नेपाली काँग्रेसको महाधिवेशन : देउवाको समूहले आजदेखि वडाबाट सुरु गर्देैछ


सेतोखरी सेतोखरी   ४८ मिनेट अगाडि
नेपाली काँग्रेसको महाधिवेशन : देउवाको समूहले आजदेखि वडाबाट सुरु गर्देैछ

नेपालगन्ज। गर्दै नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले आजदेखि १५ औँ महाधिवेशनका चरणहरू सुरु गर्दैछ। त्यसका लागि आजबाट वडा अधिवेशनहरू हुनेछन्।

अधिवेशन सुरु हुने दिन बिहीबार देउवाले पार्टी सभापतिकै हैसियतमा एक अपिल जारी गरेका छन्। उनले यी वडा अधिवेशनहरूमा सक्रियताका साथ सहभागी हुन सबै कार्यकर्ताहरूलाई अपिल गरेका छन्।

‘नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तरगतको देशभरका वडाहरुको अधिवेशन आजबाट सुरु हुदैछ। झण्डै आठ दशक लामो इतिहास बोकेको पार्टीको यो अधिवेशन निकै महत्वपूर्ण छ। हामीले नेपालमा लोकतान्त्रीक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता, विधिको शासनका लागि गरेका वलिदान,त्याग र सर्घषलाई थप मजवुत बनाउन पनि १५ औं महाधिवेशन हाम्रा लागि निकै महत्वपूर्ण छ’ देउवाले भनेका छन् ‘म तमाम नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुमा आजदेखि देशभरका ६ हजार ७ सय ४३ वडामा एकै साथ विधि र प्रक्रिया पुरा गरेर सुरु हुन लागेको अधिवेशनमा हर्ष उल्लाशका साथ सहभागि भएर सम्पन्न गर्नुहुनु हार्दिक अनुरोध गर्दछु।’

कांग्रेसको संस्थापन पक्षले असोज १८ गते महाधिवेशन उद्घाटनको तयारी गरिरहेकैबेला देउवा समूहले पनि समानान्तर अधिवेशन थालेको र यसका लागि आज वडा अधिवेशन सुरु गर्न लागेको हो। देउवा समूहले पनि १५औं महाधिवेशन आगामी २१(२३ मंसिरका लागि तोकेको छ।

सोहीअनुसार नै यस समूहले यही २० असोजमा पालिका, २३ असोजमा प्रदेश सभा निर्वाचन क्षेत्रीय र ४ मंसिरमा प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरेर सोको जानकारी निर्वाचन आयोगलाई गराइसकेको छ। सो समूहले ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृतसमेत पठाइसकेको जानकारी सो पार्टीका नेता किरणराज पौडेलले दिए।

कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको तर्क गर्दै अहिले महाधिवेशन गर्न नहुने माग देउवा पक्षको थियो तर संस्थापन पक्ष भने यही ३ असोजदेखि नै महाधिवेशनमा होमिइसकेकाले इतर पक्षले पनि महाधिवेशनको कार्यतालिका नै तोकेर तयारी थालेको हो।

देउवा पक्षले आजदेखि सुरु गर्न लागेको वडा अधिवेशनका लागि ५६ जिल्लामा निर्वाचन संयोजक पनि खटाइएको जनाएको छ।

सो समूहको महाधिवेशन आयोजक समितिका संयोजक डा‍. शशांक कोइरालाले वडा तहदेखि नै संगठनलाई बलियो, अनुशासित र जनमुखी बनाउन आवश्यक रहेको बताउँदै कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता र क्रियाशील सदस्यहरुलाई उच्च मनोबल, उत्साह र सक्रियताका साथ वडा अधिवेशनमा सहभागी हुन अपिल गरेका छन्।

देउवा पक्षीय समूह १४औँ महाधिवेशनबाट निर्वाचित भएको कार्यसमिति नै आधिकारिक भएको दाबी गर्दै संस्थापन पक्षले आह्वान गरेको महाधिवेशन प्रक्रियामा सहभागी भएको छैन्।