सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना ‘सोसफोर्स’


सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना ‘सोसफोर्स’

नेपालगन्ज : विद्यालयको भौतिक र शैक्षिक वातावरण राम्रो भएपछि सामुदायिक विद्यालय अभिभावक र विद्यार्थीको रोजाइमा पर्ने गरेका छन् । निजी विद्यालयले दिने शिक्षा चित्त नबुझेपछि नेपालगन्ज उपमहानगरपालिका–१८, कारकाँदोका छायाँदत्त शर्माले धम्बोझी माविमा भर्ना गरेका छन् ।

निजीभन्दा सामुदायिक धम्बोझी माविको शिक्षा व्यावहारिक र समय सुहाउँदो भएकाले छोरीलाई धम्बोझी माविमा भर्ना गरेको उनले बताए । सामुदायिक विद्यालयमा मौलिकता हुन्छ, उत्कृष्ट लेखन शैली र अभिव्यक्ति शैली राम्रो हुन्छ । उनले भने, ‘बोर्डिङ स्कुलको घोकन्ते विद्याले उच्च शिक्षामा टेवा पु¥याउन नसकेको देखिन्छ ।’

शर्मा एक प्रतिनिधि पात्र मात्रै हुन् । सामुदायिक विद्यालयका शिक्षक ‘केही गरौं’ भन्ने भावनाबाट अभिप्रेरित भएकै कारण गुणस्तरमा सुधार हुँदै गएको धम्बोझी माविका विद्यालय ब्यस्थापन समिति अध्यक्ष धनबहादुर चन्दको भनाई छ । धेरै अभिभावकले निजीबाट आफ्ना बालबालिका सामुदायिकमा भर्ना गरेका छन् ।

कतिपयले भने माथिल्लो तहमा छात्रबृत्ति पाउने लोभमा निजीबाट सामुदायिकमा भर्ना गरेका छन् । ‘दक्ष, तालीमप्राप्त र पर्याप्त शिक्षक भएका कारण नै सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुध्रिएकोमा द्वविधा छैन,’ धम्बोझी माविका सहायक प्रअ पूर्णबहादुर शाही बताउँछन् ।
विद्यार्थी भर्नाको चाप निकै धेरै छ, हामी भर्ना गर्न सक्ने अवस्थामा छैनौं । अभिभावकहरू सोर्सफोर्स लगाएर भर्ना गर्न आइरहेका छन् । सामुदायिक विद्यालयमा भर्ना लिँदैन भनेर अभिभावकलाई फर्काउन पनि निकै समस्या रहेको सहायक प्रअ शाही बताउँछन् ।

शैक्षिक वातावरण राम्रो भएको र विगतमा राम्रो नतिजा ल्याएका कारण विद्यार्थीको चाप उच्च छ । निजी तथा आवासीय विद्यालय छोडेर सामुदायिकमा भर्ना हुन विद्यार्थी आउन थालेका छन् । सिकाइ उपलब्धी राम्रो भएपछि बाँकेका सामुदायिक विद्यालय अभिभावक र विद्यार्थीको रोजाइमा परेका छन् । कोहलपुरस्थित त्रिभुवन माविमा पनि विद्यार्थीको उस्तै चाप छ । विद्यार्थी आकर्षित गर्न र निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न अंग्र्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइरहेको छ ।

अंग्रेजी र नेपाली माध्यममा पढाइको वातावरण बनेपछि विद्यार्थी संख्या धेरै बढेको प्रधानाध्यापक देवकी थापाले बताइन् । उनलाई भनिन्, ‘निजीमा भन्दा सामुदायिक विद्यालयप्रति बढी विश्वास देखिएको छ । सामुदायिक विद्यालयको पढाईप्रति शंका गर्नुपर्ने कुनै कारण नरहेको अभिभावक बताउँछन् । अभिभावक पदमबहादुर शाही भन्छन्, ‘अंग्रेजीमा राम्रो गरून भनेर निजीमा पढाउने हो, अहिले सरकारी विद्यालयमै अंग्रेजी माध्यममा पढाई भइरहेको छ । किन निजीमा पढाउनु ?’

सरकारी जागिर गर्ने बुवाआमाले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा महँगो शूल्क तिरेर पढाइरहेका बेला धेरै अभिभावकको रोजाईँमा सामुदायिक विद्यालय पर्ने गरेका छन् । सामुदायिक विद्यालयमा सरकारले लगानी बढाएसँगै पढाइको गुणस्तर सुधार हुँदा सामुदायिक विद्यालयप्रति अभिभावकको आकर्षण बढ्दै गएको हो ।

निजीको तुलनामा सामुदायिक विद्यालयको गुणस्तर बढेको धम्बोझी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर चन्दको भनाई छ । उनी भन्छन्, ‘अंग्र्रेजी पढ्नैपर्ने बाध्यताले अभिभावकले जबरजस्ती निजी विद्यालयमा छोराछोरीलाई पठाउने गर्नुभएको छ, सरकारी विद्यालयले गुणस्तर बढाउन थालेपछि अब त्यो बाध्यता रहेन ।’

खजुरास्थित ज्ञानोदय माविमा पनि विद्यार्थीको उत्तिकै घुइँचो लागेको छ । भर्ना हुन चाहने विद्यार्थीको घुइँचो लागेपछि प्रवेश परीक्षा लिएर मात्र विद्यार्थी भर्ना गरिएको विद्यालयका प्रधानाध्यापक ऋषिराम सापकोटाले बताए । उनले भने, ‘प्रवेश परीक्षा नलिएरै भर्ना गर्दा हामी विद्यार्थी थेग्न सक्दैनौं ।’

खजुराको जनता मावि, बैजापुरको सरस्वती मावि, महादेवपुरीको शिवशक्ति मावि र फत्तेपुरको सिद्धेश्वर माविको उत्कृष्ट नतिजाका कारण विद्यार्थीको आकर्षण धेरै छ । बाँकेको कौशिलानगरस्थित कृष्ण माविमा पनि विद्यार्थीको संख्या बढ्दो छ । विद्यार्थीको चाप धेरै हुन थालेपछि प्रवेश परीक्षा लिनुपर्ने सामुदायिक विद्यालयलाई बाध्यता छ ।