मान्छे खाने पाटेबाघ निकुञ्जले समाउन सकेन


मान्छे खाने पाटेबाघ निकुञ्जले समाउन सकेन

बाँके राष्ट्रिय निकुञ्जले मान्छे खाने बाघ समाउन ल्याइएको घरपालुवा हात्ति । तस्विर: दामोदर भण्डारी /सेतोखरी

नेपालगन्ज १६ असोज : बाँकेको पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्र्तगत गाभर नजिक पाटेबाघले आफ्नो दवदवा कायम गरिरहेकोछ । गाभर नजिकै गत भदौ २७ गते आईतबार बेलुका सडकबाट तानेर एक ४५ वर्षिय भारतीय पुरुषलाई २ वटा पाटेबाघले खाएका थिए । मान्छे खाने ती दुई वटा पाटेबाघ त्यसपछि लगातार सो क्षेत्रमा देखिन थाले ।

पाटेबाघको आतंकले त्रसित स्थानीयबासीले बाघको उचित ब्यवस्थापनको माग गरिरहँदा बाँके राष्ट्रिय निकुञ्जले मान्छे खाने पाटेबाघ समात्न पुरै बन्दोबस्तका साथ लागि परेकोछ । यद्यपी यो घटना घटेको तीन हप्ता वित्दा पनि सोही क्षेत्रमा शनिबार पुनः बाघले मान्छेमाथि आक्रमणको असफल प्रयास गरेकोछ ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर– १ गाभरमा भैंसी र बाख्रा लिएर चराउन गएका स्थानीय तीन जनाई बाघले घेरा हाल्यो । पूर्व पश्चिम राजमार्गदेखी करिब एक किलोमिटर दक्षिण खर्चेताल नजिक तीनवटा पाटेबाघले भैंसी र बाख्रा चराउन गएकालाई शनिबार दिउँसो घेरेपछि उनीहरुले आफ्नो ज्यान जोगाउन रुखमा चढेका थिए ।

गाभर निवासी अन्दाजी ५६ वर्षका सेतु ओली, २५ बर्षिया हीरा खड्का र २४ बर्षिया कालिका खड्कालाई बाघले घेरे पछि निकुञ्जका हात्ती प्रयोग गरि सकुशल उद्धार गरियो । बाघले घेरिरहेका अवस्थामा नजिकै चराउन लगिएका हात्तीलाई प्रयोग गरि माउतेले उद्धार गरेको स्थानीय टोपबहादुर भण्डारीले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

बाँके राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर प्रमुख उत्तम चौधरीले जंगलमा पुनः बाघ देखिएको र बाघले घेरेको भन्ने जानकारी आएपछि त्यसतर्फ हात्तीसहित नेपाली सेना परिचालन गरिएको जानकारी दिए ।

जंगलमा रहेकाले कर्मचारीसँग मोबाइल फोनमा सम्पर्क हुन नसकेको उनले बताए । यद्यपी भैंसी र बाख्रा चराउन लगेका स्थानीय तीनजनालाई घेरा हाल्ने पाटेबाघ मान्छे खाने बाघ नै हुन वा अन्य बाघ त्यो यकिन हुन सकेको छैन ।

गाभरमा पाटेबाघले मान्छे खाएको घटना सेलाउन नपाउँदै पुनः तीन वटा पाटेबाघले मान्छे घेरेपछि यतिबेला सो क्षेत्रका स्थानीयबासी त्रसिद बनेकाछन् । उनीहरुको दैनिकी समेत प्रभावित बनेकोछ । सो क्षेत्रमा पटक–पटक बाघ देखिनु, स्थानीयको पशुचौपाया र मान्छेलाई झम्टिने घटना बढ्दै गएपछि बाघलाई नियन्त्रणमा लिन निकुञ्जले लापरबाही गरिरहेको स्थानीयले बताएकाछन् ।

केही दिनअघि बाँके राष्ट्रिय निकुञ्जले मान्छे खाने बाघ समात्न आहाराका रुपमा राखेको पाडो बाघले सुटुक्क खाएपछि निकुञ्जको बाघ समात्ने काम असफल बनेकोछ ।

यता बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले मान्छे खाने बाघ समात्न खोर, हात्तीसहित २२ जनाको प्राविधिक टोली अझैं जङ्गलमै रहेको बताए । मान्छे खाने पाटेबाघ नियन्त्रण गर्नका लागि टोलीले बाघमाथि विशेष निगरानी बढाएको बताउँदै निकुञ्जका प्रमुख संरक्षण अधिकृत साले मान्छे खाने बाघलाई ‘डार्ट’ गरि नियन्त्रणमा लिने योजना छ ।

अहिले बाँके निकुञ्जमा सबैभन्दा बढी संख्यामा बाघ देखिएको ठाउँ राप्तीसोनारीको गाभर र सौरीबीचको जंगल हो । निकुञ्जले राखेको क्यामेरामा यसअघि चार वटा बाघ कैद भइसकेका छन् । अझै अरु बाघ पनि त्यस क्षेत्रमा हुन सक्ने निकुञ्जको अनुमान छ ।

बाघले मान्छे खाएको ३ हप्ता पुग्दा समेत बाघ नसमातिएपछि बाँकेको गाभर, कुसुम, सौंरीगाउँका बासिन्दा बाघ आएर झम्टिने हो की भनेर त्रसित बनेकाछन् ।

स्थानीय बासिन्दाले पटकपटक बाघ गाउँ नजिकै र राजमार्गमा ओहोरदोहोर गरिरहेकाले डरले दैनिक कामहरु समेत गर्न नसकेको भन्दै सरकारले बस्ति नै सारिदिनुपर्ने वा बाघलाई नियन्त्रणमा लिइनु पर्ने आवाज उठाउँदै आएकाछन् ।

मान्छे खाएको घटना र ती दुई पाटेबाघ पूर्वपश्चिम महेन्द्र राजमार्गमै पटक–पटक देखिएकाले जिल्ला प्रशासन कार्यालय बाँकेले गत भदौ २८ गते सोमबार एक सूचना जारी गरि सो सडकमा रात्रिकालिन आवागमनमा रोक लगाएकोछ । विशेषगरि रात्रिकालिन समयमा हलुका र खुला गाडी टेम्पो, मोटरसाईकल, साईकल, पैदलयात्रीलाई हिँडडुलमा रोक लगाएकोछ । भने दिनमा यी सवारीसाधन समुहमा पठाउन मात्र अनुमति दिएकोछ ।