अध्यक्षदेखि सांसदसम्म भर्ना अभियानमा सक्रिय


अध्यक्षदेखि सांसदसम्म भर्ना अभियानमा सक्रिय

नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिकामा भर्ना अभियानलाई प्रभावकारी बनाउन सांसद् पनि घरदैलो कार्यक्रममा सहभागी भएका छन् ।
वडा नम्बर ५ मटेहियामा गरिएको घरदैलो कार्यक्रममा क्षेत्र नम्बर १ का संघीय सांसद् महेश्वरजंग गहतराज अथकले पनि सहभागिता जनाएको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए ।

वडा नम्बर ५ को जयरामपुर्वाबाट बाजागाजा र ¥यालीसहित शुरु भएको घरदैलो जमुनाह हुँदै मटेहियामा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै सांसद् गहतराजले शिक्षामा पछाडि परेको नरैनापुरलाई अघि बढाउन आफू लागिपरेको र भर्ना अभियानमा उर्जा थप्न स्वयम् उपस्थित भएको बताए ।उनले आफ्ना बालबच्चालाई विद्यालयमा भर्ना गर्न अभिभावकहरुलाई आग्रह गरे ।

गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले भौतिक विकासले मात्र समाजको विकास पूरा नहुने बताउँदै पारिवारिक र सामाजिक विकासका लागि शिक्षा जरुरी रहेकाले आफूले हरसम्भव प्रयास गरिरहेको बताए । प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी तथा सरोकारवाला संघसंस्था भर्ना अभियानमा संगसंगै रहेको भन्दै भर्नादर सत् प्रतिशत बनाउन आफूहरु लागिपरेको बताए। उनले २०६८ को जनगणना अनुसार गाउँपालिकाको साक्षरता दर ३२ प्रतिशत रहेको जानकारी दिए ।

गाउँपालिकाले यस बर्ष २४ सय जनालाई साक्षर बनाएको र अझैं झण्डै ७६ सय नागरिकले राम्रोसंग पढ्न र लेख्न नजान्ने तथ्यांक प्रस्तुत गर्दै २ हजार विद्यालय जाने उमेरका बालबालिका अहिले पनि विद्यालय बाहिर रहेको उनले बताए।