अस्तव्यस्त ‘नो हर्न’


अस्तव्यस्त ‘नो हर्न’

नेपालगन्ज : ध्वनि प्रदूषण नियन्त्रण गर्न प्रहरीले नेपालगन्ज उपमहानगरभित्र हर्न बजाउन निषेध (नो हर्न) अभियान अस्तव्यस्त हुँदै गएको छ । ट्राफिक कार्यालय नेपालगन्जबाट कोहलपुर सरेसँगै उपमहानगरको नो हर्न अस्तव्यस्त भएको हो ।

ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायले नो हर्न अयिभान कार्यान्वयनमा ल्याएका थिए । तर, रोकाय कोहलपुर सरेसँगै अहिलेका नेपालगन्ज इन्चार्ज भीम ओलीको उदासिनताले तडकभडकका साथ शुरू गरिएको नो हर्न अस्तव्यस्त भएको स्थानीय बताउँछन् । अयिभानलाई निरन्तरता दिई सार्थकतामा लैजानुको साटो नेपालगन्जको ट्राफिक कमाउ खेतीमा बढी लागेपछि ‘नो हर्न’ अभियान पुरानै अवस्थामा आएको स्थानीयको भनाई छ ।

गत बर्षको मंसिर एकदेखि शुरू भएको उक्त अभियान एक वर्ष नपुग्दै फितलो देखिएको छ । उक्त अभियानलाई सफल बनाई नेपालगन्जलाई ध्वनी मुक्त शहरका रूपमा विकास गर्ने प्रहरीकै योजनाबिचमै तुहिएको छ । बढ्दो ध्वनि प्रदूषणले सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पारेको भन्दै उपमहानगरभित्र हर्न निषेध गरिएको बाँकेका प्रहरी प्रमुख एसपी अरूण पौडेलले अभियानको उद्घाटनमै भनेका थिए ।

तर, एक बर्ष नपुग्दै उनी मातहतकै ट्राफिकको निस्क्रियताले अभियान अस्तव्यस्त भएको छ । नो हर्न अभियान सफल पार्न नेपालगन्ज उपमहानगर, नेपालगन्ज उद्योग वाणिज्य संघ, विभिन्न यातायात व्यवसायी समितिका पदाधिकारीले सहयोग गर्ने प्रतिबद्धता जनाएपनि अहिले ट्राफिककै उदासिनताले सबैले आफनै प्रतिबद्धता उल्लघन गरेका छन् ।

शुरूवाती दिनमा नो हर्न अभियान सफल पार्न विभिन्न स्थानमा जानकारीका लागि बोर्डहरू राख्ने र सञ्चार माध्यमबाट व्यापक प्रचार गर्ने गरिएपनि अहिले नेपालगन्ज ट्राफिकले यसका लागि कुनै काम गर्न चासो नदेखाएको नेपालगन्जका लक्ष्मी खत्री बताउँछन् । बजारमा हिँड्दा सवारी साधनको हर्नका कारण केही सुनिँदैन उनले भने, ‘त्यस्तो पनि नो हर्न अभियान हुन्छ ।’ ध्वनि प्रदूषण ७० डेसिबलभन्दा बढी हुन नहुने भन्दै जानकारहरूले कलकारखाना रहेको क्षेत्रमा मात्रै ८० डेसिबल ध्वनि हुने बताएका छन् ।