पत्रकारिता र समाजलाई जोड्नका लागि प्रवासमा रहेका नेपाली पत्रकारहरूको भूमिकाबारे क्यानडामा छलफल भएको छ। नेपाल अमेरिका पत्रकार महासंघ (नेजा) को मुख्य आयोजना तथा एनआरएनए क्यानाडा र फेडरेसन अफ क्यानाडा नेपाल च्याम्बर अफ कमर्सको सहआयोजनामा ‘स्ट्रेन्थेनिङ द नेपाली डायस्पोरा इन क्यानाडा थ्रु कम्युनिटी जर्नालिज्म’ विषयक कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमको पहिलो सत्रमा क्यानाडामा नेपाली पत्रकारिताका अभ्यास, चुनौती र सम्भावना तथा पत्रकारितामा एआईको प्रयोगबारे चर्चा गरिएको थियो।
दोस्रो सत्रमा क्यानाडामा व्यवसाय सञ्चालनका अनुभव तथा नेपालमा वैदेशिक लगानी भित्र्याउने सम्भावनाबारे छलफल भयो। सहभागी व्यवसायी तथा विज्ञहरूले लगानीका अवसरसँगै देखिन सक्ने चुनौतीबारे आफ्ना अनुभवहरू आदानप्रदान गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि राजदूत भरतराज पौड्यालले विदेशमा रहेका नेपालीहरूलाई स्वदेशमै लगानी गर्न जोडदार आह्वान गरेका थिए।

कार्यक्रममा युनिभर्सिटी अफ अटोवाका आंशिक प्राध्यापक डा. भानुभक्त आचार्यले पत्रकारितामा एआईको प्रयोग, यसका राम्रा र नराम्रा पक्षबारे अनुभव सुनाएका थिए।
कार्यक्रमको पहिलो सत्र क्यानाडामा भइरहेको नेपाली पत्रकारिताको अभ्यास र अनुभव आदानप्रदानमा केन्द्रित थियो। ३० वर्षभन्दा बढी समयदेखि सञ्चार क्षेत्रमा सक्रिय, राष्ट्रिय सूचना आयोगकी पूर्वआयुक्त यशोदा तिम्सिनाले यो सत्रको सहजीकरण गर्नुभएको थियो।
नेपाल टच मिडियाका सम्पादक बेनुप भट्टराईले क्यानाडामा नेपालीभाषी पाठक, दर्शक र श्रोतालाई लक्षित गरी पत्रकारिता गर्दाका चुनौती र सम्भावनाबारे विचार राखेका थिए।
नेप्लिज कम्युनिटी नेटवर्क अफ क्यानाडा (एनसिएनसी) का अध्यक्ष वेदनिधी गौतमले विदेशमा बस्ने नेपालीलाई विदेशबाटै सञ्चालित नेपाली भाषाका सञ्चारमाध्यमले मातृभाषामै समाचार पस्केर गुन लगाइरहेको उल्लेख गरेका थिए।
अनुभवी पत्रकार अनिल थापाले सैद्धान्तिक पक्षबारे चर्चा गर्दै बदलिँदो समयमा पत्रकारिताको मूल्य-मान्यता जोगाएर पाठकलाई सुसूचित गर्ने काममा चुनौती र अवसर दुवै रहेको बताएका थिए।
एनआरएनए क्यानाडाका वरिष्ठ उपाध्यक्ष डा. पुण्यसागर मरहट्टाले सञ्चालन गरेको उक्त सत्रमा टोरन्टोस्थित सेन्टेनियल कलेजका प्राध्यापक डाक्टर तुल्सी धरेल, व्यवसायी तथा सामाजिक अगुवा विजय पौडेल, रेगुलेटेड क्यानेडियन इमिग्रेसन कन्सल्ट्यान्ट मुगाराज भण्डारी र रियल्टर ऋषिराम गैरे प्यानेलिस्टका रूपमा प्रस्तुत थिए।
नेजाका अध्यक्ष भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) का सह-कोषाध्यक्ष अभिमन्यु बस्नेत, नेजा क्यानाडा पूर्व संयोजक एवं व्यवसायी गोकर्ण लामिछाने, नेजाका सदस्य यशोदा तिम्सिना, जर्जटाउनस्थित तन्दुरी टिक्का लाउन्जमा आयोजित कार्यक्रममा व्यवसायी लक्ष्मण मण्डल, नवीन लुइँटेल, डा. चन्द्र पौडेल, लेखक नरेश ज्ञवाली, दिलिप पौडेल, सञ्चारकर्मी जयराम गौतम, शिशिर सिम्खडा, लोकबहादुर गुरुङ, देवेन्द्र नेपाल, धर्म न्यौपाने, विजय अधिकारी, विन्देश खनाल, विकास गौतम आदिले समेत आ-आफ्नो अनुभव सुनाएका थिए।