बर्दिया र कैलालीका उखु किसाउन कहिले पाउँछन्, पौने ३ करोड?


सेतोखरी सेतोखरी   १ घण्टा अगाडि
बर्दिया र कैलालीका उखु किसाउन कहिले पाउँछन्, पौने ३ करोड?

नेपालगन्ज। बर्दिया र कैलालीका उखु किसानहरूले दसैंअघि नै भुक्तानी पाउने भएका छन्। सरकारले अनुदानवाफत दिनुपर्ने रकम २ वर्षदेखि दिएको छैन। उक्त रकम माग गर्दै केही दिनअघि यहाँका उखु किसानहरू काठमाडौं पुगेका थिए। 

उनिहरूले गत सोमबार कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग भेट गरी आफूहरूले भोगिरहेका समस्या, अनुदान वितरणमा भएको ढिलाइ तथा उखु खेतीको भविष्यबारे गम्भीर बन्न आग्रह गरेका थिए। 

त्यसपछि बिहीबार बसेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्रालयका सचिव डा। राजेन्द्रप्रसाद मिश्रले बर्दिया र कैलालीका किसानहरूलाई एक दुई दिनमै भुक्तानी दिनेगरी मन्त्रालयले प्रक्रिया सुरु गरिसकेको जानकारी दिए। 

‘भुक्तानीसम्बन्धी कार्यविधि प्राप्त भइसकेकाले एक–दुई दिनभित्र आवश्यक प्रक्रिया पूरा गरी रकम पठाउने तयारी भइरहेको छ। दसैंअघि नै किसानले रकम पाउने गरी काम भइरहेको छ’ उनले भने ‘बर्दिया र कैलालीका उखु किसानको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने गरी मन्त्रालयले प्रक्रिया अघि बढाएको छ। किसानलाई भुक्तानी गर्ने विषयमा मन्त्रीस्तरबाटै निर्णय भइसकेको छ।’ 

बर्दियाको राजापुर नगरपालिका–५ बदालपुरस्थित राजापुर सुगर एण्ड केमिकल्स इण्डष्ट्रिज प्रालिमा उखु बिक्री गरेका ७ सय ८ जना किसानहरूले २०८२ साल पौष २२ गतेदेखि चैत्र १२ गतेसम्म उद्योगमा ४ लाख ८ हजार ४ सय ३८ दशमलव २८ क्विन्टल उखु बिक्री गरेका थिए। उद्योगबाट प्रति क्विन्टल ६ सय २० रुपैयाँका दरले भुक्तानी प्राप्त भए पनि नेपाल सरकारले उपलब्ध गराउनुपर्ने प्रति क्विन्टल ७० रुपैयाँ अनुदान रकम भने हालसम्म प्राप्त हुन सकेको छैन। यो लगभग २ करोड ८५ लाख ९० हजार ६ सय ८० रुपैया हुन्छ। 

उखु किसान अनुदान सम्बन्धी कार्यविधि २०७५ को दोस्रो संशोधन २०७९ अनुसार देशभरि रहेका १४ वटा सुगर मिलमध्ये १३ वटा सुगर मिलको अनुदान रकम भुक्तानी भइसके पनि राजापुर सुगर एण्ड केमिकल्स ईण्डष्ट्रिज प्रा।लि।सँग जोडिएका किसान अनुदान पाएका छैनन्।