वन्यजन्तुबाट बचाउन विमानस्थलको झाडी सफाइ


वन्यजन्तुबाट बचाउन विमानस्थलको झाडी सफाइ

नेपालगन्ज १७ कार्तिकः उडान भर्न लागेको विमानसंग धावनमार्गमै तीन वटा बँदेल ठोक्किएको घटनापछि नेपालगन्ज विमानस्थलको झाडी सफाई गरिएकोछ ।

नेपालगन्जबाट हुम्लाको सिमकोटका लागि उड्न लागेको सिता एयरको ‘९ एन–एएचबी’ जहाजसँग मंगलबार तीन वटा बदेल एकैपटक ठोकिएका थिए । ठूलो दुर्घटना हुनबाट विमान बचेको थियो ।

धावन मार्ग वरिपरी बढेको झाडी र बुट्यानमा बस्ने वन्यजन्तु पटक– पटक जहाजसँग ठोकिने क्रम बढ्न थालेपछि बुधबारबाट सरसफाई सुरु गरिएको हो । विमानस्थलको ‘रनवे’ वरिपरीको झाडी र बुट्यान हटाउन ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन समेत गरिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य खत्रीले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका एक सय ५० जना जनशक्तिलाई सरसफाईमा खटाइएको जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

‘यो काम खासमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो बजेटबाट गर्नुपर्ने हो, तर पटक–पटक जहाजसँग वन्यजन्तु ठोकिने क्रम बढ्न थालेपछि सुरक्षाका हिसाबले तत्कालै सरसफाई गर्नु परेको हो ।’ बुधबारबाट सुरु भएको सरसफाई केहीदिनसम्म चल्ने प्रजिअ खत्रीले बताए ।

सरसफाइमा प्रजिअ खत्रीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभागका जिल्लास्थित प्रमुख, नागरिक उड्डयन प्राधिकरणका कर्मचारी लगायत पनि उपस्थित छन् । नेपालगन्ज बिमानस्थलको सुरक्षा लापरबाहीले गर्दा पटक–पटक यस्ता जोखिमको बेहोर्नु परिरहेको छ । विमानस्थलको हाल १७ सय मिटर लामो धावन मार्ग छ ।

धावन मार्ग वरिपरी बाक्लो मात्रामा झाडी र बुट्यान छन् । त्यहाँ बदेल, खरायो, निलगाई, दुम्सी, स्याल लगायत वन्यजन्तुले बासस्थान नै बनाएका छन् ।