विराटनगरमा ३० करोडको लागतमा कारागार भवन बनाइँदै


विराटनगरमा ३० करोडको लागतमा कारागार भवन बनाइँदै

File Photo

मोरङ २९ साउन : विराटनगर महानगरपालिकाको हाट खोलामा अत्याधुनिक जिल्ला कारागार भवन निर्माण गर्न लागिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले निर्माणाधीन भवन शिलान्यास गर्दै यसको गुणस्तरमा ध्यान दिन र निर्धारित समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । उनले भवनमा बस्ने कैदीबन्दीको जीवन सुरक्षा गर्नु राज्यको दायित्व भएकाले निर्माणमा कुनै कमी कमजोरी हुन नहुनेमा जोड दिए ।

मूल्य अभिवृद्धि करबाहेक रु ३० करोड ८३ लाखको लागतमा निर्माण गर्न लागिएको सो भवन आशिष, आशीर्वाद, स्वामी नारायण जेभीले बोलपत्र कबुल गरेको छ । विसं २०८० पुस २४ गतेभित्र निर्माण गरिने सो भवन ३६ हजार ८८३ वर्ग फिटको हुने सङ्घीय आयोजना कार्यान्वयन एकाइका प्रमुख गङ्गाप्रसाद यादवले जानकारी दिए ।

कूल १० कठ्ठा १० धुर जग्गामा निर्माण गर्न लागिएको सो भवनमा महिला र पुरुष कैदी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, प्रशासन, कारागार प्रमुख, चमेनागृह र आगन्तुकका लागि अलग–अलग कक्ष रहने छ । भवन निर्माणका लागि शहरी विकास मन्त्रालयले बजेट उपलब्ध गराएको थियो ।

हाल जिल्ला कारागार भएकै ठाउँमा बन्ने सो भवनमा महिला कैदीका लागि ८८ शय्या र पुरुष कैदीका लागि २५० शय्या हुनेछ । हाल पुरानो कारागारमा ७१ महिलासहित ९२९ कैदीबन्दी रहेको कारागार प्रशासनका कर्मचारी रामप्रसाद पोखरेलले जानकारी दिए । नयाँ भवन बनेपछि पनि पुरानो भवनलाई कैदीबन्दीकै लागि प्रयोग गरिने भएको छ । कारागारको कूल क्षेत्रफल तीन बिघा जग्गा छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले नयाँ भवन कैदीबन्दीका लागि निकै सहज हुने बताए निर्माण कम्पनीका प्रमुख केशर बुढाथोकीले राज्यले लगानी गरेको यस प्रकारको भौतिक सम्पत्तिमा कुनै कमी हुन नदिने र निर्धारित समयमै भवन निर्माण गरिने प्रतिबद्धता जनाए । -रासस