हुम्लाका लागि उड्दै गरेको विमानसंग ठोक्किदा ३ वटा बँदेल टुक्राटुक्रा भए, डेढ घण्टापछि विमानस्थल पुनः सुचारु


हुम्लाका लागि उड्दै गरेको विमानसंग ठोक्किदा ३ वटा बँदेल टुक्राटुक्रा भए, डेढ घण्टापछि विमानस्थल पुनः सुचारु

नेपालगन्ज १६ कार्तिक : नेपालगन्जको राँझा स्थित विमानस्थलको धावनमार्गमै बँदेलसंग विमान ठोक्किएपछि अबरुद्ध बनेको विमानस्थल सञ्चालनमा आएकोछ । नेपालगन्जबाट हुम्ला, सिमकोटका लागि उडान भर्दै गरेको सिता एयरको ९एन–एएचबी नम्बरको जहाजसँग मंगलबार बिहान तीन वटा बँदेल ठोक्किएपछि विमानस्थल अवरुद्ध बनेको थियो ।

नेपालगन्ज विमानस्थल कार्यालयका प्रमुख सुवास झाका अनुसार विमानसंग बँदेल ठोक्किएर बँदेलको मासु धावन मार्गभरी छरपस्ट बनेपछि करिब डेढ घण्टाका लागि बिमानस्थल बन्द गरिएको थियो ।

मङ्गलबार बिहान करिव ७ बजेदेखी ८ः३० मिनेटसम्म नेपालगन्ज विमानस्थलका सम्पुर्ण उडान बन्द गरिएको थियो । धावनमार्गमै छरपस्ट बँदेलको मासु र रगत सफा गरिसकेपछि अवरुद्ध बनेको नेपालगन्ज विमानस्थल डेढ घण्टापछि सञ्चालनमा आएको छ ।

अवरुद्ध भएको विमानस्थल बिहान ८ बजेर ३० मिनेटदेखी सञ्चालनमा आइसकेको झाले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

‘विमानस्थल अहिले सञ्चालनमा आइसकेको छ, धावनमार्ग सबै सफा गरेपछि सञ्चालनमा ल्याएका हौं,’ उनले भने । विमानस्थल सञ्चालन भएपछि काठमाडौंबाट बुद्ध, श्रीएयर लगायत कम्पनीका जहाज नेपालगन्ज आएर पनि काठमाडौं फर्किसकेको झाले बताए ।

प्रमुख झाका अनुसार मंगलबार बिहान करिव ७ बजेतिर चालक दलका सदस्यसहित १७ जना सवार सिता एयरको उक्त जहाज हुम्लाका लागि उडान भर्दै थियो ।

धावन मार्गमा गुडिरहेका बेलामा जहाजको चक्कामा समस्या आएको जस्तो महसुस भएपछि पाइलटले जहाजको उडान रोकी दुर्घटना हुनबाट जोगाएका थिए ।

जहाज रोकेर हेर्दा घटनास्थलमा तीन वटा बदेल टुक्रा–टुक्रा परेको अवस्थामा फेला परेका थिए । बदेलको मासु धावन मार्गभरी छरिएका कारण बिहान पानीले धोएर सफा गरिएको विमानस्थल कार्यालय प्रहरी इन्चार्ज, एवम् प्रहरी नायव निरीक्षक (सई) सन्तोष शाहले बताए ।

‘धावनमार्ग भरी मासु र रगत थियो, बिहान दमकलको पानीले सफा गर्यौं,’ शाहले भने ‘जहाजलाई पार्किङ क्षेत्रमा ल्याएर राखेका छौं, करिव डेढ घण्टा जति अवरुद्ध रहेको विमानस्थल सञ्चालनमा आइसकेको छ ।’
जहाजमा रहेका चालक दलका सदस्यसहित सबै यात्रु सकुशल रहेको र उक्त जहाजको उडान रद्ध भएका कारण यात्रुहरु घर फर्किएको विमानस्थल कार्यालयले जनाएको छ ।

जहाजसँग ठोक्किएका बदेललाई कानुनी प्रक्रिया पुरा गरी गाडिएको शाहले बताए । उनका अनुसार बिहान सिता एयरले उडान भर्नुअघि डोल्पाका लागि तारा र समिट एयरले उडान भरेका थिए । ‘तेस्रो उडान भर्दै गर्दा बदेल ठोक्किएको हो,’ उनले भने ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० राँझा स्थित नेपालगन्ज विमानस्थलको पूर्वतर्फ जङ्गल रहेकोछ । जङ्गलसंगै आसपास मानव बस्ती र खेतीयोग्य जमिन रहेकाले बेलाबखत वन्यजन्तु नेपालगन्ज विमानस्थलमा आउने गरेकोछ । यसअघिपनि धावनमार्गमै बँदेलसंग विमान ठोक्किन पुगेको थियो । भने पटक–पटक बँदेल, स्याल लगायतका वन्यजन्तु विमानस्थल क्षेत्रमा देखिने गरेका छन् ।