पत्रकार हेमन्त मल्ल प्रक्राउ : सांसद र गृहमन्त्रालयकै नाम जोडिएको अडिओ  प्रकरण के हो?


सेतोखरी सेतोखरी   ४९ मिनेट अगाडि
पत्रकार हेमन्त मल्ल प्रक्राउ : सांसद र गृहमन्त्रालयकै नाम जोडिएको अडिओ  प्रकरण के हो?

नेपालगन्ज। बाँकेका एकजना पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ। बर्दियाका एकजना सांसद र गृहमन्त्रीसँग ‘सेटिङ’ भएको दाबी गर्दै लेनदेनको विषयमा भएको कुराकानीको अडिओ सार्वजनिक भएपछि त्यसबारे प्रहरीले अनुसन्धान थालेको थियो। पटक पटक विवादमा आइरहने उनि आशिष मल्ल हुन्।

प्रहरीले उनलाई फेला पारेर सोधपुछका लागि गर्न खोज्दा प्रहरीलाई उल्टै सार्वजनिकस्थलमा गालीगलौज गर्न थालेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनलाई प्रहरीले गृहजिल्ला बाँकेबाटै नियन्त्रणमा लिएर काठमाडौं पुर्‍याएको हो। जिल्ला प्रशासन कार्यालयबाट दुई दिनको म्याद थपेर प्रहरीले उनिमाथि थप अनुसन्धान गरिरहेको छ। बाँकेको नेपालगन्ज उपमहानगरपालिका-४ स्थायी घर भएका मल्ल काठमाडौंको कागेश्वरी मनोहरामा बस्दै आएका थिए। प्रहरीले उनलाई ‘गृहमन्त्रीका सचिवालय सदस्यसँग सम्पर्क छ भनि अडिओ संवाद गर्ने एकजना पक्राउ’ भनेर सार्वजनिक गरेको छ।

केही दिनअघि ‘जनआस्था’ साप्ताहिकको अनलाइन पोर्टलले उक्त अडिओ सार्वजनिक गरेको थियो। त्यसमा आशिष मल्ल र अर्का पत्रकार हेमन्त चौधरीबीच भएको संवाद छ। जसमा चौधरीले वर्दियाबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ठाकुरसिंह थारुको ‘सल्लाहकार’ भएको दाबी गरेका छन्। उक्त संवादमा चौधरीले त्यही आधारमा गृहमन्त्रालयदेखि कारागार विभागसम्म करोडौंको लेनदेन भएको खुलासा गरेका छन्। अनि मल्लले त्यसमा ‘हो’ मा हो मिलाएका छन्।

त्यस्तै चौधरीले यी क्षेत्रका कुनै सरकारी काम भए आफूलाई भन्न पनि आग्रह गरेको सुनिन्छ। गृहमन्त्रालय र कारागारा विभाग अन्तर्गत हुने सरुवा बढुवामा आफ्नो माथिसम्मै ‘सेटिङ’ भएको भन्दै चौधरीले ढुक्क भएर त्यस्ता ‘काम’ दिन भनेका छन्। त्यस्तै अडिओमा जसमा डिभिजन वन कार्यालयको विभिन्न जिल्लाका हाकिमलाई सरुवा गरेको र जेलमा कर्मचारी भर्ति गर्दा आउने कमिसनको बारेमा कुराकानी गरिएको छ ।

उक्त अडिओ सार्वजनिक हुनासाथ प्रहरीले मल्ललाई पक्राउ गरेको थियो। चौधरी भने फरार छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार उनिविरुद्ध अरु पनि मुद्दाहरू छन्। बाँके जिल्ला प्रहरी कार्यालयको रेकर्डअनुसार उनिविरुद्ध दूरसञ्चार ऐनको मुद्दामा फरार सूचिका अभियुक्त पनि हुन्। त्यस्तै उनिविरुद्ध २०७७ सालदेखि विभिन्न मितिमा अभद्र व्यवहार, बैंकिङ कसुर तथा ठगीसम्बन्धि कसुरजस्ता विभिन्न ६ वटा मुद्दाहरू छन्। 

यसअघि पनि उनि पटक पटक विवादमा आएका थिए। चेतन मानन्धर हत्या अभियोगमा जेल भोगिरहेका रिगल ढकाललाई आममाफी दिइएपछि उनले चेतनकी श्रीमतीलाई माइतीघर ल्याएर धर्नामा बसाएका थिए। पछि सर्वोच्च अदालतले कैद मिनाहा बदर गरिदिएपछि रिगल अहिले पनि कारागारमै छन्। केही दिनअघि ‘चुरो कुरा’ अनलाइन टिभीमा मल्लले अन्तर्वार्ता दिएका छन्। त्यसमा उनले रास्वपाका सांसद खगेन्द्र सुनारले रिगलकै आडमा चुनाव जितेको दाबी गरेका छन्। सुनार बाँके ३ बाट निर्वाचित रास्वपाकै सांसद हुन्। 

उक्त अडिओ सार्वजनिक भएपछि सांसद ठाकुरसिंह थारुले त्यसबारे प्रतिक्रिया दिँदै आफूले हेमन्त चौधरीलाई राम्रोसँग चिनेको तर मल्ललाई नचिनेको दाबी गरेका छन्। 

‘पत्रकार हेमन्त चौधरीलाई म चिन्दछु। यस कारण कि म पत्रकार महासंघ बाँकेको अध्यक्ष हुँदा उनी साधारण सदस्य थिए। थारु पत्रकार संघको केन्द्रीय महासचिव पनि भएको र म पूर्व सल्लाहकार भएकोले उनिसँग चिनजान भएको नाताले भेटघाट हुने नै भयो। अर्का पत्रकार अशिस मल्ल ठकुरीलाई राम्रोसँग चिन्दिनँ। तर, उनि पटक पटक विवादमा आउने, मुद्दामा मुछिने गरेको समाचार पढेको छु। हेमन्त मेरो कुनै सल्लाहकार होइन। स्वकीय पनि होइन। उनले मलाई दाइ भन्छन्। पत्रकार हेमन्त र अशिषबीच के प्रसंगमा के कुरा भएको हो, मलाई कुनै जानकारी छैन’ सांसद थारुले भनेका छन् ‘फेरि पनि हेमन्त मेरो कोही पनि होइन, पत्रकारको नाताले चिन्दछु। त्यसैले उक्त घटनामा मेरो कुनै संलग्नता नरहेको जानकारी गराउँदै भ्रमको पछि नलाग्न अनुरोध छ।’

त्यस्तै पत्रकार हेमन्त चौधरीले पनि त्यो कुरा रक्सी पिएर मातेका बेलामा भएको दाबी गरेका छन्। तर उनि हाल फरार छन्। प्रहरीले उनको पनि खोजी भइरहेको जनाएको छ। वास्तविक नाम हेमबहादुर थारु रहेका उनि यसअघि नेपाल पत्रकार महासंघ बाँकेका सहसचिवसमेत रहिसकेका थिए। उनिविरुद्ध पनि बैंकिङ कसुरमा पक्राउ पूर्जी जारी भएको थियो।