बर्दियबास पुगेका शाह बर्दिबासदेखि कोशी ब्यारेजसम्मको १२६ किलेमिटर यात्रा पुरा गर्नेछन् । यस्तै साउन २८ गते कोशी ब्यारेजदेखि विर्तामोड, मेची पुलसम्मको १३० किलोमिटर यात्रा पार गरि मेची पुलमा पुग्नेछन् । यसरी ११ दिनको दौरान २१ जिल्ला पार गरि पश्चिम नेपालदेखि पूर्वी नेपालसम्म शाहको यात्रा टुङ्गिनेछ ।