भेरी अस्पतालका नर्सले कोभिड विरामीको उपचार गर्दै तीज मनाए


भेरी अस्पतालका नर्सले कोभिड विरामीको उपचार गर्दै तीज मनाए

नेपालगन्ज २४ भदौ : भेरी अस्पताल नेपालगन्जको कोभिड वार्डमा कार्यरत नर्स मधु गुरुङ्ग कोभिड संक्रमितको उपचार गर्दा गर्दै गत वर्ष आफै कोरोना पोजेटिभ भइन् । कोभिड–१९ पोजेटिभ भएकी नर्स गुरुङ्गको गतवर्ष तीज अस्पतालको वार्डमै बितेकोले यस वर्ष परिवारसँग बसेर तीज मनाउने योजनामा थिइन तर, यस वर्षपनि उनले तीज मनाउन घर जान पाइनन् ।

कोहलपुर नगरपालिका वडा नम्बर–१४ घर भएकी नर्स गुरुङ्ग कोभिड वार्डभित्र संक्रमित विरामीकै सेवामा ब्यस्त भइन् । यसपटक पनि उनलाई तीजले छुन सकेन् । तीज भनेपछि हुरुक्कै हुने उनी भन्छिन्–‘रमाइलो गर्न मन लाग्छ । बिरामीको सेवा गर्ने पेशा भएकाले परिवारसंग तीज मनाउन नपाएपनि विरामीको सेवा गर्दै तीज मनाए । अर्को वर्ष त पक्का मनाउनेछु ।’

नर्स गुरुङ्ग जस्तै कोभिड विरामीको उपचार गर्दागर्दै गत वर्ष संक्रमित भएकी नर्स सुष्मा चौधरीले पनि यो वर्ष तीज मनाउन पाइनन् । बाँके बैजनाथ गाउँपालिका वडा नम्बर–४ निवासी उनी नेपालगन्जमै भाडामा बस्छिन् ।

चाडपर्व नजिकिदै जानु र कोभिड वार्डमा संक्रमितको संख्या बढ्दै गएपछि उनको ब्यस्तता झन् बढ्यो । ड्यिुटी नमिलेपछि उनले यस वर्षको तीज कोभिड वार्डमै विरामीको सेवा गर्दै मनाईन । कोभिड वार्डमा एक वर्षदेखि कार्यरत चौधरीले ड्यिुटी नमिलेपछि यसवर्ष परिवारसंगै तीज मनाउन नपाउने भएपछि विरामीसंगै तीज मनाएको बताइन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

पछिल्लो समयमा तिब्र रुपमा बढेको कोरोना संक्रमणले बिरामीको चाप बढेका कारण तीज वार्डमै मनाउने अवस्था आएको उनले सुनाईन् । तीज मनाउनकै लागि थुप्रै चेलीहरु आफ्नो माईती घर पुगिसकेकाछन् । कतिपय नर्सद्वय गुरुङ्ग र चौधरी जस्तै आफ्नो घर पुग्न सकेका छैनन् ।

भेरी अस्पतालको कोभिड वार्डमा कार्यररत नर्सिङ अधिकृत मौनता अर्यालको पनि यसपटक तीज कोभिड वार्डमै बित्यो । तीजको रौनक बाहिर छ, हामीलाई विरामीको सेवा गर्दै तीज मनाउन पाउनुको मज्जा छुट्टै छ । नर्सिङ अधिकृत अर्यालले भनिन्–‘चाडपर्व भनेको खुसीको पनि पल हो । विरामीको उपचार गर्दै उहाँहरु निको भएर डिस्चार्ज हुदाँ झन् खुसी लाग्छ ।’

चार्डपर्व आएपनि आफ्नो जिम्मेवारीका कारण बिरामीको सेवामै सर्मपित हुनुपर्ने अवस्था रहेको उनी बताउँछिन् । उनले भनिन् ‘कोभिड वार्डमा धेरै जना संक्रमितले अहिले स्वास्थ्य लाभ गरिरहनु भएको छ । संक्रमित मध्ये पनि ठूलो संख्यामा महिला हुनुहुन्छ । उहाँहरुको सेवा गर्नु हाम्रो लागि महत्वपुर्ण कुरा हो, बिरामीलाई सञ्चो भयो भने त्यही अनुसार हामी खुसी र सन्तुष्ट हुन्छौं ।’

भेरी अस्पतालकी प्रमुख नर्सिङ प्रशासक(मेट्रोन) दुर्गालक्ष्मी श्रेष्ठले बिरामीको अवस्थाका कारण सबै नर्सलाई विदा दिएर तीज मनाउन सम्भव नभएको बताइन् ।

‘बिरामीको सेवा गर्ने पेशा भएकाले चाँडपर्वलाई पनि नर्सले बिरामीसँगै मनाउनुपर्ने परम्परादेखि चल्दै आएको छ’ श्रेष्ठले अगाडी थपिन्–‘नर्सिङ्ग सेवा भनेको विरामीको वरिपरि रहेर सेवा दिनु हो । चाडपर्व भएपनि छुट्टै परिवारसंग बसेर मनाउन अवसर कम हुन्छ । त्यसैले आफू कार्यरत क्षेत्रमा तीज मनाउनुपर्ने बाध्यता छ ।’

कोरोना संक्रमण अहिले पनि उत्तिकै जटिल अवस्थामा रहेकाले नर्सको जिम्मेवारी झन् धेरै रहेको श्रेष्ठले बताईन् ।

पछिल्लो समय संक्रमणको दर केही घटेजस्तो भएपनि संक्रमण पूर्ण रुपमा नियन्त्रणमा नआएकाले दिनहुँ संक्रमित थपिने क्रम चलिरहेकोछ । कोरोना संक्रमितको चाप बढेका कारण चार्डपर्वको मुखमा नर्स लगायत अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको जिम्मेवारी पनि बढेको छ ।

कोरोनाका कारण यतिबेला सबैजना आआफ्नै घरमा थन्किएकाछन् । घरपरिवारमै सिमित भएको यसपटकको तीजमा थुप्रैले सामाजिक सञ्जालबाटै तीज मनाएकाछन् ।

प्रविधिको उपयोगले सामाजिक सञ्जालमा फोटो, लाइभ भिडियो शेयर गर्दै उनीहरुले यसपटकको तीज मनाए । कतिपयले कोरोनाका कारण माइत जान पाइएन । छिमेकीलाई बोलाउन पाइएन भन्दै स्टाटस शेयर गरेकाछन् ।

यसपटक पनि कोरोनाका कारण तीजमा न त डिजे सिस्टम बज्यो । न त मादलुको आवाज घन्कियो । न त रातो सारीमा सजिएका चेलीको हुल नै देखियो । सुनसान तीज, सुनसान गाउँघर अनि शहरबजार ।