सुत्न नपाएपछि आक्रोसित सिडिओ

ध्वनी प्रदुषण रोक्न एसपीलाई निर्देशन


सुत्न नपाएपछि आक्रोसित सिडिओ

नेपालगन्ज : रातीमा आनन्दसँग सुत्न नपाएको झोकमा बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल आक्रोशित बनेका छन् । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र हुने ध्वनी प्रदूषणका कारण आफू रातीमा आनन्दसँग सुत्न पनि नपाएको भन्दै प्रजिअ भुजेल आक्रोशित बनेका हुन् ।

‘आफैलाई चोट नलागी दुखाई महशुस हुँदैन’ भने झै जब प्रजिअ भुजेल नै सुत्न पाएनन् तब ध्वनी प्रदूषण नियन्त्रण गर्नुपर्छ भन्ने
कुरामा उनको ध्यान गयो । मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालयमै उनले मठ, मन्दिर र मस्जिद्बाट आएको ध्वनी प्रदूषणले आफू
रातीमा सुत्न नपाएको गनासो गरेका छन् ।

उपमहानगरपालिका क्षेत्रमा विगत देखि नै यसरी ध्वनी प्रदूषण हुँदै आएको थियो । नगरबासीले यसअघि पनि पटक पटक स्थानीय प्रशासनलाई यसको रोकथामका लागि आग्रह गरेका थिए । यसै बिषयमा अदालतमा मुद्दा परेर अदालतले समेत ध्वनी प्रदूषण रोक्न आदेश गरेको थियो । तर, अदालतको आदेश समेत पालना गराउँन नसकेका बाँकेका प्रमुख जिल्ला अधिकारी भुजेल जब आफू नै ध्वनी प्रदूषणबाट प्रताडित भए अनी मात्र उनले आक्रोशित व्यक्त गर्दै बाँकेका प्रहरी प्रमुखलाई रोकथामका लागि निर्देशन दिए ।

‘आफू नमरी स्वर्ग देखिदैन्’ भने जस्तै बाँकेका प्रजिअ भुजेलले सुत्न नपाएको झोकमा ध्वनी प्रदूषण रोक्न एसपी अरूण पौडेललाई निर्देशन दिएपछि अब उपमहानगरमा विहान बेलुका र राती हुने ध्वनी प्रदूषण कम हुने आशा गरिएको इन्सेक प्रदेश पाँचका संयोजक भोला महत बताउँछन् ।

प्रजिअ भुजेललाई भेट्ने जिल्ला प्रशासन कार्यालय पुगेको अधिकारकर्मीहरूको टोलीलाई रोबहरमा राखि बाँकेका प्रहरी प्रमुख पौडेललाई प्रजिअ भुजेलले यस्तो निर्देशन दिएका हुन् । सहरभित्र विहान र बेलुका हुने गरेको ध्वनी प्रदूषणले आफूलगायत आम नागरिक प्रताडित भएको गुनासो गर्दै प्रजिअ भुजेलले तत्काल यस्तो प्रदुषण नियन्त्रण गर्न एसपी पौडेललाई निर्देशन दिएका हुन् । प्रजिअ भुजेलले मन्दिर, मस्जिद लगायतका स्थानबाट आएको ध्वनी प्रदूषणले आफू रातभरी सुत्न नपाएको गुनासो गरेका छन् ।

दिनभरी अफिसको कामले थाकिएको हुन्छ राती आनन्दसँग सुत्ने वातावरण मिलाईदिनुहोस् एसपी पौडेललाई प्रजिअ भुजेलले भने ‘एसपीसाप के हेरेर बस्नु भएको छ । केही त गर्नुस्।’ धार्मिक, साँस्कृतिक कार्यको नाममा ठूलो स्वरमा बाजा बजाउनु विकृतिको रूप भएकाले सानो
स्वरमा बाजा बजाउनु पर्ने हो तर नियामक निकायकै बेवास्ताका कारण समस्या भोग्नुपरेको स्थानीय बताउँछन् ।

ध्वनी प्रदूषण गर्ने व्यक्ति या समूहलाई प्रचलित कानुन बमोजिम कैद वा जरिवाना वा दुबै हुन सक्ने प्रावधान छ । मुलुकी अपराधसंहिता (ऐन) ०७४ को दफा ११२ को उपदफा २ बमोजिम अधिकार प्राप्त अधिकारीको इजाजतविना यान्त्रिक साधनबाट ध्वनि प्रदूषण गर्नै नपाइने नियम रहेको भए पनि हालसम्म कसैलाई कारबाही गरिएको छैन । न त ध्वनि प्रदूषण नै रोकिएको छ ।