कुमाल बस्तीमा खानेपानीको समस्या


कुमाल बस्तीमा खानेपानीको समस्या

पाल्पा ७ चैत्र : ‘एक घर एक धारा’को नीति कार्यान्वयन नहुँदा रैनादेवी छहरा गाउँपालिका–३, छचुवाको कुमाल बस्तीमा खानेपानीको समस्या कायमै छ ।

यहाँ ११० परिवार कुमाल जातिको बसोबास छ । खानेपानीको धारा जडान नहुँदा पानी बोकेर खानुपर्ने समस्या छ ।

कुमाल बस्तीको तल्लो भागमा मुहानबाट चौबिसैघण्टा पानी बगिरहेको छ । पानीको व्यवस्थापन गर्न हम्मेहम्मे हुने गरेको स्थानीय शर्मिला कुमाल बताइन् ।

अध्ययन गर्ने बालबालिकाले अधिकांश समय पानीकै लागि समय खर्चिनुपरेको छ । ‘पढाइ गर्न समयै नै हुँदैन’, उनले भने । पानी डोकोमा बोक्नुपर्ने बाध्यता छ ।

Kanti Aarogya Hospital Nepalgunj

मुहानबाट बगेको पानी व्यवस्थित गरी अस्थायी धारा निर्माण गरिएको छ । अस्थायी धाराबाटै स्थानीय बासिन्दाले काम चलाएका छन् । कुवाको पानी ग्रागीमा बोकेर लैजाँदा आधा घण्टा जति समय खर्च गर्नुपर्ने बाध्यता अझै नहटेको स्थानीय बैंकाले कुमालले बताए ।

लिफ्ट प्रणालीबाट खानेपानीको वितरणको व्यवस्था गर्नुपर्ने स्थानीयबासीको माग छ । विसं २०५४ मा कुमाल बस्तीमा खानेपानीको धारा जडान गरिएको थियो । टोलटोलका धारा विस्थापित भएपछि बस्तीमा खानेपानीको असुविधा भएको हो ।

प्रदेश सरकारको १० लाख सहयोगमा पानी सङ्कलन गर्ने ट्याङ्की निर्माण र पाइप खरिद कार्य सम्पन्न भएको वडाध्यक्ष लालबहादुर दर्लामीले बताए । एक घर एक धारा जडानका लागि काम अन्तिम तयारीमा रहेको वडाध्यक्ष दर्लामी बताए । -रासस