छानबिन समितिले दोषी ठहर गर्यो

१ लाख ९ हजार रकम फिर्ता गर्न १५ दिने अल्टीमेटम, त्यसपछि थप कारबाही अगाडी बढ्छः प्रवक्ता रिजाल, पत्रकार महासंघ उपमहानगर रकम हिनामिना प्रकरण (भाग १३)


छानबिन समितिले दोषी ठहर गर्यो

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका र नेपाल पत्रकार महासंघ बाँके शाखाबिच भएको काममा रकम हिनामिना भएको पुष्टी भएको छ । यसै बिषयलाई लिएर गठित नेपालगन्ज उपमहानगरपालिकाको छानबिन समितिले पत्रकार महासंघ र उपमहानगरपालिकाका बिच भएको काममा रकम हिनामिना भएको प्रतिबेदन बुझाएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले सञ्चार पत्रकारिता विकास कार्यक्रमका लागि बिनियोजन गरेको १० लाख रकममा नेपाल पत्रकार महासंघ बाँके शाखा र नेपाल प्रेस यूनियनले कार्यक्रम सञ्चालन गरेको र उक्त रकममा हिनामिना गरेको छानबिन समितिको प्रतिवेदनले देखाएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका वडाअध्यक्ष कौशलकुमार धोवीको संयोजकत्वमा गठित छानबिन समितिले ८ पेजको प्रतिबेदन तयार पारि रकम हिनामिना भएको स्पष्ट पारेको हो ।

प्रतिबेदनमा रकम हिनामिनाका मुख्यदोषी उपमहानगरपालिकाका प्रेस सल्लाहकार शुक्रऋषी चौलागाईलाई देखाइएको छ । छानबिन समितिले उक्त १० लाख रकममा अनुसन्धान गर्न सकेको देखिदैन । महालेखा परीक्षकले जुन बेरुज रकम निकालेको थियो, त्यसैलाई नै रकम हिनामिनाको मुख्य कडी बनाएको छ । प्रतिबेदनले उपमहानगरका प्रेस सल्लाहकार चौलागाई, नेपाल पत्रकार महासंघ बाँके शाखा र नेपाल प्रेस यूनियनलाई १० लाखको जिम्मेवार बनाएको छ ।

१० लाखमा भएको रकम हिनामिनामा १ लाख ९ हजार ८ सय रकम हिनामिना भएको औंल्याउदै १५ दिन भित्र उक्त रकम सम्बन्धित पदाधिकारीबाट असुल उपर गर्न छानविन समितिले उपमहानगरपालिकालाई निर्देशन दिएको छ । प्रतिवेदनमा भिनिएको छ ‘कार्यालयको तर्फबाट पेश्की लिएर काम गर्ने प्रेस सल्लाहकारलाई म.ले.प.को गत वर्षको प्रतिवेदनमा सो बिषयमा भए गरेका खर्चका सम्बन्धमा असुल उपर गर्ने भनि उल्लेख भएको रकम १ लाख ९ हजार ८ सय १५ दिन भित्र सम्बन्धित पदाधिकारीसंग असुल गर्न लगाउने ।’

त्यस्तै बील, भौचर र भर्पाइ चेकजाँच गर्दा प्रक्रिया नमिलेका तपसिल बमोजिमको रकम सम्बन्धित व्यक्तिबाट असुल उपर हुने देखिन्छ भनि प्रतिवेदनमा उल्लेख छ । पत्रकार महासंघले आफ्नो कुनै संलग्नता नभएको भनिरहेका बेला छानविन समितिले भने महासंघको संलग्नता रहेको किटान गरेको छ । ‘नेपाल पत्रकार महासंघबाट उल्लेखित कार्यक्रम सम्पन्न गरि हर हिसाब फरफारक गरिदिने भनि नेपाल पत्रकार महासंघ बाँके शाखाको लेटर प्याड, छाप र कोषाध्यक्षसंग पटक–पटक लिइएको लिखित र मौखिक बयानबाट उल्लेखित कार्यक्रम प्रेस सल्लाहकार मार्फत नेपाल पत्रकार महासंघले गरेको पुष्टी हुन्छ ।’ प्रतिवेदनमा लेखिएको छ ।

साथै पत्रकार महासंघले वडा अध्यक्षहरुलाई सञ्चार र विकासबारे अभिमुखिकरण, सञ्चार माध्यम अनुगमन, सञ्चारगृह र प्रकाशनको अवस्था बारे अन्तरक्रिया, युवाहरुलाई आधारभुत विकास सम्बन्धि ३ दिने पत्रकारिता तालिम र मिडिया दिगो विकास र यसका चुनौती गरी ५ वटा बिषयमा कार्यक्रम चलाएको प्रतिवेदनमा उल्लेख छ । छानबिनकाक्रममा समितिले प्रेस सल्लाहकार शुक्रऋषी चौलागाई, पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारु र कोषाध्यक्ष केशव रानासंग समितिको बैठकमै उपस्थित गराई बयान लिएको उल्लेख छ ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले छानबिन समितिले निकालेको उक्त रकम दोषी ठहर गरिएकाहरुबाट १५ दिनभित्र असुल गर्ने र त्यसपछि थप कारबाहीको प्रक्रिया अगाडी बढाइने बताए । नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ बाँके शाखाले गत वर्ष सञ्चार पत्रकारिता विकास कार्यक्रम सञ्चालन गरेको थियो । नेपालगन्ज उपमहानगरपालिकाका तर्फबाट प्रेस सल्लाहकार शुक्रऋषी चौलागाई र पत्रकार महासंघ बाँके शाखाका तर्फबाट अध्यक्ष ठाकुरसिंह थारुले कार्यक्रम सम्पन्न गरेका थिए ।

नेपालगन्ज उपमहानगरपालिकाले सञ्चार पत्रकारिता विकास कार्यक्रमका लागि बिनियोजन गरेको रकममा नेपालगन्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार चौलागाई र पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष थारु मिलेर हिनामिना गरेका हुन् । प्रेस सल्लाहकार चौलागाई र संघका अध्यक्ष थारुको मिलेमतोमा सञ्चार पत्रकारिता विकास कार्यक्रम अन्र्तगत संचालन गरेका विविध कार्यक्रममा उपस्थिती नै नभएका ब्यक्तिहरुको नक्कली हस्ताक्षर तथा खर्चको विभिन्न बील भर्पाइ तयार पारी रकम हिनामिना गरिएको हो ।

२०७५ जेठ ३० गते नेपालगन्जस्थित स्वस्तिक कटेज एण्ड रेष्टूँरेण्टमा भएको मिडिया दिगो विकास र यसका चूनौती बिषयक छलफल कार्यक्रममा एक दर्जन भन्दा बढी पत्रकारको रकम बुझेको नक्कली हस्ताक्षर गरिएको छ । प्रेस सल्लाहकार चौलागाई र संघका अध्यक्ष थारु मिलेर नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झा, नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष विपुल पोखरेल जस्ता गरिमामय पद धारण गरेका व्यक्तिहरुको समेत रकम बुझेको भनेर नक्कली हस्ताक्षर गरिएको थियो । जब की झा र पोखरेल कार्यक्रममै आएका छैनन् ।