मान्छे खाने बाघ समात्न प्राविधिक टोली आएन, दुई वटा हात्तिबाट बाघ धपाउँदै निकुञ्ज


मान्छे खाने बाघ समात्न प्राविधिक टोली आएन, दुई वटा हात्तिबाट बाघ धपाउँदै निकुञ्ज

के राष्ट्रिय निकुञ्जले मान्छे खाने बाघ धपाउन ल्याएको घरपालुवा हात्ति । तस्विर : सेतोखरी

नेपालगन्ज २५ पुष : दुई दिनको अन्तरमा बाघले मान्छे खाएको बाँकेको राप्तीसोनारी गाउँपालिकामा बाघ धपाउन भन्दै बाँके राष्ट्रिय निकुञ्जले २ वटा हात्तिसहितको टिम परिचालन गरेकोछ । बाँकेको ढकेरीबाट घरपालुवा हात्ति लिएर यही शुक्रबार गएको निकुञ्जले आईतबारसम्म बाघ धपाउन सकेको छैन । न त बाघलाई नै भेट्यो ।

बाघ आतंकबाट त्रसित बनेका राप्तीपारी आईतबार बेलुका एकाएक गाउँमा बाघ पसेको हल्लाले स्थानीय झन् त्रसित बन्न पुगे । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर–६ स्थित फत्तेपुर गाउँमै बाघ पसेको हल्ला फैलिएपछि स्थानीय बासिन्दा आतंकित बने ।

बाघको आक्रमणबाट शनिबार ज्यान गुमाएकी राप्तीसोनारी–६ फत्तेपुर हब्रहवा निवासी ३० वर्षीया चाँदनी थारुको घर नजिकै बाघ आएको हल्लाले एकाएक तरङ्ग ल्यो । गाउँमै बाघ पसेको डरले कतिपयले जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल नम्बर १०० मा खबर गरि बाघ आएको प्रहरी पठाउनुहोस् भन्ने खबर दिए ।

गाउँमा बाघ पसेको खबर पाए लगत्तै ईलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रहरी निरीक्षक वसन्त गौतम घटना स्थलमा पुगे । बाघ आएको भन्ने स्थानमा रहेका प्रहरी निरीक्षक गौतमले यहाँ बाघ आएको वा गाउँमा बाघ पसेको भन्ने कुनै प्रमाण न भेटिएको बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

सेतोखरीसंग टेलिफोनमा कुरा गर्दै उनले भने–‘बाघ आएको हल्ला एक्कासी फैलिँदा स्थानीय त्रसित बनेकाछन् । तर, गाउँमा बाघ पसेको यकिन पुष्टि भएको छैन ।’

उनले भने हामीले बाघ आएको कुनै प्रमाण फेला पारेका छैनौं । कसैले पनि बाघलाई देखेको प्रमाण छैन । घटना स्थल वरपर बाघ वा त्यस्तै वन्यजन्तुको कुनै छाप निशान देखिएन । बाघ नभएर कसैले आफै बाघ आएको वा बाघ जस्तो मानेर बाघ गाउँमै पसेको भन्ने हल्ला फैलाएको हुनसक्छ । यद्यपी हामी अनुसन्धान गरिरहेका छौं ।

बाघले विगत एक हप्तादेखी राप्तीपारीस्थित बैजापुर, बिनौना र फत्तेपुरको राष्ट्रिय वनभित्र मान्छे र पशु चौपायामाथी निरन्तर आक्रमण गर्दै आएको छ । बाघको श्रृंखलाबद्ध आक्रमण नरोकिएपछि राप्तीपारीका स्थानीय अहिले निकै त्रसितमा छन् ।

बाघको निगरानी गर्न बाँके राष्ट्रिय निकुञ्जले विगत तीन दिनदेखी राप्तीपारी क्षेत्रमा दुई वटा हात्तीसहित कर्मचारी तथा सुरक्षाकर्मी परिचालन गरेको छ । बाघले आतंक मच्चाइरहेको स्थान राष्ट्रिय तथा सामुदायिक वन क्षेत्र अन्तरगत पर्ने भएकाले डिभिजन वन कार्यालय बाँकेका कर्मचारी पनि परिचालित भएका छन् । तर, बाघ नियन्त्रणका लागि अहिलेसम्म कुनैपनि निकायले गम्भिरता नदेखाएको स्थानीय बासिन्दाको आरोप छ ।

राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले बाघलाई चाँडोभन्दा चाँडो नियन्त्रणमा लिएर जनतालाई त्रासर थप क्षती हुनबाट मुक्त गर्न आफुले सम्बन्धित निकायसँग बारम्बार आग्रह गरिरहेको बताएका छन् । ‘बाघलाई नियन्त्रणमा लिएर अन्यत्र नलैजादाँसम्म यो ठाउँमा यस्ता घटना दोहोरि रहन सक्छ,’ उनले भने ‘सम्बन्धित निकायले तत्काल बाघलाई नियन्त्रणमा लिइ्, जनताको जीउधन सुरक्षा गर्दै त्रासबाट मुक्त गराइनुपर्छ ।’ जनताको जीवनसँग जोडिएको विषयलाई गम्भीरताका साथ लिनुपर्नेमा चासो नदेखिएको हो कि भन्ने शंका जागेकोे गाउँपालिका अध्यक्ष थारु बताए ।

यसैबीच, डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत गणेश खड्काले बाघलाई नियन्त्रण गर्ने तयारी भएपनि प्राविधिक टोली आउन ढिलो भएको बताए । बाघलाई नियन्त्रण गर्नका लागि चितवन र बर्दियाबाट दुई वटा टोली आईतबार नै बाँके आइपुग्नुपर्ने हो, तर प्राविधिक टोली त्यता पनि बाघ सम्बन्धी काममै ब्यस्त भएको हुँदा समयमा आउन नसकेको बताए ।

बाघले मानवीय र पशु चौपायामा निरन्तर क्षति गर्न थालेपछि कार्यालयले माइकिङ र स्थानीय एफएम रेडियोमार्फत प्रचार प्रसार गरिरहेको उनले बताए । यस्तै निकुञ्जबाट ल्याइएका हात्ती र कर्मचारी टोलीले नियमित गस्ती गरिरहेको जानकारी दिए । ‘जनतामा सचेतना फैलाउने र हात्तीमार्फत गस्ती गर्ने काम भइरहेको छ, वन प्रवेशलाई निषेध गर्ने कुरामा सबै पक्षबाट सहयोग भइरहेको छ,’ उनले भने ‘बाघ नियन्त्रण र ब्यवस्थापन गर्ने काम प्राविधिक टोली आएपछि हुनेछ ।’

यसअघि पनि बाँके राष्ट्रिय निकुञ्जले मान्छे खाने बाघ समात्न आहाराका रुपमा राखेको पाडो बाघले सुटुक्क खाएको थियो । मान्छे खाने बाघ समात्न बाँके राष्ट्रिय निकुञ्जले आहाराका रुपमा राखेको पाडो ६ दिनका दिन दुई वटा पाटेबाघले सुटुक्क खाएका थिए । मान्छे र पशु चौपाया मार्ने बाघ नियन्त्रणमा लिनका लागि निकुञ्जले महेन्द्र राजमार्गभन्दा करिब डेढ सय मिटर उत्तरतर्फ निकुञ्जभित्र एउटा पाडो बाँधेर राखिदिएको थियो । पाटेबाघ समात्न निकुञ्जले राखेको पाडोलाई ५ दिनसम्म नखाएपछि बाघ समाउने निगरानी बढाइएको थियो । अन्ततः पाटेबाघले ६ औं दिन अर्थात असोज ४ गते राती पाडो खाएको निकुञ्जका सहायक संरक्षक अधिकृत एवम सूचना अधिकारी गोपाल घिमिरेले बताएका थिए ।

बाघले शनिबार राप्तीसोनारी–६ फत्तेपुरकी ३० वर्षीया चाँदनी थारु र बिहीबार राप्ती सोनारी ४ पर्सोना की ५३ वर्षीया लिला बिष्टको मृत्यु भएको थियो । लगातार ४ दिन बाघ आक्रमणबाट राप्तीपारी दुई जनाको मृत्यु भयो भने दुई जना बाँच्न सफल भए । यसअघि राप्ती सोनारी १ गाभर र नरैनापुरमा एक/एक जनाको मृत्यु भएको थियो ।

थप समाचार

पुषमै बाघ आक्रमणको ५ घटना, २ जनाले अनाहकमा ज्यान गुमाए

मान्छे खाने पाटेबाघ निकुञ्जले समाउन सकेन

मान्छे खाने बाघले निकुञ्जले राखेको पाडो सुटुक्क खायो