युनियनको महाधिवेशन अब सर्दैनः वरिष्ठ उपाध्यक्ष आचार्य


युनियनको महाधिवेशन अब सर्दैनः वरिष्ठ उपाध्यक्ष आचार्य

नेपालगन्ज ९ चैत्र : आगामी जेठ दोस्रो हप्ता हुने नेपाल प्रेस युनियनको ९ औं महाधिवेशन निर्धारित समयमै हुने नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले बताएकाछन् ।

नेपाल प्रेस युनियन बाँकेले बुधबार आफ्नै कार्यालयमा गरेको भेटघाटमा बोल्दै उनले प्रेस युनियनको महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुने बताएका हुन् ।

पटक–पटक स्थगित हुदैँ आएको युनियनको महाधिवेशन आगामी जेठ १३ र १४ गते बाग्मती प्रदेशको हेटौँडामा गर्ने निर्णय युनियनले केही दिनअघि गरेको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

यसअघि २०७६ सालमा नेपालगन्जमा महाधिवेशन गर्ने निर्णयसहित केही तयारी गरिएपनि कोरोना महामारीका कारण स्थगित भएको थियो ।

युनियनका वरिष्ठ उपाध्यक्ष आचार्यले भने ‘अब कुनैपनि हालतमा महाधिवेशन पछाडी सर्दैन । महाधिवेशनमा सक्रिय सहभागिता जनाएर युनियनको भावी नेतृत्व चयन गर्न लाग्नुहोस् ।’

वरिष्ठ उपाध्यक्ष आचार्यले युनियन बाँकेका अगुवालाई आग्रह गर्दै भने–‘प्रेस युनियनका थुप्रै शाखाहरु छन्, तर बाँके शाखाको छुट्टै अस्तित्व छ, यो महत्वपूर्ण र धेरै अर्थ राख्ने शाखा पनि हो, महाधिवेशनमा तपाईहरुले सक्रिय सहभागिता जनाएर युनियनको भावी नेतृत्व निर्वाचित गर्नु हुनेछ भन्नेमा मलाई विश्वास छ ।’

आफु वरिष्ठ उपाध्यक्ष भएर काम गरिसकेको हुँदा अब केन्द्रिय अध्यक्षमा उम्मेदवारी दिने र निर्वाचित गराउन आचार्यले युनियन बाँकेका अगुवासंग आग्रह पनि गरे ।

सो क्रममा युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले वरिष्ठ उपाध्यक्ष आचार्यलाई खादा ओढाएर स्वागत गर्दै युनियनको केन्द्रिय महाधिवेशनको मिति तोकिएपछि जिल्लाका युनियनकर्मीहरु धेरै उत्साहित भएको बताए । प्रेस युनियन बाँके शाखाले आसन्न महाधिवेशनमा सक्रिय सहभागिता जनाउने अध्यक्ष ओलीले प्रतिबद्धता जनाए ।

भेटघाटका क्रममा नेपाल पत्रकार महासंघका पुर्वकेन्द्रिय उपाध्यक्ष हेमन्त कर्माचार्य, नेपाल प्रेस युनियनका उप–महासचिव प्रेम केसी, युनियन बाँकेका सल्लाहकार एवम् पुर्वअध्यक्ष नरेन्द्र थापा, पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुऋऋषि चौलागाई, महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी लगायतले आ–आफ्नो सुझाव तथा धारणा राखेका थिए । भेटघाट कार्यक्रमको सञ्चालन युनियन बाँकेका सचिव विजय मल्लले गरेका थिए ।